एक युवक कुकुरको टोकाइपछि एक डोज स्थानीय औषधि पसलमा लगाएपछि कारणबस काठमाडौं आउनु परेकोले बाँकी डोज लगाउन यस अस्पतालमा आइपुग्नु भएको थियो। घाइते बिरामीलाई पाँच डोज/पटक पुरा लगाउन भनिएको थियो। तर खोप दिने तरिकाको आधारमा तीन अथवा चार पटक मात्र खोप दिने गरिन्छ जसले गर्दा घाइते बिरामी अल्मलिन पुगेका थिए।
खोप किन्दा पनि खोलभित्र हुने हाते निर्देशिकामा पाँच पटक लगाउन भनिएको हुन्छ। अस्पताल बाहिर एक मात्रा डोज लगाएर आउनेहरुमा डोजको मात्रा/संख्यालाई लिएर जिज्ञासा तथा प्रश्नहरु उब्जिने गरेको देखिन्छ। अर्थात् रेबिज खोपको नयाँ तरिका र तालिका सरकारी अस्पतालहरुमा मात्र सिमित रहेको प्रष्टै देखिन्छ। यसले मुख्यतय घाइते बिरामीहरुमा अन्यौलता छाएको देखिन्छ। खोप लगाउने नयाँ तरिका र तालिका नेपालले सन् २०१९ मा रेबिज निर्देशिकामा समावेश गरेको हो भने विश्व स्वस्थ संगठनले सन् २०१८ मा नै अपनाउन आग्रह गरिसकेको थियो।
प्रकाशित निर्देशिका (२०१९) अनुसार खोप लगाउने तरिकाको आधारमा डोज/मात्रा निर्धारण गरिएको छ। सन् २०१९ को निर्देशिका भन्दा अगाडि रेबिज खोप मासु मुनि मात्रा लगाउने गरिएकोमा अब छाला मुनि लगाउन पनि सकिनेछ।यो खोप लगाउने नयाँ तरिकाको रुपमा पनि लिइन्छ। तर छाला मुनि खोप लगाउन तालिम प्राप्त जनशक्ति चाहिने भएकोले हाल यसको सुविधा विशेषत सरकारी अस्पतालहरुमा मात्र सिमित देखिन्छ।
छाला मुनि खोप लगाउदा शून्य दसमलब एक एमएल (0.1ml) सो दिन (खोप दिएको दिन), तेश्रो र सातौ दिनमा गरि जम्मा ३ पटक प्रत्येक पटक दुइ पाखुरामा दिने गरिन्छ। छाला मुनि खोप दिदा सानो फोका देखिन्छ। सो फोका देखिएर आत्तिनु हुँदैन। वास्तमा, फोका खोप लगाएपछि अनिवार्य देखिनु पर्दछ। पूर्ण खोप लगाएको ३ महिना भित्र फेरि जनावरले टोकेमा खोप आवश्यक हुदैन। तर सो समय पछि टोकेमा भने शून्य दशमलब एक एमएल (0.1ml) सो दिन (खोप दिएको दिन) र तेश्रो दिनमा हरेक पटक एक मात्र पाखुरामा दिनु पर्दछ।
मासु मुनि लगाउने तरिका भने बर्षौदेखि अपनाइरहेको तरिका हो। यो तरिकाबाट खोपको प्रकार अनुसार एक एमएल (1ml) वा शून्य दशमलब पाँच एमएल (0.5ml) दिने गरिन्छ। यो सन् २०१९ को निर्देशिका आउनु अगाडि पाँच पटक लगाउने गरिन्थ्यो। तर अहिले नयाँ निर्देशिकामा भने पाँच बाट चार पटकमा झारिएको (तालिका परिवर्तन) छ। यो झारिएको समय तालिकाको बारेमा सरकारी अस्पतालमा पुगेपछि मात्र धेरैले थाहा पाउने र अलमलिने समेत गरेको देखिन्छ। अहिले पनि सरकारी अस्पताल बाहेक अरु ठाउँमा खोप (मासु मुनि दिने तरिकाबाट) पाँच पटक लगाउन अनुरोध गर्ने गरिन्छ।
रेबिज विरुद्धको खोप दैनिक सयौले लगाउने खोपमा पर्दछ। तर सरकारी र निजी अस्पतालमा (वा औषधि पसल) लगाउने तरिका र तालिकामा भने एकरुपता पाइदैन। यसले घाइते बिरामीमा अन्यौलता छाएको देखिन्छ। एकरुपताको लागि २०१९ निर्देशिका सरकारी अस्पतालहरुमा मात्र सिमित नगरी सवै ठाउँमा (रेबिज खोप दिने) पुग्नु वा पुर्याउनु पर्दछ। नयाँ तरिका र तालिका रेबिज रोग विरुद्ध प्रभावकारी र आर्थिक हिसाबले अनुकुल पनि देखिन्छ।जनावरले टोके वेवास्ता नगरौं। स्वस्थकर्मीको परामर्श वा आवश्यकता अनुसार तुरुन्त खोप लगाऔं। र रेबिजलाई इतिहासमा सिमित गरौं।
-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)