उमंग रानासरियाकी हजुरआमालाई वर्षमा एक पटक अस्पताल भर्ना गर्नुपथ्र्यो। सन् २०१५ मा पनि उमंगकी हजुरआमालाई अस्पताल भर्ना गरिएको थियो। त्यो समय देशका अस्पतालहरुमा स्लाइनको कमी हुने गरेको विषय उमंगले सुने। बिरामीका लागि आवश्यक पर्ने स्लाइन नै अभाव! उमंगलाई अनौठो लाग्यो। त्यसपछि उनले सोचे, ‘नेपालमै स्लाइन उत्पादन गर्न पाए त अभाव नै हुँदैन।’ अनि थाले स्लाइनसहितका अत्यावश्यक औषधि उत्पादन गर्ने कम्पनी स्थापनाको गृहकार्य।
अस्ट्रेलियामा बिजनेस एडमिनिस्ट्रेसन अध्ययन सकेर केही वर्ष दुबईमा व्यवसाय गरेर बसेका उनले नेपालमै औषधि कम्पनी खोल्ने तयारी अगाडि बढाए। उनको सोचलाई दुबईबाट नै अन्तर्रास्ट्रिय व्यवसायमा मास्टर्स पढेर आएकी श्रीमती नेहा अग्रवालले साथ दिइन्। त्यसपछि उनीहरुले २०१५ बाटै एभरेस्ट प्यारेन्टेरल्स प्रालि नामको औषधि कम्पनी स्थापना गरे। नेहा उक्त कम्पनीकी निर्देशक हुन् भने उमंग कार्यकारी निर्देशक।
उनीहरुले एभरेष्ट प्यारेन्टेरल्सको माध्यमबाट विशेष गरी स्लाइन उत्पादन गर्छन् भने आँखा तथा कानमा हाल्ने औषधि र अन्य इन्जेक्टेबल (सुईबाट दिइने) औषधि उत्पादन गर्छन्। लार्ज भोलुम प्यारेन्टल्समा कम्पनी तीन वटा सामग्रीमा केन्द्रित छ, नर्मल स्लाइन, डीएनएस (ग्लुकोजयुक्त स्लाइन) र रिंगर लेक्टेड सोलुसन (बोतलमा आउने सोडियमयुक्त स्लाइन)।
२०० करोड लगानीमा सञ्चालनमा आएको कम्पनीको उद्योग बाराको छत्रपिपरामा छ। बारा र काठमाडौँको कार्यालयमा गरेर कम्पनीमा लगभग ३५० कर्मचारी रहेको नेहा बताउँछिन्। महिलाले नेतृत्व गरेको कम्पनी भएकाले एभरेष्ट प्यारेन्टेरल्समा महिला कर्मचारीलाई विशेष स्थान छ। नेहालाई महिलाहरु अझै ठूला पोजिसनमा आउन् भन्ने चाहना छ। तर महिला भएकै कारण यस क्षेत्रमा चुनौती पनि उत्तिकै भोगिरहेकी छन् नेहाले।
‘म निर्णय आफैं लिन सक्छु। म त्यो ठाउँमा छु तर नेपालमा अवस्था फरक छ। सानो कामको लागि धेरै मानिसबाट अनुमति आवश्यक हुन्छ। समाजको संचरना यस्तै छ, मैले केही काम गर्न लागें या केही प्रश्न गरेँ भने कर्मचारीहरु सरसँग कुरा गर्दिनु भन्छन्। म यो कम्पनीको निर्देशक हो, मैले कम्पनीको नेतृत्व गरिरहेको छु भन्ने कुरा मान्न नै तयार छैनन्,’ उनले भनिन्।
सन् २०२१ बाट मात्रै व्यावसायिक रुपमा कम्पनी सञ्चालन गरेका उनीहरुले ५९ वटा उत्पादनको मार्केटिङ लाइसेन्स लिइसकेका छन्। ११ वटा नयाँ प्रोडक्ट बजारमा आउँदैछन् भने ११० वटाभन्दा बढी सामग्रीको रिसर्च एन्ड डेभलपमेन्ट (आरएनडी) गरिसकेका छन्। गएको एक वर्षमा उनीहरुको कम्पनीले २१ करोडको टर्नओभर गरिसकेको छ।
उनीहरुको कम्पनीले कोरोना महामारीको समय अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) गाइडलाइन अनुसार देशको पहिलो भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट समेत बनाएको थियो। त्यस्तै नेपालमा ब्यागमा भएको स्लाइन बनाउने पनि उनीहरु नै पहिलो हुन्।
