कोरोना भाइरस एकदमै परिवर्तनशील छ। यो परिवर्तनको क्रममा यसको नयाँ प्रजातिहरुको जन्म भइरहेको छ। अहिले बेलायतमा नयाँ प्रजातिको भाइरसले महामारी नियन्त्रणका लागि जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको भन्ने सुनिएको छ।
यो कोरोना भाइरस किन परिवर्तनशील छ? यसले महामारीलाई कस्तो रुप दिन्छ? पुरानो कोरोना भाइरसको लागि बनाइएको खोपले नयाँ प्रजातिको भाइरसलाई काम गर्छ वा गर्दैन लगायतका विषयमा जानकारी दिँदैछु।
कोरोना भाइरस किन परिवर्तनशील छ? भनेर सुरुमा जानकारी गराउन चाहन्छु। कोरोना भाइरस मात्र नभइ प्राकृतिक रुपमा नै कुनै पनि भाइरस परिवर्तन भइरहेको हुन्छ। यो भाइरसको प्रजननसँग सम्बन्धित छ। भाइरस हाम्रो शरीरको कोशिकामा प्रवेश गरेपनि त्यो भाइरसले आफुजस्तै अन्य भाइरसहरु बनाउने काम गर्छ। आफुसँगै अन्य भाइरसहरु बनाउने क्रममा कहिलेकाँही अलि फरक भाइरस बन्न जान्छ। यस्तो फरक भाइरसले धेरै जस्तो समयमा भाइरसलाई केही असर गर्दैन तर कहिलेकाँही यस्तो फरकले नयाँ प्रजातिको भाइरस नै बन्न पुग्छ । त्यसरी भाइरस नयाँ प्रजातिको बन्दै गइरहेको हुन्छ।
अहिले कोरोना भाइरसको प्रजातिको कुरा गर्दा विश्वमा अहिले तीन प्रकारको कोरोना भाइरसको प्रजाति पुष्टि भइसकेको छ।
बेलायतमा एउटा प्रजाति, जापान र ब्राजिलमा अर्को र दक्षिण अफ्रिकामा अर्को नयाँ प्रजातिको भाइरस देखिएको छ। ती देशहरुमा देखिएको नयाँ प्रजातिको भाइरस मानिसबाट मानिसहरुमा सर्दै एक देशबाट अर्को देशमा प्रवेश गर्न सक्छ।
बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजातिको भाइरस करिब ७९ देशहरुमा फैलिसकेको भनेर पुष्टि भइरहेको छ। नेपालमा पनि हालसालै यो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस देखिसकेको छ।
यस्तै ब्राजिलमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस १३ देशमा छ भन्ने पुष्टि भइरहेको छ। दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस ३५ देशहरुमा फैलिसकेको पुष्टि भइसकेको छ।
यसरी विभिन्न देशहरुमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस अन्य देशहरुमा छैन भनेर यकिन गर्न सकिदैन। अहिले संक्रमण पुष्टि भइरहेको कोरोना भाइरस कुन प्रजातिको हो भनेर पत्ता लगाउन जाँच गर्नुपर्ने हुन्छ। जसको लागि प्रविधि र क्षमता पनि चाहिन्छ। त्यो सबै ठाउँमा नभएको हुनसक्छ। नेपालमा पनि अहिले बेलायती प्रजातिको कोरोना भाइरस देखिसकेको छ। तर अरु प्रजातिको छैन भन्ने यकिन गर्ने आधारहरु हामीसँग छैन।
हामीकहाँ कोरोना भाइरस कसरी परिवर्तन भइरहेको छ र कोरोना भाइरसको कुन–कुन प्रजाति कसरी सरीरहेको छ भन्ने कुरा नियमित जाँच गरिरहेका छैनौं। त्यसले हामीले ढुक्क भएर यही मात्र छ भन्ने समय र आधार छैन।
कोरोना भाइरसको नयाँ प्रजाति र पुरानो भाइरसको लक्षण भने लगभग उस्तै उस्तै नै देखिएको छ।
नयाँ र मूल कोभिड–१९ प्रजातिहरुको संक्रमणबाट देखिने लक्षणहरु यस्ता छन् :
–खोकी,
–थकान कमजोरी,
–टाउको दुखाइ,
