भ्रमपूर्ण विज्ञापनको प्रभावमा परेर मानिसहरु जीवनका हरेक पलमा ठगिरहेका हुन्छन् । विज्ञापनकै प्रभावमा आवश्यक नै नपरेका कुरा पनि किन्ने गरिन्छ । थोरै खर्च गर्ने ठाउँमा धेरै खर्च गर्छन् र आफ्नो स्वास्थ्य बिगार्न आफै अघिसम्म सर्छन् । विज्ञापन देखेकै भरमा कुनै बस्तु प्रयोग गर्नुअघि राम्रोसँग सोच्नु जरुरी छ के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? अहिलेका विभिन्न ठाउँमा देखिने विज्ञापनहरुमा मोटोपनको समस्या, यौन रोग, दीर्घरोगहरुको सफल उपचार, शतप्रतिशत यौन सन्तुष्टि जस्ता सस्ता कुराको पछाडी दौडाउने गरी विज्ञापन गरिन्छ ।
विज्ञापन नै रोक्न सकिन्न होला, भ्रमपूर्ण विज्ञापन जस्तो ग्यारेण्टीकासाथ भनेर लेखिने विज्ञापनहरुको त फन्दामा कहिले नपर्नोस् । त्यसमाथि पनि ग्यारेण्टीकासाथ उपचार गरिने भन्ने कुराहरु त ठगहरुबाट मात्र हुन्छ । उपचारमा केही कुराको पनि ग्यारेन्टी गर्न सकिन्न । हाम्रा यस्ता केही कमजोर विश्वास हुन्छन्, जसलाई समात्न विज्ञापन गर्ने संस्था र कम्पनी राम्ररी बुझेका हुन्छन् । त्यही कमजोरी पक्रेर जब विज्ञापन हुन्छ तब माछा जालमा फसेभैं मानिसहरु फसिहाल्छन् ।
‘मोटो मानिसले खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्नै नपर्ने, नथाकिने, खाली एक क्याप्सुल औषधि विहान–बेलुका खाए पुग्ने’ जस्ता विज्ञापन आएमा मोटोपनले पीडित मान्छेलाई कत्ति चाडै प्रभावित पार्छ होला ? सो विज्ञापनले मुटुमा यसरी छुन्छ कि मोटाहरु त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् । त्यस्तै प्रकारले ‘कम्मरपेटी बाँधेर केहीछिन् बसेपछि पसिना निस्कन्छ अनि कम्मर एक इन्च घटिहाल्छ’ भन्ने जस्ता लोभलाग्दा कुरा विज्ञापनमा आएपछि कम्मर घटाउन चाहने मानिसहरु दौडेर त्यो पेटी किन्न तयार हुन्छन् ।
शरीरभित्रको बोसो एकैचोटि पगाल्ने कुनै औषधि हुँदैन । त्यस्तो औषधि हुँदो हो त अमेरिकाका २५ प्रतिशत जनसंख्याले सो औषधि प्रयोग गर्थै होलान् । कम्मरपेटी बाँधेर एकैछिनमा पसिना निस्कँदा कम्मरको नाप ३४ इन्चबाट ३३ इन्च हुँदो हो त त्यस्तो खालको कम्मरपेटी हातहातमा हुन्थ्यो होला । एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च नै घट्थ्यो होला । साँच्ची यदी औषधि र पेटीको कारणले शरीरको तौल घट्ने भए डाक्टरहरु त्यसमाथि पनि मुटुरोग विशेषज्ञहरुले विरामीलाई यिनै औषधि वा पेटी किन्न सिफारिस गर्थे होलान् । मोटोपनका कारण धेरै मानिस मुटुका विरामी भइरहेका छन् र डाक्टरले पहिलो सल्लाह नै तौल घटाउने दिन्छन् ।
