काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष भरिभराउ छ। आकस्मिक कक्षको प्यासेजका शय्याहरुमा पनि बिरामीहरु छन्। केही शय्यामा दुईजनासम्म बिरामीहरु स्लाइन पानी लिएर सुतिरहेका छन्।
अस्पतालको प्रांगणमा पनि बिरामीको लाइन छ। लाइनमा बसिरहेकी एक महिला बेहोस भइन्। उनलाई तुरुन्तै अस्पतालभित्र लगेर उपचार प्रक्रिया अगाडि बढाइयो। उनको उपचार चलिरहेको समयमा बाहिर लाइनमा बसेका अर्का एक पुरुष पनि बोहोस भएर लडे।
अस्पताल परिसरमै बोहोस भएर लडेका र शय्यामा सिकिस्त भएर सुतिरहेका यी सबै बिरामी डेंगुका हुन्। स्वास्थ्यखबरको टोलीले लगातार अस्पतालमा सात दिनसम्म स्थलगत अध्ययन गर्दा अस्पतालमा हरेक दिन यस्तै दृश्य देखिएका थिए। केही समयअघिसम्म कोभिड संक्रमितको उपचारमा सक्रिय रहेका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली दुई महिनादेखि डेंगुका बिरामीको परीक्षण र उपचारमा सक्रिय थिए।
अस्पतालको बहिरंग विभागमा बिरामी जाँचिरहेका डा शेरबहादुर पुनले ओपिडी समयमा कुराकानी गर्ने फुर्सद नपाएपछि साँझ पाँच बजेपछि मात्र स्वास्थ्यखबरले उनीसँग कुराकानी गर्न सकेको थियो। ‘साउन महिना लागेदेखि नै ओपिडीमा डेंगुका बिरामीको भिड बढेको हो,’ उनले भने, ‘डेंगु नियन्त्रण र रोकथाममा समयमा नै चासो नदिएका कारण बिरामीको चाप मंसिर महिनासम्मै बढ्ने देखिन्छ।’
उनका अनुसार अस्पतालमा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि डेंगु विशेष क्लिनिक नै बनाइएको छ। तर बिरामीको चाप बढी भएका कारण अस्पतालको ओपिडीदेखि डेंगु विशेष क्लिनिक, आकस्मिक कक्ष, वार्ड र आइसीयुसम्म डेंगुका बिरामी छन्।
शुक्रराज अस्पतालम जस्तै डेंगुका बिरामी उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, तथा निजी अस्पतालहरुमा बढ्दो क्रममा रहेको अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्याले देखाउँछ।
चिकित्सकहरुका अनुुसार डेंगुकै लक्षण लिएर परीक्षण नगराइ बस्नेहरुको संख्यामा घरघरमा झनै धेरै छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार असोज १२ गतेसम्म २८ हजार एक सय नौ जना व्यक्तिमा डेंगु पुष्टि भइसकेको छ। साउन यता डेंगुका कारण ३८ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले डेंगु मुस्ताङ जिल्ला बाहेक ७६ जिल्लामा देखिसकेको जानकारी दिए। डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भएपनि यो सरुवा रोगभित्र नै पर्छ। डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ।
दसैं तथा चाडबाडको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाउँघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएका क्षेत्रमा पनि डेंगु बढ्नसक्ने डा अधिकारीको भनाइ छ।
डेंगु बढ्नसक्ने जोखिम भएकाले समयमै डेंगु रोग नियन्त्रणका लागि डेंगु गराउने लामखुट्टे तथा त्यसको लार्भा नष्ट गरी डेंगुबाट बच्न सकिने डा अधिकारीले बताए।
‘डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट नै बच्नुपर्छ, डेंगु गराउने लामखुट्टेको वृद्धिविकास रोक्न, लार्भा नष्ट गर्ने, पानी जम्न नदिने, घर वरपर सरसफाइ गर्ने नै हो।’
