काठमाडौं– चुडामणि भण्डारीले हालै मात्र सरकारी सेवाबाट अवकाश पाए। सेवामा रहँदा उनी स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक भए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कुष्ठरोग नियन्त्रण केन्द्रको निर्देशक भए। अहेबबाट सेवा प्रवेश गरेर ४१ वर्ष सरकारी स्वास्थ्य सेवामा बिताए। अवकाशपछि अब उनको लक्ष्य छ, एमफिल पढ्ने।
अवकाशपछिको जीवन उनी निस्क्रिय बिताउन चाहँदैनन्। अध्ययन गर्ने। सक्रिय बनिरहने। तर, फेरि कुनै जागिर गर्ने सोच भने छैन। बरु थप अध्ययन गरेर ज्ञानको ज्योति बालिरहने विचार छ।
गुल्मीमा जन्मिएका भण्डारीले कक्षा ८ सम्म त्यहीँको शारदा निमाविमा अध्ययन गरे। त्यसपछि पाल्पाको पद्य पब्लिक माविमा कक्षा ९ मा भर्ना भए। २०३४ सालमा त्यही विद्यालयबाट एसएलसी गरे।
उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मार्फत २०३५ सालमा सीएमए कोर्ष अध्ययन सुरु गरे। २०३६ सालमा अस्थायी दरबन्दीमा स्वास्थ्य सेवा प्रवेश गरे। २०३८ सालमास्थायी स्वास्थ्यकर्मी बनेका भण्डारी सीएमए, एचए हुँदै हेल्थ म्यानेजर भए। त्यसपछि पनि निरन्तर उनको वृत्तिविकास भइरह्यो।
सुत्केरीको उपचारपछि सुनपानी
२०३० को दशकमा गुल्मीमा स्वास्थ्य सेवा प्रवाहको अवस्था निकै कमजोर थियो। त्यतिबेला स्वास्थ्य सेवामा पहुँच नहुँदा सामान्य झाडापखालाको समस्या पनि विकराल बन्थ्यो। आफ्नो गाउँमा यस्तो अवस्था देखेका भण्डारीले स्वास्थ्य सेवामै काम गर्ने सोच बनाएका थिए। उनको सोचलाई परिवारले पनि साथ दियो।
२०३५ सालमा उनले सीएमए कोर्ष अध्ययन सुरु गरे। उनी अध्ययन गरिरहेकै बेला सुत्केरी भएकी ठूलीआमालाई ज्वरोले सतायो। उनी आफैंले उपचार गरे। गाउँको हेल्थ पोष्टमा स्वास्थ्यकर्मी नै हुँदैन थिए। सामान्य रोगको उपचार हुन पन मुस्किल थियो। सुत्केरीलाई स्वास्थ्य सेवा दिन पुरुष स्वास्थ्यकर्मीका लागि सहज थिएन। उनी भन्छन्, ‘पहिला–पहिला सुत्केरीलाई छुन हुँदैन भनिन्थ्यो। मैले लगौटी लगाएर ठूलीआमाको उपचार गरेँ, अनि सुनपानी छर्केर मात्र त्यो कोठाबाट निस्केको थिएँ।’
उनले सीएमएको कोर्ष अध्ययन गरेको ६ महिना मात्र पुगेको थियो । आफैँ बिरामी परे। गाउँको स्वास्थ्यचौकीमा गए पनि स्वास्थ्यकर्मी भेटेनन्। अनि पाँच दिनसम्म आफैँले आफूलाई सुई हाने। ‘गाउँमा स्वास्थ्यकर्मी नै बस्दैन थिए, मेरा लागि विकल्पै थिएन,’ उनी भन्छन्।
सीएमए अध्ययनपछि २०३६ सालमा स्वास्थ्य सेवा विभागबाट अस्थायी जागिर गरे। त्यसका लागि मकवानपुर पुगे। २०३८ सालमा स्थायी भएपछि सिन्धुपाल्चोक सरुवा भयो। अनि गण्डकी अस्पताल, पोखरा, स्वास्थ्य सेवा विभाग हुँदै करिब १२ वर्षजति स्वास्थ्यकर्मीको रुपमा विभिन्न ठाउँमा काम गरे।
उनले हेल्थ असिस्टेन्ट (एचए)को कोर्ष अध्ययन गरे। एचए अध्ययनपछि उनको पोष्टिङ बुटवल र गुल्मीका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा भयो। त्यसपछि फेरी स्वास्थ्य सेवा विभाग आए र बीपीएच अध्यय गरे।
उनले जनस्वास्थ्य अधिकृत भएर १० वर्षजति ‘हेल्थ म्यानेजर’को रुपमा काम गरे। त्यतिबेला बाजुरा, डोटी, दोलखा लगायतका जिल्ला, क्षेत्रिय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शाखा तथा महाशाखामा काम गरे।
स्वास्थ्य सेवा पहुँचमा परिवर्तन