नेहाका अनुसार ब्यागमा भएको स्लाइन बनाउन कच्चा पदार्थ जर्मनीबाट मगाइन्छ। कम्पनीको कच्चा पदार्थको आयातदेखि प्रोडक्टको प्याकेजिङसम्मको काममा नेहा सक्रिय भएर काम गर्छिन्।
उनी भन्छिन्, ‘हामी कच्चा पदार्थको गुणस्तरदेखि प्याकेजिङसम्मको कुरामा निकै ध्यान दिन्छौं। हामीले प्रयोग गर्ने कच्चा पदार्थदेखि प्याकेजिङसम्म अन्तर्रास्ट्रिय स्तरको छ। त्यो हिसाबले हामीले कतै कमजोरी गरेका छैनौँ। कम्तीमा हाम्रो प्रोडक्ट प्रयोग गर्ने मान्छेलाई यो कम्पनीले प्याकेजिङदेखि प्रोडक्टसम्म राम्रो बेच्छ भन्ने विश्वास होस्।’ उनीहरुले एक वर्षमा करिब ५० लाख प्रति स्लाइन बिक्री गरिसकेका छन्। आउने वर्षमा एक करोड बोतल स्लाइन बेच्ने उनीहरुको लक्ष्य छ।
आफूहरु दुवै जना मेडिकल क्षेत्रको नभए पनि यो दिनहुँ सिकाइको प्रक्रिया भएको बताउँछन् उमंग। ‘कम्पनीमा काम गर्दै, फर्मसिस्टहरुलाई पनि सोध्दै, धेरै कुरा सिकिरहेको छौँ। छोटो समयमा हस्पिटल, डाक्टर र आम जनताबाट यति धेरै माया पाएका छौँ, त्यही कारणले नयाँ नयाँ प्रोडक्टहरु बनाउन पनि हिम्मत मिलिरहेको छ,’ उनी भन्छन्।
१७ वर्षदेखि स्थिर स्लाइनको मूल्य
विसं. २०६२ देखि औषधि व्यवस्था विभागले स्लाइनको मूल्य हेरफेर गरेको छैन। उमंग भन्छन्, ‘२०६२ देखि स्लाइनको मूल्य ४५ छ, बढेको नै छैन। प्लास्टिकमा निप्पल एड र न्युरो एड भनेर आठ रुपैयाँको फरक छ ४५ र ५३। स्लाइनको मूल्य कम्तीमा पनि ६५ रुपैयाँ हुनुपर्ने हो। यतिका वर्षमा सबै चिजको महँगी बढिसक्यो स्लाइनको मात्रै किन नबढ्ने ?’
उनीहरुले उत्पादन गर्ने ब्याग स्लाइन बनाउनै महँगो भएको नेहा बताउँछिन्। ‘तर पनि स्लाइनको अभाव नहोस् भनेर ब्याग पनि उत्पादन गरिरहेका छौँ। आशा छ, सरकारले सुन्छ र ब्यागको लागि पनि एउटा मूल्य तोकिदिन्छ,’ उनले भनिन्।
अहिले एभरेष्ट प्यारेन्टेरल्सले देशको स्लाइनको ५० प्रतिशत आवश्यकता पूरा गरिरहेको छ। ‘२०१५ हामीले कम्पनी सुरु गर्दा १८ वटा कम्पनीले स्लाइन् निर्यात गथ्र्यो। आज ६ वटा कम्पनीले मात्रै निर्यात गर्छ,’ नेहा भन्छिन्, ‘अस्पतालका बेडहरु बढ्दो क्रममा छन्, सप्लाएर घट्दै गएको छ, आवश्यकता बढ्दैछ, स्वास्थ्य सेवा बढेसँगै स्लाइन र इन्जेक्टेबलको माग बढ्दो छ।’
कम्पनीले हाल २ हजार बोटल प्रतिघण्टा र ब्यागमा २५ सय ब्याग प्रतिघण्टाको दरमा स्लाइन उत्पादन गरिरहेको छ। फाइदा–घाटाभन्दा पनि सेवा नै गरौँ भन्ने हिसाबले कम्पनीले काम गरिरहेको उनीहरु बताउँछन्। उनीहरुको उत्पादनमा ८५ प्रतिशत इन्जेक्टेबलहरु सामग्रीहरु र १५ प्रतिशत आइड्रपहरु पर्छन्।
इन्जेक्टेबलमा लिक्विड स्टेराइल एन्जेक्टेबल, कार्डियक, एनेस्थेसिया, लगायतका छन् भने आइड्रप ९ थरीका छन्।
०००
