काठमाडौं– संसदीय समितिले नोबेल मेडिकल कलेज विराटनगरका अनशनरतलाई एक हप्ताभित्र पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरवारमा सम्पन्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो।
समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले भनिन्, 'विद्यार्थीरुले आफूलाई मानसिक र भौतिक रुपमा टर्चर भएकाले त्यहाँ पढ्न सक्दैनौं, अन्यत्र पढ्ने वातावरण मिलाइदिन आग्रह गरेका छन्। पहिलो प्रयास त्यही पढ्ने वातावरण मिलाउनुपर्छ भन्ने हो।' उनले विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी समेत राखेर उक्त वातावरण मिलाउन निर्देशन दिएकी छिन्। आन्दोलन गरेका तीन महिना पढाइ छुटेकाले अतिरिक्त क्लास लिने वातावरण मिलाउन भनिएको छ। आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्ष पूरा गरिदिनुपर्ने निर्देशनमा भनिएको छ।
नेपालमा कानून आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै सभापति घर्तीले यसको अन्त्य गर्नुपर्ने बताइन्। कलेजले कानुनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिइन्।
हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने सभापति घर्तीको भनाइ थियो।
समितिले सरकारका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई ढिलोमा एक हप्ताभित्र पढ्न सक्ने वातावरण मिलाउन निर्देशन दिइएको हो।