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा भदौको अन्तिम सातादेखि दैनिक एक हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। डेंगुको संक्रमण सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरमा देखिएको डेंगुका बिरामीमध्ये ८० प्रतिशत काठमाडौं उपत्यकाभित्र नै छ।
यी हुन् डेंगु संक्रमण बढी देखिएको १० जिल्ला
काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली।
डेंगु के हो?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो मानिसबाट मानिसमा भने सर्दैन। तर डेंगु संक्रमण भएको व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेर फेरि अर्को मानिसमा त्यही लामखुट्टेले टोक्यो भने सर्छ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ। सहरी क्षेत्रका सवारी साधनका फालिएका टायरमा, टिनका बट्टाहरु, गमला, खाली ड्रम, पानी ट्यांकी, तथा साना खाल्डाखुल्डीहरुमा यो लामखुट्टे बढी भेटिन्छ।
डा शेरबहादुर पुनका अनुसार डेंगु एडिस एजेप्टाइ र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। यसले मानिसमा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो ल्याउन सक्छ। डेंगुका बिरामीमा मांसपेशी अत्याधिक दुख्ने तथा आँखको गेडी दुख्ने समस्या धेरैमा हुन्छ।
वरिष्ठ माइक्रोबायोलोजिष्ट मेघराज बञ्जाराका अनुसार संक्रमित लामखुट्टे टोकेका तीन देखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्।
चिकित्सकहरुका अनुसार डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन्। क्लासिक डेंगु सामान्य प्रकारको हो। यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। डेंगु हेमोरेजिक र डेंगु सक सिन्ड्रोम भने अलिक जोखिमयुक्त हुन्छ। आन्तरिक रक्तश्राब गराएर मानिसको मृत्यु गराउने खालको हुन्छ।
लक्षण
– उच्च ज्वरो
– जीउ दुख्ने
– आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
– जोर्नी दुख्ने
– शरीरमा विमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
– बेहोश हुने आदि।
बच्ने उपाय
– डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्ने हो।
– बिरामी भइसकेपछि लक्षणका आधारमा उपचार।
– बिरामी भइसकेपछि चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल सेवन गर्ने।
– लामखुट्टोको वृद्धिविकास रोक्ने।
– पानी जम्ने भाँडाहरु गमला, फुलदानी, ड्रम, टायर आदीमा पानी जम्न नदिने।
– यस लामखुट्टेले धेरैजसो दिउसो टोक्ने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने।
– सुत्दा झुलको अनिवार्य प्रयोग गर्ने।
– लामखुट्टे भगाउने धुप तथा मलहम दल्ने।
– घर तथा कार्यालय वरिपरि सफा सुग्घर राख्ने।
चाडबाडमा कोरोनासँगै अन्य सरुवा रोगको उस्तै जोखिम
दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
विगत तीन वर्षदेखि नेपालमा कोरोनाको महामारी छ। यो वर्ष कोरोना संक्रमण केही कम भए पनि जोखिम भने टरिसकेको छैन। यही समयमा अहिले डेंगुको संक्रमण देशभर फैलिँदा दसैंमा बढी नै सचेत रहनुपर्ने अवस्था आएको डा अधिकारी बताउँछन्।
‘सन् २०१९ डिसेम्बरमा चीनबाट फैलिएको कोभिड महामारीका कारण नेपालीहरुले अघिल्ला २ वर्षका चाडपर्व कोभिडकै डर र त्रासमा मनाए,’ उनले भने, ‘विश्वभर फैलिएको कोभिड महामारीको नयाँ–नयाँ भेरियन्टहरु बढ्दै गएकाले अघिल्ला दुईवर्षका दसैं हर्ष उल्लास र उमंग साथ भन्दापनि डर त्रासमा बित्यो। यो वर्ष कोभिडको जोखिमसँगै डेंगुको डर थपिएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ताथ्यांकका अनुसार दैनिक १ सय देखि डेढ सय व्यक्तिमा कोभिड पोजिटिभ आइरहेको छ। यस्तै डिस्चार्ज हुनेदर पनि सोही संख्यामा छ भने करिब २ हजार कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको पछिल्ला तथ्यांकले देखाउछ।
