काठमाडौं– सपना थियो, डाक्टर बन्ने। एसएलसी पास गरेपछि सपना पछ्याउन थाले। तर, पूरा भएन।
डाक्टर बनेर सिमिति संख्यामा बिरामीको उपचारमा खटिने सपना पूरा नभएपनि उनले जनस्वास्थ्यका क्षेत्रमा सक्रिय भएर स्वास्थ्य सेवालाई माथि लैजान काममा भने आफ्नातर्फबाट योगदान गर्न सफल भए।
सुरुमा क्लिनिकल अभ्यासमा रम्न चाहेका डोटेल स्वास्थ्यका नीति, कार्यक्रम तथा योजनाहरु बनाउने काममा सक्रिय भए। हेल्थ असिस्टेन्ट (एचए) को रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका उनी विभिन्न जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख, क्षेत्रिय कार्यालय तथा केन्द्रमा महाशाखा प्रमुखसम्म भए। २६ वर्ष स्वास्थ्य सेवामा बिताएका डोटेलसँग स्वास्थ्य सेवा अन्तर्गतको तल्लो तहदेखि मन्त्रालयको महाशाखा प्रमुखसम्मको अनुभव छ।
०००
सिराहामा २०१८ सालमा जन्मिएका डोटेलले आफ्नै बाबुबाजेले सञ्चालन गरेको तुलसीराम सत्याभमा डोटेल माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा आरम्भ गरे। सोही विद्यालयबाट उनले २०३५ सालमा प्रथम श्रेणीमा एसीएलसी उत्तीर्ण गरे। प्रथम श्रेणीमा एसएलसी पास गरेका उनलाई सबैको एउटै सुझाव थियो, डाक्टरी पढ्ने।
डोटेलले भने एसएलसी पास भएपछि के पढ्ने भन्ने योजना बनाइसकेका थिएनन्। सबैले डाक्टर बन्नुपर्छ भन्ने सुझाव दिएपछि उनी डाक्टर बन्ने उद्देश्यले २०३६ सालमा काठमाडौं आए।
त्यतिबेला हेल्थ असिस्टेन्ट (एचए) कोर्ष गरेर तीन वर्षको अनुभव लिएपछि मात्र एमबीबीएस प्रवेश परीक्षा दिन पाइन्थ्यो। हेल्थ असिस्टेन्ट पढ्न चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा प्रवेश परीक्षा दिए। धरानमा पढ्न पाउने गरी नाम निस्किएपछि उतै लागे।
तर, २०३६ सालको जनआन्दोलनका कारण उनको पढाइ रोकियो। अनि घर गएर बसे। पछि काठमाडौँ आएर फेरि एचए अध्ययनलाई निरन्तरता दिए। जनआन्दोलनका कारण २०४० सालमा बल्ल उक्त कोर्ष सके।
डोटेलले एचए अध्ययन गर्ने वित्तिकै एकैपटक दुई ठाउँमा जागिर खाने अवसर पाए। एउटा सिन्धुपाल्चोकको चौतारामा रहेर सेभ द चिल्डेनमा र आइओएमले धनकुटामा सञ्चालन गर्न लागेको सिएमए कलेजमा सहायक प्रशिक्षकको पदमा।
आफ्नो घर सिराहामा भएकाले उनले धनकुटामा रहेर काम गर्ने योजना बनाए। सिमए कलेजमा सहायक प्रशिक्षकको जिम्मेवारी लिए। त्यतिबेला धनकुटामा सञ्चालन भएको सिएमए कलेजमा हिमाली, पडाही र तराई क्षेत्रका व्यक्तिलाई ३०–३० प्रतिशत कोटा र १० प्रतिशत कोटा ‘इन–सर्भिस’मा रहेकालाई छुट्याइएको थियो।
उनले सो कलेजमा देशका सबै क्षेत्रका विद्यार्थीसँग घुलमिल हुने र उनीहरुलाई पढाउने अवसर पाए। डोटेलले त्यहाँ करिब ६ वर्ष काम गरे।
उनले २०४६ सालमा बीपीएच अध्ययनका लागि प्रवेश परीक्षा दिए। २०४७ सालमा बीपीएच पढ्न काठमाडौं आए। अनि विवाह गरे। अध्ययन पूरा हुने समय नजिकिँदै गर्दा श्रीमती गर्भवती भइन्।
ट्रिपल खुसीको संयोग