औषधि व्यवस्था विभागले मार्केटिङ लाइसेन्स दिन ८/९ महिना लगाउँछ। लाइसेन्स दिन कम समय लगायो भने आफूहरुलाई काम गर्न सहज हुने नेहाले बताइन्। ‘कहिलेकसो लाइसेन्स कुर्दाकुर्दै हाम्रो कच्चा पदार्थ नै खेर गइसकेको हुन्छ। उत्पादक लाइसेन्स र प्रोडक्ट लाइसेन्स दिन पनि निश्चित समय तोकिदिए सजिलो हुन्थ्यो। जति उत्पादन गर्न सकियो त्यति नै हाम्रो लक्ष्यमा पुग्न सक्छौं,’ उनले भनिन्।
सरकारले नेपाली औषधि उद्योगहरुलाई प्रमोट गर्ने भन्ने कुरालाई व्यवहारमा लागू गर्नुपर्ने उमंग बताउँछन्। ‘त्यो भनाइमा मात्रै सीमित छ, व्यवहारमा लागू भएन। अर्को, हामीसँग तथ्यांकको कमी छ। कुन मलिक्युल कति चल्छ, कुन बेला चल्छ, कति अभाव छ। कति आयात भइरहेको छ, यसमा विभागले सहयोग गर्यो भने हामीलाई त्यसैमा फोकस भएर काम गर्न सहज हुन्छ,’ उनी भन्छन्।
बैंकले पनि ब्याजमा सहज पारिदिनुपर्ने उमंग बताउँछन्। उनी भन्छन्, ‘हामी ब्याजको मर्कामा छौँ। १४ र १५ प्रतिशत बैंकको ब्याज छ। यसलाई राष्ट्रिय महत्वको विषय मानेर ब्याजदरमा सरकारले सहयोग गरिदिनुपर्छ।’
त्यस्तै सबै फार्मा कम्पनीहरु मिलेर अगाडि बढ्नु पर्ने नेहाको बुझाइ छ। ‘नेपालमा भएका ८० वटाभन्दा बढी फार्मा कम्पनीहरु एकअर्कासँग मिलेर अगाडि बढौं। त्यसले सम्पूर्ण फार्मा क्षेत्रलाई नै राम्रो हुन्छ,’ उनले भनिन्।
हाल कम्पनीमा ४५ जना फार्मसिस्ट छन्। अबको चार वर्षमा १५० करोड टर्नओभर निकाल्ने उनीहरुको लक्ष्य छ। ‘त्यो बाहेक हामी इन्जेक्सनमै काम गर्न चाहन्छौं। अहिले हाम्रो क्षमताको ५० प्रतिशत पनि काम गरेका छैनौँ। तर पनि नेपालमा राम्रो गुणस्तरको स्टोराइल प्रोडक्ट बन्न सक्दैन भन्ने कुरालाई गलत साबित गरेका छौँ,’ उनीहरु भन्छन्।
०००
नेहा नेपाली समाजले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँछिन्। ‘महिला उद्यमीहरुलाई स्वीकार्नुपर्छ। महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुनु जरुरी छ, जसले समाजलाई पनि सकारात्मक बाटोतिर लैजान्छ,’ उनले भनिन्। उमंग पनि नेहालाई साथ दिँदै महिलाहरुलाई अवसर दिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘महिलाहरुमा नेतृत्वको क्षमता निकै राम्रो हुन्छ, अवसर दिनुपर्छ।’
नेहा र उमंगको १४ महिनाकी छोरी छिन्। उनीहरु बच्चा र कम्पनी दुवैलाई एकैसाथ हुर्काइरहेका छन्। अफिसमा छोरीको लागि एउटा छुट्टै कोठा बनाएका छन्। नेहालाई परिवारको पूर्ण साथ छ।
छोरी जन्मिने समयमा अप्रेसन थियटरको एउटा घटना नेहा यसरी सम्झिन्छिन्, ‘म आफैं डेलिभरी हुने समयमा अप्रेसन थियटरमा थिएँ। डाक्टरले यो पेन किलर दिन्छु भन्नुभयो। मैले कुनकुन कम्पनी छ भनेर सोध्दा हाम्रो सहित अन्य कम्पनीको नाम लिनुभयो। मैले हाम्रै कम्पनीको प्रयोग गर्न भनें। आज जुन अस्पताल पुग्दा पनि एभरेस्टको केही न केही प्रोडक्ट भेटिन्छ, खुसी लाग्छ।’