समन्त्रालयका सह– प्रवक्ता डा समिर अधिकारीका अनुसार हाल नेपालमा सबै उमेर समुहका व्यक्तिमा कोरोना संक्रमण भइरहेको छ। तर अस्पतालमै भर्ना हुनुपर्ने अवस्था तथा मृत्यु भएकाहरु भने कोभिड खोप नलगाएका तथा दीर्घ रोग भएका बिरामीहरु छन्।
चाडपर्व मनाउन देश विदेशमा रहेका नेपालीहरु गाउँघर फर्किने हुँदा कोभिडको जोखिम पनि बढ्नसक्ने डा अधिकारीको भनाइ छ।
उनी भन्छन्,‘केही समय अगाडि भन्दा अहिले कोभिड संक्रमण केही कम भएजस्तो त देखिन्छ, तर मापदण्ड पालना गर्न छाडियो भने कुनबेला कहाँबाट नयाँ भेरिएन्ट सहित फैलिन्छ, थाहा हुँदैन र रोकथाम नियन्त्रण गर्न गाह्रो हुन्छ।’ उनले कोभिड विरुद्धको खोप नलगाएका वा पूर्ण मात्रा नलगाएकाहरुलाई खोप लगाउन प्रोत्साहित गर्नुपर्ने बताए।
दसैंमा हुने आफन्तजनको भेटघाट र जमघटमा कोभिड प्रति सचेत नभए दसैंपछि फेरि संक्रमण बढ्न सक्ने डा अधिकारीको भनाइ छ।
‘दसैंको समयमा कोभिड प्रति सचेत भइएन भने फेरि संक्रमण नबढ्ला भन्न सकिदैन,’ उनले भने, ‘अघिल्ला वर्षहरुमा पनि दसैं, तिहार जस्ता चाडपर्वकै भेटघाटमा कोरोना संक्रमण भएर आफन्त गुमाउनु परेको हामीले धेरै सुन्यौं।’ कोरोनाबाट बच्न साबुन पानीले धात धुने, भौतिक दुरी कायम गर्ने, मास्क लगाउने जस्ता जनस्वास्थ्यको मापदण्ड पानला गर्नुपर्ने डा अधिकारीले बताए।
डा अधिकारीका अनुसार चाडपर्वमा खानपानमा ध्यान नदिँदा फुड पोइजनिङ, पखला, हैजा जस्ता रोगको पनि जोखिम बढ्ने हुँदा खापानमा बढी नै सचेत हुन आवश्यक छ। दसैंको समयमा मासुजन्य पदार्थको सेवन बढी हुने हुँदा नसर्ने रोगको जोखिम पनि उत्तिकै रहेको उनी बताउँछन्।
चाडबाडको समयमा हरिया सागसब्जी तथा फलफूल, दुध, दहि, मोहीलाई पन्छाएर मानिसहरु बजारमा पाइने पेय पदार्थको सेवन बढी गर्न थालेका छन्। जुन खाद्यपदार्थ स्वास्थ्यका लागि हानिकारक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणीन्द्र बराल बताउँछन्।
नेपालमा अस्वस्थकर खानपानका कारण नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धि विभिन्न रोग ,क्यान्सर, मिर्गौलाको रोग लगायतका रोगहरुको जोखिम बढ्दै गएको डा बरालले जानकारी दिए।
उनी भन्छन्, ‘जंकफुड, बढी चिल्लो तथा नुन भएका, कम पोषण भएका चिनीको मात्रा बढी भएका खानेकुराहरुको प्रयोग बढी गरेको कारण विभिन्न प्रकारको नसर्ने रोगहरुको जोखिम बढेको छ।’ नसर्ने रोगको जोखिम घटाउन पनि चाडपर्व वा अन्य समयमा पनि बजारका तयारी खाना भन्दा घरमै पाइने स्वस्थकर खाद्य पदार्थ खान उनले सुझाव दिए।
डा शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डेंगु कसरी सर्छ?
डेंगु एक भाइरल संक्रमण हो। यसका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाईपहरु हुन्छन। नेपालमा चारै सेरोटाईपहरु रहेको पुष्टि भैसकेको छ। एडीस जातको संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने यो सर्छ ।
लक्षण के के हुन्? कति दिनमा लक्षण देखिन्छ?