–मांसपेशी दुखाइ,
–घाँटी दुख्ने,
–ज्वरो,
–स्वाद हराउने,
–बास्ना हराउने।
यी लक्षणहरु नयाँ र पुरानो दुवै प्रजातिको कोरोना भाइरसमा देखिएकाले कुन प्रजातिले संक्रमण गरिरहेको भनेर भन्न सकिदैन। पुरानो अर्थात मूल प्रजातिको कोरोना भाइरसलाई हेर्ने हो भने नयाँ प्रजातिबाट अझै छिटो छिटो संक्रमण सर्ने देखिएको छ।
जस्तै बेलायती प्रजातिलाई हेर्दा नयाँ प्रजाति पुरानो प्रजाति भन्दा लगभग ७५ प्रतिशत सम्म बढी दरले सरेको देखिन्छ भने दक्षिण अफ्रिकी प्रजाति ५० प्रतिशत छिटो सर्ने दर रहेको छ।
त्यसैले पुरानो भन्दा नयाँ प्रजातिको कोरोना भाइरस समुदायमा द्रुत गतिमा फैलिने सम्भावना रहेको छ।
यसको मृत्युको आँकडा हेर्दा दक्षिण अफ्रिका र ब्राजिलयनको अझै पनि अध्ययनकै क्रममा छ। तर, अध्ययनहरुले बेलायती प्रजातिको कोरोना भाइरसले मृत्यु हुने सम्भावना पुरानो कोरोना भाइरसको भन्दा बढी रहेको पाइएको छ। बेलायती प्रजातिको कोरोना भाइरसको मृत्युदर पुरानो प्रजाति भन्दा ३० देखि ७० प्रतिशत बढी रहेको तथ्यांकले देखाएको छ।
त्यसैले नयाँ प्रजाति पुरानो प्रजातिको कोरोना भन्दा बढी हानिकारक भन्ने अध्ययनहरुले देखाएको छ।
नेपालमा भित्रिएको कोभिसिल्ड खोपको प्रभाव कस्तो छ?
नेपालमा भित्रिएको कोभिसिल्ड खोपको प्रभाव हेर्दा बेलायती प्रजातिमा यो खोपको प्रभाव पुरानो कोरोना भाइरसमा जतिकै प्रभावकारी देखिएको छ। पुरानो कोरोना संक्रमणमा पनि हामीले हेरेका थियौं करिब ६२ प्रतिशत प्रभावकारी थियो भने, अहिले नयाँ बेलायती प्रजातिमा पनि यो खोपले उस्तै नै अर्थात ७४ प्रतिशत प्रभावकारी रहेको छ। यसको अर्थ खोप नलगाउने भन्दा लगाउनेहरुमा ७४ प्रतिशत कम संक्रमण देखिन्छ।
दक्षिण अफ्रिकाको प्रजातिमा भने खोपको असर धेरै देखिदैन। खोपको प्रभावकारीता एकदमै न्युन भएर १० प्रतिशत मात्र हुन गएको छ। विश्व स्वास्थ्य संगठनले नै खोपको प्रभावकारीता कम्तिमा पनि ५० प्रतिशत हुनुपर्छ भनेको छ। यस्तो अवस्थामा खोपको प्रभावकारीता १० प्रतिशत मात्र हुनु भनेको एकदमै कम हो।
यसले के बुझ्न सकिन्छ भने यो नयाँ प्रजातिको कोरोना भाइरसहरु देखिरहेको छ। त्यो भाइरसहरुले महामारीलाई अझै बढी जटिल र अझै बढी चुनौतीपूर्ण बनाउदै गइरहेको छ।
त्यसैले कोरोना भाइरसको महामारीबाट बच्न अझै सावधानी अपनाउनुपर्ने देखिन्छ। त्यसमा पनि विशेष गरी कुन ठाउँमा कुन प्रजातिको कोरोना भाइरस बनिरहेको छ भन्ने कुरा अहिले नै जानकारी छैन। यो विषयमा अध्ययन भइरहेको छ।
त्यसैले अहिले पनि विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने राष्ट्रिय नीति छ त्यसलाई अझै फलो गर्नुपर्ने हुन्छ। खोप लगाउने र नलगाउने दुवै प्रकारका व्यक्तिहरुलाई विदेशी मुलुकबाट नेपाल आएपछि क्वारेन्टिनमा राख्न जरुरी छ।
(काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डाक्टर अर्चना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको बुधबारको कोरोना अपडेटमा प्रस्तुत गरेको जानकारीको सम्पादित अंश)