काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्ममा ३९ हजार २ सय ८९ जना बिरामीले विपन्न नागरिक औषधि उपचार सेवा लिएका छन्।
सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा बढी सेवा क्यान्सरका २२ हजार ७१४ बिरामीले यो सेवा लिएका छन्। उक्त सर्वेक्षण अनुसार क्यान्सरपछि मिर्गौला रोगका बिरामीले यस्तो सेवा लिएक छन्। हेमोडायलाइसिसका लागि ६ हजार ९०४, पेरीटोनियल डायलासिसका लागि १७०, मिर्गौला प्रत्यारोषणका लागि ३७० र औषधि उपचारका लागि ८०२ जना बिरामीले सेवा लिएका छन्।
सरकारले ८ वटा कडा रोग भएका बिरामीको उपचारका लागि नागरिक विपन्न औषधि उपचारक कार्यक्रममाफर्त रु एक लाख सम्मको उपचार सहयोग गर्छ। तर, मिर्गौला रोगीका लागि भने डायलाइसिस र प्रत्यारोपण सेवा दुवै निशुल्क गरिएको छ।
तथ्यांक अनुसार क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया रोगीले विपन्न नागरिक उपचार सेवा अन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउँछन्।
यो सेवा लिनेमा फागुनसम्ममा पार्किन्सन्सका १७९, अल्जाईमरका ४६, हेड इन्जुरीका ४९१, स्पाइनल इन्जुरीका ७९३, र सिकलसेल एनिमियाका २ हजार ४० बिरामी छन्।
कोरोना महामारीका कारण निधेषाज्ञा भएकाले अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा कम मानिसले यो सेवा लिएका छन्। आव २०७६/७७ मा ५४ हजार ८८६ बिरामी विपन्न नागरिक उपचार सेवा लिएका थिए।