सामान्यतय संक्रमण भएको ४ देखि १० दिन मा लक्षणहरु देखिने गर्दछ। अचानक ज्वरो आउनु/जाडो लाग्नु, टाउको अत्यधिक दुख्नु, आखाको गेडी खस्ला जस्तो गरेर दुख्नु, ढाडको तल्लो भाग/कम्मरमा अत्यधिक दुखाई हुनु, जोर्नी तथा मांशपेशीका दुख्नु, वाकवाक/बान्ता हुनु, खानामा तिब्र अरुचि बढ्नु, बेचैनी हुनु, शरीरमा बिबिरा देखिनु मुख्य तथा प्रारम्भिक लक्षणहरु हुन्। कतिपयमा भने नाक वा गिजाबाट पनि रगत आउने पनि गर्दछ।
डेंगुको असर के हुन्छ?
डेंगुको कारण बिशेषत रक्तश्राप हुने, पेट तथा छातीमा पानी जम्ने, तथा कलेजो, मृगौला, मस्तिष्क लगायतका शरीरका महत्व पूर्ण अंगहरु समेत प्रभावित हुने गर्दछ।
डेंगु कसरी निदान गरिन्छ?
नेपालमा बिशेष गरेर द्रुत परीक्षण किटबाट (आरडीटी) निदान गर्ने गरिन्छ। तर निदान पिसीआर प्रबिधिबाट पनि गर्ने गरिन्छ। पिसीआर प्रविधिबाट डेंगुको सेरोटाईप समेत छुट्याउन सकिन्छ।
डेंगुको हालको उपचार के हो?
डेंगुको बिशेषत ‘एन्टी डेंगु औषधि’ नहुने भएकोले लक्षणमा आधारित भएर उपचार गरिन्छ।
धेरैलाई ज्वरो उच्च आउने त देखिएकै छ। तर सिटामोलले खासै नछुने रहेछ। कस्ता औषधि खुवाउने? ज्वरो मात्रै भए
सिटामोल खुवाउने भन्ने सुनिन्छ। डाबर लगायतका अन्य लक्षण देखिएमा के गर्ने?
सिटामोलले खासै नछुने गरेको संक्रमित बिरामीहरुको गुनासा छन। सिटामोल लिए पश्चात पनि ज्वरो कम भएर पानी–पट्टि लगाएर भएपनि कम गर्नु पर्दछ।निरन्तर ज्वरो नभए आवश्यकता अनुसार सिटामोल लिन सकिन्छ। डाबर वा चिलाएमा एन्टी एलर्जीक औषधीको प्रयोग पनि गर्न सकिन्छ।
कतिपय डाक्टरहरुले उच्च ज्वरो आएमा दुईवटासम्म सिटामोल खान सकिन्छ भनेको सुनिन्छ। कस्तो उमेर, तौलका बिरामीले दुइटा सिटामोल खान मिल्छ? यसका अन्य विषय (कति समयमा, कतिबेला) केके हुन्?
सिटामोल एक जना बयस्कले २४ घण्टामा अधिकतम ४ ग्रामसम्म लिन सक्दछ। एक ट्याब्लेट ५०० मिलिग्रामको हुने भएकोले आवश्यकता अनुसार २ ट्याब्लेट लिन सकिन्छ। ४ देखि ६ घण्टाको फरकमा ४ ग्राम भन्दा बढी नहुने गरि लिन सकिन्छ।
सामान्य खाना (दाल भात तरकारी) नरुच्ने लक्षण धेरैलाई छ। विकल्पमा के खान सकिन्छ? मासु, अण्डा र फलफूल खान सकिन्छ कि सकिँदैन? सकिन्छ भने कस्तो र कसरी खाने?
खानामा अरुचि तीब्र हुने भएकोले बिरामीकोखानामा रुचि भने हुँदैन। खान नमिल्ने भन्ने हुदैन तर यस्तो अवस्थामा विशेषत झोलिलो अथवा जीवनजल लाभदाएक मानिन्छ। शरीरलाई पचाउन पनि सहज हुनेछ।
उच्च ज्वरो मात्रै आउँदा डराउनुपर्छ कि पर्दैन? वा अन्य कस्ता लक्षण आउँदा डराउनुपर्दैन? कुन अवस्थामा अस्पताल पुग्ने?
