काठमाडौं- पछिल्लो समय कोरोना संक्रमण हुने दर बढ्न थालेको छ। नेपालमा कोरोना भाइरस नियन्त्रण भइसक्यो भन्ने आम मानिसहरुलाई बढ्दो संक्रमणले झस्काएको छ।
विश्वका अन्य मुलुकमा जस्तै छिमेकी देश भारतमा पनि संक्रमितको संख्या उच्च हुँदा नेपाल भित्रने नेपालीको संख्या बढेको छ। त्यससँगै उनीहरुमा संक्रमण पनि भित्रिरहेको पछिल्लो समय बढेको संक्रमणको दरले पुष्टि गर्छ।
पछिल्लो समय संक्रमणको दर उकालो लागि रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई नियन्त्रण गर्न कस्तो तयारी गरिरहेको छ? भन्ने विषयमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीलाई सवस्थ्यखबरले जिज्ञासा राखेको थियो।
उनको जवाफ उनकै शब्दमाः
पछिल्लो अवस्थालाई हेर्दा जनस्तरको बाक्लो आवतजावतका कारणले हामीकहाँ जोखिम उच्च हुनु स्वभाविक हो। नेपाल र भारतको पहिलेको महामारीको बिन्दु तुलना गर्ने हो भने पनि भारतमा संक्रमण बढेको महिनादिनमा हामीकहाँ संक्रमण उच्च भएको देखिन्छ।
हामीले हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने व्यक्तिहरुको निगरानी बढाएका छाैँ। देशभित्रै पनि व्यक्तिहरुको आवतजावत र जनस्वास्थ्यका मापदण्डको उल्लंघन गर्ने कुरालाई निरुत्साहित गर्न सचेतना बढाउने कुरालाई अभिप्रेरित गर्ने गरी काम गरिरहेका छौँ।
अहिले पनि बिस्तारै लक्षण त्यस्तै देखिन थालेको अवस्था छ। यो अवस्थालाई हेरेर सिमा नाका व्यवस्थित गर्ने, नाकाबाट प्रवेश गर्ने व्यक्तिहरुमा निगरानी बढाउने, परीक्षण बढाउने, जनस्वास्थ्यका मादण्डका कुराहरु बुझाउने, त्यो सँग सम्बन्धित सुचना सामग्री उपलब्ध गराउने, मास्क उपलबध गराउने र कोही व्यक्ति नाकामा परीक्षण गराउदा पोजिटिभ आएको पाइएमा उनीहरुलाई छुट्टै सवारीसाधनद्वारा आइसोलेसन केन्द्रमा लगि व्यवस्था गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने कामलाई व्यवस्थित गरिएको छ।
भारतबाट आएका सबै व्यक्तिको एन्टीजेन परीक्षण गर्दैनौं। उहाँहरुको तापक्रम जाँच्ने, लक्षण सोध्ने र फारम भर्न लगाउछौँ। त्यहाँ शंकास्पद व्यक्तिहरुको मात्र त्यही नाकामै एन्टीजेन परीक्षण गर्छौं। त्यहाँ संक्रमण पुष्टि भएमा आइसोलेसनमा लगेर व्यवस्थापन गर्छौं। त्यसका लागि सबै १३ वटा हेल्थ डेक्सलाई व्यवस्थित बनाएका छौं। जनशक्ति र सामग्रीको पनि व्यवस्थापन गरी काम अघि बढाएका छौं।
परीक्षणको पाटोमा हेर्दा देशभर ८४ वटा पिसिआर प्रयोगशालाहरु सञ्चालनमा रहेको अवस्था छ। यसमा कोभिड-१९ सम्बन्धी गाइडालाइन छ, उक्त गाइडलानले भने अनुसारका लक्षण भएका व्यक्तिलाई सरकारी प्रयोगशालाहरुमा नि:शुल्क परीक्षण गर्ने गरि व्यवस्था गरिएको छ।
कुनै व्यक्तिहरुलाई मलाई कोरोनाको लक्षण चिह्न देखिएको छ भन्ने शंका लागेमा सरकारी र निजी दुवै प्रयोगशालामा एक हजार शुल्क तिरेर पनि परीक्षण गर्न सकिने व्यवस्था छ।
पछिल्लो समय तुलनात्मक रुपमा परीक्षण गर्ने व्यक्तिहरुको संख्या बढेको छ। संक्रमण पुष्टि हुने प्रतिशत पनि क्रमशः बढ्दै गएको देखिएको छ।
यसले हामी उच्च जोखिममा छौं मात्र भन्दैन, अब संक्रमण पनि उच्च बिन्दुमा जानेको हो कि भन्ने देखाउन थालेको छ।
त्यसकारण हाम्रा सतर्कताहरु बढेका छन्। परीक्षणलाई पनि बढाउने गरी काम गर्दैछौं। त्यसका लागि समन्वय भइरहेको छ। परीक्षणका लागि प्रयोगशालालाई चाहिने सामग्रीको व्यवस्थापनमा पनि जुटिरहेका छौं।
शंकस्पद अवस्था र लक्षण देखिएका व्यक्तिहरुले आफ्नो नजिकमा रहेको प्रयोगशालामा गएर वा आफ्नो स्थानीय तहमा सम्पर्क गरेर परीक्षण गरि संक्रमण चाँडो पत्ता लगाइदिन सहजीकरण गरिदिन हामी सर्वसाधारणलाई अनुरोध पनि गरिरहेका छौं।
त्यसो गर्दा आफूलाई संक्रमण भएको चाँडै थाहा हुँदा उपचार व्यवस्थापन गर्न पनि सहज हुन्छ। आफ्नो नजिकका व्यक्तिहरुलाई पनि संक्रमणबाट जोगाउन सक्छाैँ।
कोही पनि व्यक्ति शंस्कापद ठाउँबाट यात्रा गरेर आउनु भएको छ वा संक्रमित व्यक्तिसँग भेट हुनुभएको छ भने १० दिन राम्रोसँग अनियवार्य रुपमा क्वारेन्टाइनमा बस्नुहोला। त्यो समयमा केही लक्षण देखियो भने पिसिआर जाँच गराउनुहोला। त्यसको परीक्षण नि:शुल्क हुन्छ। उक्त समयमा लक्षण नदेखिएमा १० दिनपछि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो दैनिकीमा फर्कन सक्नुहुन्छ।