नेपाल एक विकासोन्मुख मुलुक हो। त्यसैले सबै क्षेत्रमा जस्तै शिक्षामा पनि त्यसै अनुरुपको क्रमिक विकास हँुदै गएको देखिन्छ। यसकै कारणले नेपालमा समान रुपमा विकासका अवयवहरु सञ्चालन हुन सकेका छैनन्।
शिक्षा, स्वास्थ्य, विकास, रोजगारी जस्ता विषय सहरमा मात्र केन्द्रित हुँदा गाउँका दूरदराज र विपन्न वर्गमा सही किसिमले विकास र चेतनास्तर उन्नत बन्न सकेको देखिँदैन। यसमा राज्यको दृष्टि नपुग्नु देशकै लागि बिडम्वना मान्न सकिन्छ। जसको फलस्वरुप समाजमा एलिट वर्गले तिनै सुविधाबाट विमुख बनिरहेका व्यक्तिको मनोभावनासँग खेल्ने मौका पाइरहेका छन्। यस्ता विचौलिया ग्रामीण क्षेत्रमा सल्बलाउनुलाई देशको स्वास्थ्य क्षेत्रको बिडम्वनाका रुपमा लिन सकिन्छ।
सामान्य जानकारी अझै धेरै हानिकारक हुन्छ भन्ने उखान जस्तै अल्पज्ञानले पनि समस्या निम्त्याउन सक्छ। यो विषय आफैंमा वृहत भएकाले यसमा संग्लन हुने जनशक्तिले ज्ञान र सिपको दायरालाई बढाउनुपर्ने नै हुन्छ तर नेपालमा यसलाई व्यावसायिक रुपमा अँगाल्दा धेरैले दन्त उपचार लिँदा दुःख पाएको समेत हामीले देख्दै आएका छौं। यसर्थ सीमित ज्ञानलाई तिखार्दै अगाडि बढ्न आवश्यक छ।
गाउँका कुना काप्चामा पुगी डाक्टर पद पाएकाहरु त्यहाँ आउन नखोज्ने भनी ब्ल्याकमेल गर्ने र उपचारमा गलत पद्धति समेत केहीले अपनाउँदै आएका छन्। सीमित ज्ञान–सिपकै भरमा हामी जानकार व्यक्तिले उपचार नदिए कसले यी गाउँले दूरदराजमा रहेका व्यक्तिलाई उपचार दिने भन्दै छाती चौंडा बनाएर सेवामा तत्परता देखाउनु राज्यकै लागि बिडम्वनाको विषय हो।
दन्त स्वास्थ्य क्षेत्रमा नेपालमा ५ तहका शिक्षा पद्धति अबलम्वन भएको पाइन्छ। जसमा ६ महिने दन्त चियर डाइड असिस्टेन्ट, जुन प्राइभेट हस्पिटलले ६ महिनाको परीक्षणपछि प्रमाणपत्र प्रदान गर्ने गर्छन्। त्यस्तै, १५ महिने डेन्टल टेक्निसियन र ३ वर्षे दन्त सहायक डेन्टल हाइजिनिस्ट जसमा १५ महिने फेजआउट भएको छ। जुन सिटिइभिटी मातहतका प्राविधिक शिक्षण विधि अन्तर्गत पर्छन्।
त्यस्तै, स्नातक तहको ५ वर्ष ६ महिना जुन प्लस टु बायोलोजी पृष्ठभूमिबाट आएका स्नातक तहको शिक्षण विधि जसमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय मातहतमा रही दन्त चिकित्सकको रुपमा अध्ययन गराइन्छ। त्यस्तै सिटिइभिटी अन्तर्गत रही ३ वर्षे प्रमाणपत्र तहको अध्ययनपश्चात् प्लस टु सरहको मान्यता प्राप्त गरी आफू शैक्षिक योग्यताको आधारमा ३ वर्षपश्चात् स्नातक तहको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय मातहतका शिक्षण संस्थामा मात्र अध्ययन गर्न सकिन्छ। बिडिएस अर्थात् व्याचलर इन डेन्टल सर्जरी कोर्समा पछि ३ वर्षे एमडिएस, मास्टर्स इन डेन्टल सर्जरीको अध्ययन जुन विशेषज्ञ डेन्टल डाक्टरको रुपमा सेवा प्रदान गर्ने शिक्षण विधि हो।