उच्च ज्वरो डेंगु संक्रमितमा अनुमानित नै हो र आउछ तर डराउनु हुदैन। चेतावनीक लक्षण अर्थात् ‘वार्निङ साइन’ देखिए भने तुरुन्त अस्पताल जाने वा चिकित्सकको सल्लाह लिनु पर्दछ। तारन्तार बान्ता हुनु, रगत बग्नु ( जस्तै नाक, गिजा, दिसा, पिसाब वा बान्तामा), अत्यधिक अलश्य हुनु, श्वास प्रश्वासमा कठिनाई हुनु, पेटमा अत्यधिक दुखाई हुनु आधी चेतावनीक लक्षणहरु हुन। त्यस्तै चिकित्सकको परिक्षणमा कलेजोको आकार बढेको देखिन्छ भने प्लेटेलेट्सको संख्यामा तिब्र गिरावट र हेमाटोकृत बढेको देखिन्छ।
प्लेट्लेट्स् कम भएमा आन्तरिक/बाह्य रक्तश्राव हुने र त्यतिबेला अस्पताल जानुपर्ने भन्ने सुनिन्छ। रक्तश्राव कसरी हुन्छ? तुरुन्तै धेरै बग्ने हो कि? सामान्य रुपमा रगत बग्न थालेपछि अस्पताल पुगिहाल्नुपर्ने हो कि?
सामान्यतय आन्तरिक होस् बाहेक बाह्य कुनै पनि रक्तश्राव भएको देखिए तुरुन्त अस्पताल जाने वा चिकित्सकको सम्पर्कमा जानु पर्दछ।
कस्ता खानपिनले प्लेट्लेट्स् बढाउँछन्? के खाने, के नखाने?
यहि खानाले मात्र प्लेटेलेट्सको संख्यामा बढाउछ भन्ने छैन। झोलिलो खानेकुरा, फलफुल लगायतको खान खादा छिटो स्वस्थलाभ गर्न सकिन्छ। प्लेटेलेट्सको संख्या बिशेष कुनै खानेकुरा नखाएर पनि केहि दिनमा फेरी सामान्य अवस्थामा फर्कने गरेको अनुभवहरु छ।
डेंगु संक्रमितमा सेता रक्तकोष पनि कम हुने हो? कम भएमा के खाने, के नखाने?
सेतो रक्ताकोशिकामा कमी आउदा बढाउनको लागि कुनै विशेष खान खानु पर्छ भन्ने हुँदैन।
डेंगुका बिरामीमा चार/पाँच दिनमा ज्वरो निको हुने रहेछ। त्यो डेंगु निको भएको अवस्था हो कि होइन?
ज्वरो आएको ३ देखि ५ दिन सम्ममा धेरैको ज्वरो घट्छ तर कतिपयमा भने त्यसपछि २४ देखि ४८ घण्टा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ जना सक्ने सम्भावना रहन्छ। तसर्थ ज्वरो सकिने बित्तिकै बिशेष सतर्कता अपनाउन जरुरी हुनेछ।
अहिले नेपालमा फैलिएको डेंगु एकै प्रकारको हो कि फरकफरक छन्? कस्ताकस्ता प्रकारका डेंगु छन्? एकपटक डेंगु लागिसकेको बिरामीलाई पुनः लाग्छ कि लाग्दैन? कति समयपछि लाग्छ? कति समयपछि दोहोरिएर लागेको डेंगुमा डराउनुपर्ने हुन्छ?
डेंगुका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाइपहरु छन्। नेपालमा चारै सेरोटाइपहरु देखिसकेको छ। एकपटक लागिसकेका बिरामीलाई पुनः संक्रमित हुनसक्दछ तर तत्काल निको भएपछी भने हुदैन। अर्को पटक फरक सेरोटाइप पुनः संक्रमण गरे बिरामीमा लक्षण थप कडा हुनसक्दछ।
प्लेट्लेट्सको संख्या कतिबाट तल आयो भने सजग हुनुपर्छ? वा डाक्टर/अस्पतालको निगरानीमा बस्नुपर्छ? व्यक्तिपिच्छे फरक हुन्छ कि के हुन्छ?
प्लेटेलेट्सको संख्या २० हजार भन्दा कम भए चिकित्सकको निगरानी रहनु पर्दछ। यधपी २० हजार भन्दा माथि भएपनि कुनै समस्या देखिए चिकित्सकसंग सम्पर्क भने रहनु पर्दछ।
पेन किलर र अन्य एन्टिबायोटिक किन खान हुँदैन?