२०५० वैशाख १८ गते बीपीएच उत्तीर्ण गरे। त्यो दिन उनकी श्रीमती सुत्केरी भइन्। अनि त्यही दिन आईओएमबाट धनकुटाको सीएमए कलेजको क्याम्पस प्रमुखको जिम्मेवारी समेत पाए। ‘मेरो पहिलो सन्तान जन्मिएको दिन मलाई ट्रिपल खुसी मिलेको थियो, त्यो दिन सम्झँदा अझै पनि अचम्मित हुन्छु,’ उनी भन्छन्।
बीपीएच सकेपछि उनी एक वर्ष सीएमए क्याम्पस धनकुटाको क्याम्पस प्रमुख भए। २०५१ सालमा लोकसेवा आयोगको परीक्षा दिएर जनस्वास्थ्य अधिकृतमा नाम निकाल्न सफल भए। २०५१ साल पुसमा स्वास्थ्य सेवामा प्रवेश गरेका डोटेलको पहिलो पोष्टिङ भोजपुरको जिल्ला स्वास्थ्य कार्यालयमा भयो।
क्याम्पसमा पढाइरहेका उनलाई सुरुमा सरकारी स्वास्थ्य सेवाको जागिरमा आउँदा सहज भने भएन। अहिले जस्तो सरकारी सेवामा प्रवेश गर्नुअघि तालिमको व्यवस्था त्यतिबेला थिएन। सरकारी स्वास्थ्य सेवाको काम गर्ने तौर तरिका, प्राथमिकता, तालिम, बजेट, नीति तथा कार्यक्रम बनाउनुपर्ने लगायतका विषयमा कुनै अनुभव थिएन। तर उनले आफूभन्दा सिनियर तथा पुराना कर्मचारीबाट सिक्दै काम गर्न थाले।
डोटल त्यतिबेला भोजपुरको साविकका ६८ वटा गाउँ विकास समितिमध्ये करिब ६३ वटा गाविसमा पुगे। त्यहाँका स्वास्थ्यसंस्था तथा जनताको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन र सेवा प्रवाहका लागि उनी पैदल हिँडेरै गाउँगाउँमा पुग्थे।
‘हाम्रो लागि त्यहाँ घोडाको व्यवस्था थियो, तर म पैदल हिँड्न रुचाउथें, त्यहाँको ठाउँ, भुगोल, सामाजिक तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सेवा दिन म गाउँ गाउँमा पुग्थें,’ उनले भने, ‘जिल्लाका सिडियो, एलडियोले जाउँ भन्नुहुन्थ्यो म जान्थें। त्यो घुमाइलाई म सिकाइको रुपमा लिन्छु।।’
डोटेलले भोजपुरमा रहेर ४ वर्ष काम गरे। सो क्रममा उनले भोजपुरमा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्थाहरुलाई एकतावद्ध बनाउन समन्वयको भूमिका निर्वाह गरे। उनी स्वास्थ्य क्षेत्रका विषयमा छलफल तथा कार्यक्रम गर्दा सबै गैरसरकारी संस्था, जिल्ला विकास समिति लगायतका विभिन्न निकायसँग समन्वय गरेर काम गर्थे।
उनले भोजपुरमा रहेर राम्रो काम गरेको भन्दै सरकारले ३ ग्रेड थप समेत गरिदियो। भोजपुरबाट सेवा सुरु गरेका उनले त्यसपछि लगातार २६ वर्ष सरकारी स्वास्थ्य सेवामा काम गरे। हेल्थ असिस्टेन्ट (एचए) को रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका उनले २०७७ असोजमा अवकाश पाउनेवाला थिए। तर, सरकारले स्वास्थ्य मन्त्रालयमा सरुवा गरेर भूमिकाविहिन बनाइएपछि भदौदेखि नै अवकाश लिए।
बास बसेको घरमा माओवादी आक्रमण
२०५३ सालमा नेपालमा राष्ट्रिय खोप अभियान सुरु भयो। त्यतिबेलाका बाल स्वास्थ्य महाशाखा प्रमुख तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसी आफंै पनि खोप अभियानमा जुटेका थिए। पहिलो चरणको खोप अभियान सफल भएपछि भोजपुरमा दोस्रो चरणको खोप अभियान चल्दै थियो।
डोटेल लगायतको टिम भोजपुरको फुङलुङ जान निस्किए। उनीहरु दिङ्ला पुगेर बसे। साङपाङ स्वास्थ्य केन्द्रमा समुदायसँग बैठक पनि थियो। बैठक लामै समय चल्यो। उनीहरु स्वास्थ्य केन्द्रबाट नजिकै झ्याउ पोखरी बजार निस्किए।