औषधि वा पेटीकै कारण तुरुन्तै तौल घट्ने भए मुटुरोगविज्ञले मोटा व्यक्तिलाई यस्तै सामाग्री सिफारिस गर्नुपर्ने हो, तर त्यसो गरेको पाइँदैन । यदि साँच्चै यस्तो हुँदो त बिहान–बिहान उठेर ‘मर्निङ वाक’ वा जीम गर्नेहरुले बिहानको मीठो निद्रा छोडेर गर्मी, जाडो, पानी नभनी किन दुःख गर्थे होलान् त ? विज्ञापनमा भनेको कुरा सुन्दासुन्दा हो जस्तो लाग्छ र फेरी त्यस्ता गलत विज्ञापनहरुको विरुद्धमा कसैले नबोल्ने र नलाग्ने हुनाले मानिसहरुलाई त, हो न हो यो कुरा साँच्ची कै जस्तो लाग्छ । मुटु रोग विशेषज्ञ डा. प्रकाश रेग्मीको भनाइअनुसार औषधी प्रयोगबाट तौल घटाउँदा शरीरमा धेरै हानी गर्छ । यस्ता औषधीहरुले केही समयको लागि घटाए जस्तो हुन्छ तर वास्तवमा शरीरको पानी गएर तौल घटेको अनुभव हुन्छ । पसिना शरीरबाट गएर, बेल्ट बानेर ठूलो भइन्छ भन्ने त वाहियात विज्ञापन हो ।
विज्ञापनको अर्को पक्ष देखिन्छ बिभिन्न थरिका सौन्दर्य सामग्रीमा । उमेर बढ्दै जाँदा हुँदै जाने शारीरिक भित्री र बाहिरी परिवर्तनहरु रोक्छन्, वा “प्रकृतीबाट लिएर आफ्नो छालाको रंग फेर्न सकिने” भन्ने गरी जसरी विज्ञापन दिइन्छ त्यसले एउटा त गलत ज्ञान वा कुराहरु भनिरहेको हुन्छ । मानवीय दृष्टिकोणले पनि कुनै खास रंगका वर्णका मानिसहरुले सोही कारणले जीवनमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने जस्ता बिचार पनि दिइरहेका हुन्छन् । शरीरको छालाको बनौट र रंग हामीहरुले जन्मेदेखि लिएर आएका हुन्छौं । यसलाई बाहिरी वस्तुहरु लेपन गरेर रंग परिवर्तन गर्न सकिँदैन ।
मानिस ‘गोरो’ हुनुपर्ने र गोरो भएपछि केटा र केटीले एक अर्कालाई मन पराउँछन् भन्ने जस्ता विज्ञापन दिएर सौन्दर्य सामग्री बनाउने कम्पनीले मालामाल हुने कारण पनि हाम्रो विश्वास हो । हामी शरीरको छालालाई सफा राखेर, व्यायाम गरेर, पोषणयुक्त खाना खाएर स्वस्थ राख्नको सट्टामा सौन्दर्य सामग्री किनेर, लेप लगाएर राम्रो (गोरी) देखिन चाहन्छौं । तर यस्ता सौन्दर्य सामग्रीहरुको प्रयोग कति ठीक हो, विज्ञापनमा भनिएका कुरा कति सत्य हो, लामो समयसम्म यसको प्रयोग गरेपछि के हुन्छ भन्ने बारेमा हामी कहिले सोच्दैनौं ।
छाला रोग विशेषज्ञ डा. बिमला ओझाका अनुसार यस्ता विज्ञापनहरु गलत हुन्छ । ‘यस्ता सामाग्री सौन्दर्य र वैज्ञानिक दृष्टिकोणले पनि ठीक छैन । मानिसको शरीर स्वस्थ रह्यो भने अनुहारको चमक आफैं आउनेछ । यस्ता विज्ञापनहरुले गलत सन्देश दिन्छन् ।’ डा.ओझा भन्छिन् । अध्ययनहरुले मानिस स्वास्थ्य भन्दा सुन्दरतामा बढी खर्च गर्न प्रेरित हुने गरेको देखाएका छन् ।
सायद सबैभन्दा बढी भ्रम खानेकुराका विज्ञापनमा छरिन्छ । त्यसमाथि पनि सञ्चार माध्यमहरुमा देखिने बच्चाका लागि लक्षित गरिएका खाद्यसामाग्रीका विज्ञापनले गलत सूचना मात्रै दिइरहेका छैनन् अस्वास्थकर बाटोमा हिडाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले हानीकारक, प्रयोग नगर्ने भन्दै यस्ता सामाग्री प्रशारण प्रकाशनमा लगाएको रोक पनि उत्पादकहरुले उल्लंघन गरिहेका छन् ।