नेपाल बाहेक अन्य देशमा ती जनशक्तिको लागि आफ्नै किसिमका कोर्स पाठ्यक्रम तयार गरी स्वीकृत मापदन्डमा रही कार्यविभाजन गरेको पाइन्छ। हुन त नेपालमा पनि यसका आफ्नै दायरा र मापदण्ड नबनेका होइनन् तर राज्यको उचित निगरानी नहुनु र नेपाली जनमानसमा चेतनाको पहुँच नपुग्नु आदि कारणले गर्दा कुन जनशक्तिले कहाँ, कसरी सेवा दिने अन्योल रहेको पाइन्छ।
नेपालमा यी विभिन्न तहबीच आपसी समझदारी हुन नपाउँदा बिरामीले पाउने सेवा पद्धतिमा न्यायोचित सेवा पुग्न सकेको देखिँदैन। दन्त उपचार सहरी क्षेत्रका सचेत र जानकार व्यक्तिले मात्र पाउँदै आएका छन्। ग्रामीण क्षेत्रमा अन्य प्रमाणपत्र तहभन्दा तल्लो जनशक्तिबाट गरिने डाक्टरी उपचार लिन बाध्यता रहेको पाइन्छ। जसले आम मानिसले मुख तथा दन्त उपचारबाट अपेक्षित लाभ लिन सकेका छैनन्।
विभिन्न अर्ध जनशक्तिबाट नेपालका दाँत तथा मुखको उपचार हुने भएकाले धेरैको उपचारमा तौरतरिका नमिलेको देखिन्छ। सही तवरले ज्ञानको उपयोग गर्दै दाँतको उपचार केही लामो अवधिको समेत हुने गर्छ। त्यसैले पनि मानिसहरुमा कतिपय अवस्थामा झन्झटिलो समेत भएको सुनिँदै आएको छ।
आम जनमानसमा दाँत जति उपचार गरे पनि निको नहुने, पटकपटक जानुपर्ने, औषधिको अधिक प्रयोग र एउटा दाँतका लागि गरिने हजारौंको उपचारबाट आजित बिरामी दिक्क भएर दाँत निकालिदिनूस्, भरेको सिमेन्ट पनि २ दिनमै निस्कने, जति गर्दा पनि दुख्न नछोड्ने जस्ता समस्याबाट आजित भएपछि दाँत नै निकाल्ने अन्तिम विकल्पमा पुग्ने गरेको देखिन्छ। तर यो गम्भीर विषयमा सरोकार पक्ष बिरामी आफैं पनि सजग हुनुपर्छ।
जसको फलस्वरुप तिनमा दाँतको उपचार भनेको निकाल्नु नै हो भन्ने एक किसिमको ढुक्कको विकल्प देखापर्दै जाने देखिन्छ तर सही तवरले बुझ्ने हो भने बिरामीले उचित परामर्श र उपचार नपाउनाले यो परिस्थिति सिर्जना भएको हो।
प्रकृतिले मानिसलाई दुई पटकसम्म निःशुल्क दाँत दिने र तेस्रो विकल्पमा मात्र खर्च गर्नुपर्ने अवस्थामा पु¥याउने हुन्छ। त्यसैले दूधे दाँतको रुपमा आएका प्रथम दाँत बच्चा जन्मेको ६–७ महिनादेखि १२–१३ वर्षसम्म रहने र त्यसले दोस्रो पटक आउने दाँतका लागि सहज बाटो देखाउने कार्य गर्छन्। त्यसैले ६ महिनामा हामीले गर्ने भात खुवाइ पनि त्यसकै मान्यता हुनसक्छ। तिनका आफ्नै महत्व र विशेषता रहेका छन्।
दाँत आउने र झर्ने आफ्नै समय हुन्छ जसलाई नबुझ्दा हामी समस्याको भूमरीमा पर्न बाध्य हुन्छौं। त्यसपछि साटिएर आएका स्थायी दाँत जुन हाम्रो जीवनपर्यन्त रहने हुन्छन् जसका मुख स्वास्थ्य क्षेत्रमा प्रमुख भूमिका रहेको हुन्छ।
तिनका बनावट कार्य फरकफरक हुने हुनाले त्यसै बमोजिम प्रकृतिले सजावटदेखि चपाउने कार्यसम्मको लागि सिर्जना गरिएका छन्, जुन हामीले उचित परामर्शदाता (दन्त चिकित्सक) बाट मात्र पाउने छौं। त्यसैले नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त दन्त चिकित्सकहरुबाट मात्र उपचार गराई गुणस्तरीय र सही किसिमको सेवा लिन सबै सचेत हुन जरुरी छ।