काठमाडौं - सूर्तीजन्य पदार्थमा लाग्ने करको दायरा बढाउन सके मात्र प्रयोगकर्ताको संख्या घटाउन सकिने विज्ञहरुले बताएका छन्।
द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले आयोजना गरेको सूर्तीजन्य पदार्थमा कर बढाउनुको प्रभावकारिता सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले करको दायरलाई बढाउन सके मात्र यसको प्रयोगकर्ता पनि घटाउन सकिने बताएका हुन्।
स्वास्थ्य अर्थशास्त्री डा देवीप्रसाद प्रसाईले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि विशेषज्ञ रोड म्याप बनाएर अघि बढ्नुपर्ने बताए। उनका अनुसार सूर्तीजन्य पदार्थमा एक सय प्रतिशत कर बढाइयो भने खपत केबल ७० प्रतिशतले मात्र घट्छ।
उनले भने, ‘सरकारले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनैपर्छ। कति वर्ष, कहिलेसम्म र कति कर बढाउने भनेर रोड म्याप बनाउन आवश्यक छ।’
एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि पहल गनुपर्नेमा जोड दिए। सरकारको फितलो कार्यान्वयनका कारण नेपालमा यसको प्रयोगकर्ता बढ्दै गएको उनले बताए। सरकारले भएका कानून कार्यान्वयन गरी करलाई बढाउने हो भने यसको प्रयोगकर्ता घटाउन सकिनले उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव मानबहादुर बस्नेतले सूर्तीजन्य पदार्थको सेवन रोक्ने विभिन्न उपायमध्ये कर वृद्धि गर्ने उत्तम उपाय भएको बताए। सूर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सके सेवन घटाउनुका साथै राजश्वमा पनि वृद्धि गर्न सकिने उनको भनाई छ।
सरकारले सूर्तीजन्य पदार्थमा हाल ३० प्रतिशत मात्र कर लगाउने गरेको छ। जुन दक्षिण एसियामै सूर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउनेमा नेपाल पर्दछ। करलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउनुपर्ने भन्दै विभिन्न संघ संस्थाले पैरवी गर्दै आएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले सूर्तीजन्य पदार्थमा कर बढाउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए। सरकारले यसमा कर बढाउनुपर्ने भन्दै मन्त्री ठगुन्नाले धुम्रपानको प्रयोगलाई घटाउन सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरे। सूर्तीजन्य पदार्थको बढ्दो प्रयोगले समाजमा विकराल स्थिति पैदा गरेको उनको भनाई छ।
धुम्रपानले ह्रदयघात, क्यान्सर, स्ट्रोक लगायत २६ प्रकारको रोगहरु निम्त्याउने मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यले बताए। धुम्रपानले सबैभन्दा बढी मुटुलाई असर गर्ने उनले जानकारी दिए। उनका अनुसार धुम्रपानको सेवनले युवाहरुमा ह्रदयघातको समस्या तिव्र गतिले बढ्दै गएको छ।
सरकारले कर बढाउने विषयमा पटक पटक प्रतिवद्धता गरेपनि कार्यान्वयन नगरेको भन्दै वक्ताहरुले आक्रोश समेत व्यक्त गरे। सरकारले कानून राम्रो ल्याएपनि कार्यान्वयन निकै फितलो रहेको भन्दै उनीहरुले कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए।
सूर्तीजन्य पदार्थको प्रयोगले नेपालमा वर्षेनी २७ हजार १ सय ३७ जना मानिसको मृत्यु हुने गरेको छ। नेपालमा १५ देखि ६९ वर्षका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको सरकारी तथ्यांक छ।