हाल नेपालगन्जमा दादुरा प्रकोप देखिएको छ। दर्जनौ बालबालिका संक्रमित भएको र एकको मृत्यु समेत भएको जानकारी आएको छ। हाल प्रभावित क्षेत्रमा ६ महिनादेखि १५ वर्षका बालबालिकालाई दादुरा खोप लगाइरहेको भनिएको छ। विगतमा पनि नेपालका काठमाडौं लगायत विभिन्न ठाउँ/शहरहरुमा बालबालिकामा दादुरा प्रकोप देखिने र फाट्टफुट्टा मृत्यु समेत हुने गरेको तथ्यांक देखिन्छ।
वास्तमा, केहि महिना अगाडि युनिसेफले प्रकाशित गरेको जानकारी अनुसार विश्वमा नै सन् २०२२ को पहिलो २ महिना अघिल्लो वर्षको यहि महिनाको तुलनामा ७९ प्रतिशतले दादुरा वृद्धि भएको भनिएको छ। जुन चिन्ताजनक मानिएको छ। खोप उपलब्ध हुँदाहुदै पनि दादुरा संक्रमणको लक्षणहरु कडा देखिनु र झन् मृत्यु नै हुनु दादुरा निर्मुल गर्ने लक्ष्यलाई चुनौती नै दिएको संकेतको रुपमा लिन सकिन्छ।
अब प्रश्न उठ्छ खोपले काम नगरेको की नलगाएको वा लगाउन नपाएर 'नेपालगन्ज प्रकोप' भएको/देखिएको हो?
दादुरा विरुद्धको खोप अहिले पनि उत्तिकै प्रभावकारी मानिन्छ। तर शत प्रतिशत नै हुन्छ भन्ने हुदैन। वास्तवमा, कुनै पनि खोप शत प्रतिशत प्रभावकारी हुन्छ भन्ने हुदैन। अमेरिकी सिडीसीले जनाए अनुसार दादुरा विरुद्धको खोप ९७ प्रतिशत प्रभावकारी हुन्छ। तर पछिल्लो समय खोप लगाएकामा पनि दादुरा संक्रमण अथवा दादुराको "ब्रेक थ्रु केश" देखिने क्रम बढिरहेको विभिन्न अनुसन्धानहरुले देखाएको छ।
सन् २०१७ देखि २०२१ सम्म गरिएको एक अनुसन्धानले झन्डै ८ प्रतिशतले दादुरा विरुद्धको खोप लगाए पनि बिरामी भएको पाइएको थियो। यसमा दुई कारणहरुलाई प्रमुख मानिन्छ। पहिलो भनेको खोप प्रति शरीरले प्रतिक्रिया नै नजनाउने र अर्को भनेको खोप लगाएको भएता पनि छिटो दादुरा विरुद्धको एन्टीबडीमा ह्रास देखिने अवस्था हो।
नेपालमा बेला बेलामा देखिने दादुरा प्रकोपहरुमा यी दुई कारणहरु मध्ये कुन कारक हो भन्ने राम्रो अध्यन वा जानकारी छैन। लेखकले दादुरा संक्रमण वयस्कहरुमा पनि देख्दै आइरहेको छ अर्थात् दादुरा बालबालिकामा मात्र नभई वयस्कमा पनि देखिने गरेको पाइन्छ। उनीहरुबाट पनि खोप नलगाएका वा पूर्ण मात्र लगाउन बाँकी भएका बालबालिकाहरुलाई सधै जोखिम हुने गर्दछ।
पछिल्लो दुई वर्षमा कोभिड-१९ को लहरले गर्दा पनि खोप सेवा लिनबाट धेरै बालबालिकाहरु वन्चित भएका छन्/हुनुपर्दछ। सो समयमा कोरोना संक्रमण सर्ने भय वा बन्दाबन्दीको कारणले खोप केन्द्रसम्म जान नसक्ने अवस्था थियो। यद्यपि बाल खोप कार्यक्रमलाई भने निरन्तरता दिएको वा कोशिस गरिएको पाइन्छ। खोप छुटेको भए उनीहरु (खोप नलगाएकाहरु) पछि सम्पर्कमा नआएका हुनु पर्दछ। तर कोभिड-१९ को लहर मत्थर भएपछि बाल खोपको सेवाबाट कति छुटे/नछुटे/ बन्चित भए तथ्यांकको आधारमा खोप नलिएकाको खोजी गरेर खोप सक्दो चाडो दिनसकेको भए सायद 'नेपालगन्ज प्रकोप' देखिने थिएन होला।
दादुरा मात्र होइन यो प्रकोपले अरु खोप छुटेका भए अरु संक्रमणले आगामी दिनमा 'नेपालगन्ज प्रकोप' जस्तै अरु संक्रमणले पनि यस्तै रुप नलेला भन्न सकिदैन। तसर्थ कोभिड-१९ को लहरले गर्दा कति बालबालिकाले अरु खोप/हरु पनि लिएका छैनन् त्यसको खोजी नीति गरेर सम्भावित 'नेपालगन्ज प्रकोप' जस्तै अरु प्रकोप नदोहोरियोस भन्नको लागि सचेत हुन जरुरी देखिन्छ।
कस्तो अवस्थामा दादुरा शंका गर्ने?
यदी तपाईं दादुरा फैलिरहेको ठाउँ वा सो ठाउँको भ्रमण गरि १० देखि १२ दिनमा निम्न लक्षणहरु देखिएमा दादुरा हुन सक्दछ।
१) ज्वरो आउनु।
२) नाकबाट पानी बग्नु।
३) खोकी लाग्नु।
४) आँखा रातो हुनु र रसाउनु।
५) मुख भित्र (गालाको भित्रि भाग) सेतो थोपा जस्तो देखिनु।
६) अनुहार र पछि शरीर भरी स-साना बिबिरा देखिनु ( ५, ६ दिन सम्म देखिने गर्दछ)।
५ वर्ष मुनिका बालबालिका र ३० वर्ष माथिका वयस्कलाई दादुराको जटिलता बढी देखिन सक्दछ। विशेष गरेर कुपोषित बालबालिकामा दादुरा कडा हुन सक्दछ। कडा निमोनिया, आँखाको ज्योति गुम्ने, मस्तिष्क सुजन हुने, कानको संक्रमण देखिने, कडा पखाला लाग्ने आदी दादुराका जटिलताहरु हुन। दादुरा कोरोना भाइरस भन्दा पनि बढी संक्रामक मानिएकोले माथि उल्लेखित लक्षणहरु देखिए सो संक्रमित बिरामीमा बिबिरा देखिएको कम्तिमा ४ दिन छुट्टै (आइशोलेट भएर) राख्नु पर्दछ। यसबाट संक्रमण थप फैलन पाउने छैन। दादुरा प्रकोपको बेला विशेषत बालबालिकाहरु अध्यन गर्ने स्थलहरुमा संक्रमण फैलने सम्भावना अत्यधिक हुने भएकोले त्यस्ता विद्यालय वा ठाउँहरुमा विशेष सतर्कता अपनाउनु जरुरी हुनेछ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)