सिटामोल बाहेक अरु पेन किलर (एनएसएआइडिएस समुह) को औषधि खाँदा रक्तश्राब र पेटमा समस्या (ग्यासट्रइटिस) को जोखिम हुन्छ। एन्टीबायोटिकको भूमिका डेंगुमा नभएकोले प्रयोग गर्नुको औचित्य रहँदैन।
मेवाको पातको भ्रम र यथार्थ के हो?
मेवाको पात प्रयोग गर्नु अगाडि कसरी, कति मात्रा लिने वा कस्तो स्वस्थ समस्या भएकाले लिनु हुने/नहुने विज्ञको सल्लाह लिनु जरुरी हुन्छ। यसको प्रयोग हाल साथीभाई वा सामाजिक संजालमा लेखिएको आधारमा जथाभावी खाँदा कतिपय बिरामीहरु जटिल अवस्थामा अस्पताल आएका देखिन्छ।
मेघराज बञ्जारा
सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभाग
डेंगु गराउने लामखुट्टे कस्तो हुन्छ? कति साइजको र कस्तो रंगको हुन्छ?
डेंगु गराउने लामखुट्टे एडिस एजिप्टाइ र एडिस एल्वोपिटक्स गरी विशेष २ प्रकार छन्। यी दुवै किसिमका लामखुट्टेले डेंगु भाइरस सार्छ। घरभित्र खाटका कुनाहरुमा, झ्यालभित्र, अध्यारो ठाउँमा एडिस एजिप्टाइ जातको लामखुट्टे बस्छ।
एडिस एजिप्टाइ घर भित्र बस्छ। एडिस एल्बोपिटक्स घर बाहिर बस्छ। त्यसैले डेंगुको संक्रमण घर भित्र र घर बाहिर दुवै स्थानबाट सर्न सक्छ।
नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसालै गरेको अनुसन्धानमा एडिस एजिप्टाइ बढी देखिएको छ। नेपालमा पहिला भएका अध्ययनहरुले पनि नेपालमा एडिस एजिप्टाइ जातको लामखुट्टे बढी रहेको जनाएको छ।
यो लामखुट्टे ४ मिलिमिटर साइजको हुन्छ। यो कालोमा सेता छिरबिरे रंगको हुन्छ। कालोमा सेतो थोप्ला हुने भएकाले यसलाई एसियन टाइगर मस्क्यिुटो पनि भनिन्छ। यो सानो हुन्छ। यो लामखुट्टे बिहान दिउँसो अर्थात उज्यालोमा बढी सक्रिय हुन्छ।
बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म बढी सक्रिय हुन्छ। तर यसले जुनसुकै समयमा पनि टोक्नसक्छ। बढी सक्रिय हुने समयमा भने बढी टोक्ने सम्भावना हुन्छ।
लामखुट्टेले टोकेपछि मानव शरीरमा के हुन्छ? टोकेको स्थानमा फोका आउने, चिलाउने जस्ता तत्कालिन समस्याहरु र डेंगु संक्रमण कति दिनमा देखिन्छ? शरीर भित्र अन्य के–के असर गर्छ?
संक्रमित लामुट्टेले मानिसलाई टोकेमात्र डेंगु सर्छ। लामखुट्टेमा पनि डेंगुको भाइरस भएको अवस्थामा मात्र यो मानिसमा संक्रमण सर्ने हो। संक्रमित लामखुट्टे टोकेका तीन देखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्।
यो सेरोटाइपले साधारण डेंगु ज्वरोदेखि अन्तरिक रक्तश्राब गराउने र सक सिन्ड्रोममा जानेसम्मको लक्षणहरु देखा पर्दछ। यसमा विशेषगरी हेमोरेज हुँदा प्लाज्मा तथा प्लेटलेस कम हुन्छ।
यो लामखुट्टेले राती टोक्दैन?
यो लामखुट्टेले जुनसुकै समयमा टोक्न सक्छ। दिउसोको समयमा बढी सक्रिय हुने भएकाले दिउँसो बढी टोक्छ।
सफा पानी जमेको ठाउँमा किन बस्छ? कति दिनमा लार्भा लामखुट्टे बन्छ?