२०३० को दशक र अहिलको स्वास्थ्य सेवाको अवस्था तुलना गर्दा धेरै परिवर्तन भइसकेको भण्डारीको अनुभव छ। २०३०–४० को दशकमा ग्रामीण जिल्लाहरुमा खोपको सहज उपलब्धता थिएन। आफ्ना छोराछोरीलाई खोप लगाउन भण्डारी पनि एक दिनभन्दा बढी हिँडेर गुल्मीबाट पाल्पा पुगेका थिए। तर,अहिले कम्तिमा एक–डेढ घण्टा हिँड्दा खोप सेवा जिल्लाभित्रै पाइन्छ।
स्वास्थ्य सेवामा जनताको पहुँच बढेको भण्डारी बताउँछन्। ‘अहिले कम्तीमा जिल्लाभित्र नै खोप लगाउन सक्ने अवस्था छ, परिवार नियोजनका साधनको उपलब्धता छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा छन्, कहीँ त चिकित्सक पनि छन्।’
स्वास्थ्य सेवाको गुणस्तर पनि बढेको उनले बताए। पहिला–पहिला स्वास्थ्य सेवा प्रवाहका लागि निजी क्षेत्र थिएन। तर, अहिले स्वास्थ्य सेवामा निजी क्षेत्रको लगानी बढेको छ। यसरी निजी क्षेत्रको लगानी बढ्दा त्यसका गुण र अवगुण दुवै भएको उनी बताउँछन्। ‘कोरोना महामारीको बेला टेकु अस्पतालको सेवा प्रवाह र निजी अस्पतालको सेवा प्रवाह तुलना गर्न सक्छौं, सरकारले दिने र निजी क्षेत्रले दिने स्वास्थ्य सेवा तथा गुणस्तर मात्र होइन मूल्यबारे पनि कोरोनाको संकटमा छर्लङ्ग भयो,’ उनी भन्छन्।
नेपालमा सुरुआती अवस्थामा कोरोना संक्रमित भेटिँदा कतिपय निजी अस्पतालले ज्वरोका बिरामीलाई भर्ना समेत लिन छाडेका थिए। जसले गर्दा सरकारी अस्पतालमा चाप बढेको थियो। कुर्सी तथा म्याटमै राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था थियो। संक्रमण बढ्दै गएपछि भने सरकारले निजी क्षेत्रलाई पनि कोराना विशेष अस्पतालको रुपमा परिभाषित गर्दै सेवा प्रवाह गर्न लगाएको थियो।
सरकारी सेवामा लागेर दिक्क भएनन्
उनले अहिलेसम्मको जीवनको अधिकांश समय सरकारी सेवामा नै बिताए। चार दशकभन्दा लामो समय सरकारी स्वास्थ्य क्षेत्रमा बिताएका उनी कहिल्यै दिक्क भएनन्। बरु उनले विभिन्न जिल्लामा रहेर स्वास्थ्य सेवा प्रवाहका लागि नेतृत्वदायी भूमिका खेले। ‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’
२०४३ सालतिर आफ्नो गृहजिल्ला गुल्मीमा थिए। त्यतिबेला स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट इन्चार्ज भएर गएका। हेल्थपोष्टको व्यवस्थापनको कामसँगै दैनिक डेढ सयभन्दा बढी बिरामीको स्वास्थ्य जाँच गर्थे।
एक दिनभन्दा बढी समय हिँडेर पुग्नुपर्ने ठाउँमा स्वास्थ्य सेवा दिइरहेका थिए। त्यही बेला उनलाई थप अध्ययनका लागि काठमाडौं आउनुपर्ने भयो। तर, स्थानीयले गाउँ छाड्न नै दिएनन्। ‘मैले बीपीएच पढ्नका लागि काठमाडौं जान्छु भन्दा त्यहाँका जनताहरुले रोके,’ उनले भने, ‘राम्रो काम गर्ने स्वास्थ्यकर्मी त्यहाँबाट फर्किने भनेपछि स्थानीयहरु बाटो छेक्न आइपुग्थे। अर्को स्वास्थ्यकर्मी आउने टुंगो नहुने कारण उनीहरु विवश थिए।’
उनी ‘अझै धेरै पढेर फर्किन्छु’ भनेर गाउँबाट हिँडेका थिए। तर, उनले वाचा पूरा गर्न भने सकेनन्। बीपीएच अध्ययन पूरा गरेपछि नीतिगत तहमा बसेर काम गर्नुपर्ने अवस्थ आयो।
श्रीमान्–श्रीमती सँगसँगै सेवामा
उनी पोखराको गण्डकी अस्पतालमा कार्यरत हुँदा विवाह भयो। विवाहपछि उनले आफ्नी श्रीमतीलाई नर्सिङ पढाए। नर्सिङ अध्ययन पूरा गरेपछि उनीहरुले गुल्मी, सिन्धुपाल्चोक र काठमाडौंमा सँगै पनि काम गरे।
गुल्मीमा काम गर्दा श्रीमान्–श्रीमती नै गाउँ–गाउँमा पुगेर बिरामीको स्वास्थ्य उपचार गरेको भण्डारी सम्झन्छन्। ‘विवाहपछि श्रीमतीलाई नर्सिङ पढाएँ, गुल्मीमा हुँदा त हामी कति धेरै हिँडेर घर–घरमा पुगेर बिरामीको उपचार गथ्र्यौं,’ भण्डारीले भने। उनकी श्रीमतीले पनि दुई वर्षअघि अवकाश पाइसकेकी छिन्।