त्यहाँ तत्कालीन राजसभा स्थायी समिति सदस्य वीरबहादुर राईको घर थियो। राईले डोटेलको टिमलाई आफ्नै घरमा बस्न आग्रह गरे। माघको जाडो भएकाले गाउँमा बास माग्दा ओड्ने ओछ्याउनेको समस्या हुनसक्थ्यो। उनीहरु राईकै घरमा बस्न गए।
राईको घरमा बेलुकाको खाना खाएर सुत्ने तरखर हुँदै थियो। एक्कासी माओवादीको आक्रमण सुरु भयो। डोटेल सहित जिल्ला स्वास्थ्य कार्यालयका चार जना त्यस घरमा पाहुना थिए। उनीहरु सबै डराए। राईले २० राउण्ड गोली सहितको बन्दुक आफ्नो सुरक्षाका लागि डोटेलको टोलीलाई दिए। गोली भर्न पनि सिकाए।
‘उहाँले हाम्रो सुरक्षाको लागि बन्दुक दिनुभयो, गोली भर्न पनि सिकाउनुभयो, तर हातमा बन्दुक पर्दा हात नै काँप्न थाल्यो,’ उनले भने, ‘हामी घरभित्रै लुक्यौँ। उहाँ बन्दुक बोकेर बाहिर निस्किनु भयो। त्यो रात निकै डरलाग्दो थियो।’
त्यस क्रममा राईको पिठ्युमा गोली लाग्यो। उनकै घरमा स्वास्थ्यकर्मी थिए। तर, उनीहरुसँग प्राथमिक स्वास्थ्य उपचारका सामग्री थिएन। माओवादीको गोली लागेका राईलाई डोटेलको टिमले रक्तश्राव रोक्ने उपाय अपनाएर रात काटे।
‘हामीले रक्तश्राव रोक्न तातोपानी उमालेर गोली लागेको भागमा सेकेर कपडाको प्रेसर ब्यान्डेज बनाएर लगायौँ,’ उनले भने, ‘गोली लागेको भाग पछाडि पारेर सुतायौँ, रातभरि नुन, चिनी, पानी खुवाएर बस्यौँ।’
डोटेलको टिमले भोलिपल्ट बिहान नजिकको प्रहरी कार्यालयमा खबर पठाए। नजिकको स्वास्थ्य केन्द्रबाट केही औषधि र स्लाइनपानी ल्याए। राईको प्रारम्भिक उपचार भयो। पछि उनलाई हेलिकोप्टरमार्फत थप उपचारको लागि काठमाडौं लगियो।
बास बसेको घरमा माओवादी आक्रमण भएपछि उनीहरुको दिङ्ला बजार क्षेत्र जाने कार्यक्रम स्थगित भयो। फेरि भोजपुर सदरमुकाम नै फर्किए। माओवादी आक्रमण प्रत्यक्ष देखेका डोटेलको टिम निकै डराएको थियो। चार घण्टाको बाटो उनीहरुले दुई घण्टामै पार गरे।
तत्कालिन समयमा माओवादी आक्रमणको घटनालाई प्रत्यक्ष देखेका र भोगेका डोटेल उक्त घटनापछि केही समयसम्म राती बेलाबेलामा झस्किरहन्थें। ‘एक महिनासम्म त सानो–सानो आवज आउँदा पनि म तर्सिन्थें,’ उनले सुनाए।
धनकुटा–काठमाडौँ–झापा फनफनी
उनी २०५४ सालमा विराटनगर सरुवा भए। त्यही समयमा आईओएममा एमपीएच अध्ययनको प्रवेश परीक्षा दिए र पास भए। त्यसपछि २०५५ वैशाखमा एमपीएच अध्ययनका लागि काठमाडौं आए। त्यसबीचमा उनको सरुवा क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा भयो। स्वास्थ्य निर्देशनालयमार्फत उनी जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटामा प्रमुखको जिम्मेवारीमा रहेर पनि केही महिना काम गरे।
त्यसअघिका त्यहाँका कार्यालय प्रमुख उच्च शिक्षाको लागि धरान गएका र अकाउन्टेन्ट पनि आफन्तको मृत्युको कारण काज बिदामा रहेकाले स्वास्थ्य कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाएका थिएनन्। उनले सबै प्रक्रिया पूरा गरी कर्मचारीलाई तलब दिलाए। पछि अर्कै व्यक्ति स्वास्थ्य कार्यालयको प्रमुख भएर आएपछि उनी राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा आए। तर त्यहाँ उनले एक महिना मात्र काम गरे।