यो लामखुट्टे फोहोर पानीमा बस्दैन। सफा पानी भएको ठाउँमा बस्छ। फालेका टायर, ड्रम, गमला, साना–साना रंगका बट्टाहरु जथाभावी रुपमा फाल्दा त्यहाँ वर्षातको पानी भरिएर केही दिनमा सफा भएर जमेर बस्छ। यस्तो ठाउँमा यो लामुखट्टेले फूल पार्छ। लामखुट्टेले फूल पारेको ३ देखि ४ दिनमा लार्भा बन्छ। लार्भा बनेको २ देखि ३ दिनमा प्युपा बन्छ, प्युपा भएको २,३ दिनमा वयस्क लामखुट्टे बन्छ। यसको जन्म प्रक्रिया ७ देखि १० दिनको हुन्छ। यसमा तापक्रमले पनि फरक पार्छ।
डेंगु संक्रमित लामखुट्टेले पारेको फूलमा पनि डेंगुको भाइरस पाइन्छ र यो फूल वयस्क लामखुट्टे बन्दा उ डेंगु संक्रमित लामखुट्टे नै बन्छ। यसलाई हामी ट्रान्सोभाइरल ट्रान्मिसन भन्छौं। एउटा संक्रमित लामखुट्टेबाट जन्मिने नयाँ लामखुट्टेहरुमा डेंगुको भाइरस हुन्छ त्यसैले लामखुट्टे नियन्त्रण नभएमा संक्रमित लामखुट्टेको उत्पादन बढ्छ र डेंगुको संक्रमण पनि फैलिनसक्छ।
यो लामखुट्टेको आयु कति हुन्छ?
डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टेको आयु तीन हप्ताको हुन्छ। डेंगु संक्रमित लामखुट्टेले कुनै व्यक्तिलाई टोकेपछि वा धेरै व्यक्तिलाई टोकेपछि मर्छ भन्ने गरिन्छ। यो कुरा सत्य हो। यो कुरा सत्य होइन। एउटा डेंगु संक्रमित लामखुट्टेले धेरै व्यक्तिलाई टोक्नसक्छ। यसको आयु तीन हप्ताको हो, त्यसैले डेंगु संक्रमित लामखुट्टेको पनि आयु त्यति नै हो। कुनै व्यक्तिलाई टोकेपछि मर्दैन।
यो लामखुट्टे घरको माथिल्लो तलासम्म उड्न सक्दैन भन्छन् नि? कतिसम्म उड्न सक्छ?
छतमा राखेको ट्यांकीको पानीमा समेत लामखुट्टे पाइन्छ भनेपछि घरको माथिल्लो तलासम्म उड्न सक्दैन भन्ने कुरा गलत हो। कालाजार गराउने लामखुट्टे मात्र पहिलो तलाभन्दा माथि जान सक्दैन भन्ने हो। तर यो डेंगु गराउने लामखुट्टे उड्न सक्छन् र छतमा जमेको वा छतमा भएको पानी जम्ने भाँडामा पनि लामखुट्टे उत्पादन हुन्छ।
अन्तयमा,
अहिले नेपालमा डेंगुले प्रकोपको रुप लिएको अवस्था छ। त्यसैले डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण गर्न समुदायको सक्रियता आवश्यक पर्छ। घर वरपर खाली बट्टा वा भाडामा पानी जम्न दिन हुदैन। पानी जम्ने खाल्डाखुल्डी छ भने पुर्नुपर्छ। पानी जमेको छ भने फाल्नुपर्छ। अहिले धेरै मानिसहरु संक्रमित भएको अवस्थामा यसले प्रकोपको रुप लिइसकेको छ। त्यसैले लामखुट्टे नियन्त्रणका लागि घर, अफिस तथा बाहिर पनि लामखुट्टे नियन्त्रणका उपायहरु अपनाउनुपर्छ। सरकारले लामखुट्टे मार्नका लागि प्रयोग गर्न अनुमति दिएका विषादीहरुको प्रयोग पनि गर्नुपर्छ।
तापक्रम १८ डिग्री सेल्सियसमा नझरेसम्म डेंगु गराउने लामखुट्टेलाई उपयुक्त मौसम रहिरहने भएकाले डेंगु गराउने लामखुट्टेको उत्पादन नियन्त्रण गरिएन भने चिसो मौसन नआएसम्म डेंगुको प्रकोप नियन्त्रण हुदैन।