४–५ वर्ष अघिको कुरा हो, भारतको ऋषिकेषमा “निरज क्लिनीक” खोलेर छारे रोगको उपचार गर्ने भनेर ठाउँठाउँमा विज्ञापन गर्ने. डा निरज समातिए । निकै ठूलो काण्ड मच्चिएको थियो । त्यो बेला किन भने ती डा. निरज भ्रमका डाक्टरले खोलेकको “आयुवेद्र्धिक क्लिनिक” मा अच्चमैसँग बदमासी गर्दा रहेछन् । छारे रोगको आयुर्वेद औषधि भनेर पुरिया दिँदा रहेछन् । ती पुरियाहरुमा त उनले छारे रोगमा प्रयोग गरिने आधुनिक औषधिहरु पिनेर दिँदा रहेछ । छारे रोगमा प्रयोग गर्ने औषधिहरु मध्ये केही औषधिले गिजा फुल्ने समस्या गराउँछ, केही औषधिहरुले चाँही शरिरमा एलर्जी उत्पन्न गराउँछ । समयमा नै उपचार गरिएन भने आँखाको ज्योती गुम्ने देखि ज्यान जानेसम्म पनि हुन्छ । ती निरज क्लिनीकका डाक्टरले यसरी औषधि पिसेर दिएका कतीपय विरामीहरुलाई यस्ता समस्या देखा परेपछि दिल्लीको अल इण्डिया मेडिकल इन्स्टिच्युटमा जाँदा पो त्यहाँका डाक्टरहरुले थाहा पाए कि यो त तिनै ठग डाक्टरको काम रहेछ ।
एक जना मानसिक रोग विशेषज्ञका केही चिनेका मानिसहरु पनि ऋषीकेश गएर ती पुरिया खाएपछि, जब एलर्जी भयो अनि डाक्टरकहाँ ल्याउँदा पो थाहा भयो कि त त्यो एलर्जी त छारे रोगको आधुनिक औषधिको कारणले भएको थियो । नेपालबाट पनि मानिसहरु त्यहाँ जाँदा रहेछन् । धेरै जना डाक्टर र विरामीहरुले बारम्बार सिकायत गरेपछि जब ती डाक्टरलाई समातेर पुलिसले ल्यायो र उनको क्लिनीकको खान तलासी लिइयो, त्यो बेलामा क्लिनीकको पछाडि ठूला ठूला खलहरु रचिएका थिए । साथै छारे रोगका थुप्रै थरिका आधुनिक औषधिहरु पनि राखिएका थिए । त्यहाँ ती औषधिहरु खलमा पिस्ने मजदुरहरुले दिनभरि प्याकेटबाट झिकी निकालेर पिस्ने काम गरेको बताए । उनले विरामी तान्न सीपभन्दा विज्ञापनको प्रयोग गरेका थिए ।
तर अझ पनि नेपाल र भारतका कतिपय ठाउँमा त्यसै गरी ठगि गर्ने ‘डाक्टर’ र त्यसै गरी ठगिने विरामीहरुको पनि कमी छैन । मानवीय कमजोरीहरु मध्ये सबभन्दा कमजोर विचारलाई समातेर विज्ञापन गर्दा मानिसहरु चाँडै नै फन्दमा परिहाल्छन् । त्यसै मध्ये एउटा हो, ‘यौन सम्बन्धि समस्याको समाधान गर्ने’ भन्ने विज्ञापन । ‘धातु दुर्वलता, नपुंशकता, स्वप्नदोष,’ आदिको आयुर्वेदिक तरिकाले औषधि ग्यारेण्टिसाथ उपचार गरिनेछ जस्ता विज्ञापन प्रसस्त देख्न पाइन्छ । अनि ‘ग्यारेण्टिसाथ उपचार’ हुने भनेर धेरै मानिसहरु ठगिन जान्छन् । तराई भेगका मानिसहरु भने भारतका सिमानामा शहरहरुमा गएर ‘तथाकथित उपचार’ गराउँछन् र धेरै पछि ठगिइएको थाहा पाउँछन् । र उनीहरु ठगिए पछि केही पनि बोल्दैनन् र अरु पनि त्यसै गरी ती ठरिरहेका हुन्छन् ।