धरान- सिटी स्क्यान मेसिनको अभावमा दैनिक ५० जना भन्दा बढी बिरामी अन्यत्र रेफर गरिरहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ।
अब नयाँ मेसिनबाट दैनिक ६० जनालाई सिटी स्क्यान गरेर तत्काल रिपोर्ट दिने प्रतिष्ठानले जनाएको छ। यसअघि प्रतिष्ठानमा सिटी स्क्यान गर्नुपर्ने बिरामी मध्ये अधिकांसलाई अन्यत्र रेफर गरिँदा मासिक डेढ करोड रुपैयाँ घाटा हुँदै आएको थियो। प्रतिष्ठानमा जडान गरिएको पछिल्लो नयाँ सिटी स्क्यान मेसिन अमेरिकाको जिइ कम्पनीको हो।
रेडियोलोजी विभागका डेमोस्ट्रेटर तथा प्राविधिक इन्चार्ज मुकेस झाका अनुसार नयाँ मेसिनबाट बिरामीको रिपोर्ट छिटो र दुरुस्त निकाल्न सकिन्छ। उनले नयाँ मेसिनले मुटुको सिटी एन्जिओग्राफी अफ हर्ट, बोन इमेजिङ, स्ट्रोकका बिरामीका लागि ब्रेन पर्फ्यूजन, फोक्सो सम्बन्धी पल्मोनरी इम्बोलिजम, मिर्गौला सम्बन्धी रेनल एन्जीओग्राफी, सिटी गाइडेड बायोप्सी, मसल स्केलेटल इमेजिङ लगायत शरीरका विभिन्न अंगको सिटी स्क्यान गरेर रोग पहिचान गर्न सकिने बताए।
हाल परीक्षणकाल भएकाले कम्पनीका तर्फबाट दिल्लीबाट आएका इन्जिनियरले प्रतिष्ठानका प्राविधिक र चिकित्सकहरुलाई प्रशिक्षण पनि दिइरहेको छ। पाचबर्षे वारेन्टी भएकाले अबको पाच बर्षसम्म कम्पनीका इन्जिनियर पनि प्रतिष्ठानमै रहने भएकाले कथंकदाचित विग्रेमा तत्काल मर्मत गरेर संचालन गर्ने कम्पनीसंग सम्झौता रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा सिटी स्क्यान गर्दा न्यूनतम मुल्य ३ हजार ६ सय रुपैयाँमात्र तोकिएको छ।
प्रतिष्ठानको आफ्नै सिटी स्क्यान मेसिन सधै बिग्रीरहने र विगारिने गरिएकाले त्यसलाई तीन महिना अघि विस्थापित गरिएको थियो। प्रतिष्ठानका एक अर्को सिटी स्क्यान मेसिन जडान भएपनि त्यो भने सार्वजनिक निजी साझेदारीमा संचालित रहेको छ। उक्त मेसिन पनि सधैँ बिग्रीरहने पुरानै प्रविधिको भएको र आम्दानीको ६५ प्रतिशत सिटी स्क्यान जडान गरिदिने कम्पनी आरवी मचेन्टले लिदै आएको छ। जवकी सम्पुर्ण बिरामी, जनशक्ति, प्राविधिक, आवश्यक अन्य उपकरण र जडानस्थल भने प्रतिष्ठानकै रहेको छ।
हाल परीक्षणकालमा रहेको नयाँ सिटी स्क्यान मेसिन प्रतिष्ठानमा आपूर्ति गर्न ठेकेदार कम्पनी म्याक्स मेडिटेकलाई उपकुलपति डा ज्ञानेन्द्र गिरिले १६ महिना अघि ०७७ भदौमा नै कुल १६ करोड रुपैयाको ५० प्रतिशत अर्थात ८ करोड रुपैया अग्रीम भुक्तानी दिएका थिए। म्याक्स मेडिटेकले भने सार्वजनिक खरिद ऐनअनुसार सम्झौता गरेको १२० दिनभित्र मेसिन आपूर्ति गर्न नसकेपछि उपकुलपति गिरीले मंसिरसम्मको म्याद थप गरिदिएका थिए। ठेक्का पाएर पनि समयमै सिटी स्क्यान आपुर्ति नगरी ढिलो गर्ने कम्पनीलाई कालोसुचीमा राखेर कुल बजेटको शून्य दशमलव शून्य पाँच (०.०५) प्रतिशत रकम हर्जाना तिराउनु पर्ने प्रावधान सार्वजनिक खरिद ऐन नियमावलीमा छ।
प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साह अब पुर्वका बिरामीले सिटी स्क्यान मेसिनबाट राहत पाउने बताउँछन्। उनले आउदो जनवरीभित्र बायोकेमेस्ट्री ल्यावमा एकपटकमा १२ सयजनाको नमुनाको रिपोर्ट दिन सक्ने बायोकेमेस्ट्री एनालाइजर मेसिन पनि जडान हुने बताए। हाल प्रतिष्ठानमा १० बर्ष पुरानो प्रविधिको एकपटकमा ३ सय स्याम्पलको रिपोर्ट दिने एउटामात्र बायोकेमेस्ट्री एनालाइजर मेसिन रहेको छ। यसैगरी एमआरआई मेसिन पनि जडान गर्न पहल भइरहेको डा साहले बताए। प्रतिष्ठानमा ३ टेस्लाको एमआरआई मेसिन खरिद गर्न प्रतिष्ठानले पटक पटक बोलपत्र आव्हान गरेपनि रद्ध गर्दै आएको छ। एमआरआई गर्नुपर्ने विरामीलाई प्रतिष्ठानले दैनिक १५ देखि २० जना अन्यत्र रिफर गर्दै आएको छ।