२०५७ सालमा आठौं तहमा पदोन्नति भएपछि उनी जनस्वास्थ्य कार्यालय झापामा वरिष्ठ जनस्वास्थ्य अधिकृतको रुपमा सरुवा भए। उनले त्यहाँ मलेरिया रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे। डोटेलले त्यहाँका तत्कालीन सबै गाविसमा पुगेर काम गरे।
स्वास्थ्य संस्था नभएको ठाउँमा स्वास्थ्यसंस्था स्थापनाको मुख्य जिम्मेवारी सरकारको नै हो। झापाका स्थानीय आफ्नो गाउँमा स्वास्थ्यसंस्था बनाउने योजना बोकेर सहयोग माग्न आए। ‘अरु ठाउँमा यस्तो भएन उस्तो भएन भन्दै मागहरु मात्र आउथ्यो,’ उनले भने, ‘तर झापा यस्तो जिल्ला हो, जहाँका स्थानीय हामी स्वास्थ्य चौकीको भवन बनाउदैछौं, स्वास्थ्य कार्यलयले पनि के सहयोग गर्न सक्छ भन्दै आउँथे। समस्या समाधानका उपाय लिएर त्यसमा सरकारको भूमिका खोज्न आउँथे।’
अनि सुस्तायो डाक्टर बन्ने सपना...
एसएलसी पास भएपछि डाक्टरी बढ्ने योजनाका साथ काठमाडौं प्रवेश गरेका डोटेलले एचए, बीपीएच, एमपीएच अध्ययन गरे। त्यतिबेला एचए अध्ययन गरेर कम्तिमा तीन वर्ष काम गरेको अनुभव भएपछि मात्र एमबीबीएस प्रवेश परीक्षा दिन पाइन्थ्यो। डोटेल एचए पढेर धनकुटा गएका थिए। तीनवर्ष कुरेर बल्ल प्रवेश परीक्षा दिनुपर्ने भएकाले उनले डाक्टरी पढ्ने योजनालाई बिट मारे। अनि बीपीएच र एमपीएच अध्ययन गरे।
डाक्टर बनेर बिरामीकै उपचार सेवामा प्रत्यक्ष संलग्न नभएपनि उनले गाउँ–गाउँमा स्वास्थ्य उपचार सेवा विस्तारका लागि सहयोग गरे। स्वास्थ्य कार्यलयहरुमा रहेर नीति, योजना तथा कार्यक्रमहरु निर्माण र समन्वय गरे।
‘२०४६ सालको आन्दोलनपछि मात्र सरकारी सेवामा स्थायी भएँ, त्यति बेलासम्म २८ वर्ष उमेर पुगिसकेको थियो, अब त्यो उमेरमा कति बाबुआमासँग पैसा मागेर एमबीबीएस पढ्नु भनेर पढिनँ,’ उनले सुनाए, ‘त्यसपछि मैले बीपीएच पढ्ने योजना बनाएँ, एमबीबीएस पढ्ने योजनालाई बिट मारेँ।’
कार्यक्षेत्र नै सिकाइ र अनुभवको स्रोत
युवावस्थामा नयाँ कुरा सिक्न र काम गर्न डोटेललाई रमाइलो लाग्थ्यो। उनी स्वास्थ्य कार्यलयको टोली लिएर गाउँका स्वास्थ्य चौकीहरुमा आफैं पुग्थे। त्यहाँ पुग्दा स्वास्थ्य चौकीमा अभाव भएका औषधि तथा स्वास्थ्य सामग्री स्थानीय बजारमै किनेर पनि समस्या समाधान गरिदिन्थे।
उनले भोजपुरसँगै धनकुटा, झापा, धादिङ, दिपायल, सुर्खेत लगायत जिल्लामा काम गरे। परिवार स्वास्थ्य महाशाखामा रहेर मातृ स्वास्थ्यका क्षेत्रमा निकै सक्रियपूर्वक काम गरे। प्रथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा रहेर निशुल्क औषधिदेखि आधारभुत स्वास्थ्य सेवाका योजना निर्माण तथा विस्तारमा पनि उनले योगदान गरे। उनी भन्छन्,‘कार्यक्षेत्र नै सिकाइको विश्वविद्यालय हो, पढेर मात्र होइन, कार्यक्षेत्रमा जमेर काम गर्ने र सिक्ने भावना भयो भने देशको सेवा गर्न सकिन्छ।’