काठमाडौं- केही हप्ताअघि डा रश्मि पुन गुरुङ अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुल पुगिन्। त्यहाँ फरक फरक देशका रिसर्चर, प्रोफेसर र स्वास्थ्यकर्मीमा कुरा सुनिरहँदा मात्रै उनलाई बल्ल आफू हार्वर्डमा भएको महसुस भयो।
रश्मिले लकडाउनको समयमा केही नयाँ गर्ने योजना बनाएर हार्वर्ड मेडिकल स्कुलको ग्लोबल क्लिनिकल स्क्लर्स रिसर्च नामको एक वर्षको कोर्ष सुरु गरेकी थिइन्। पेशाले क्यान्सर रोग विशेषज्ञ गुरुङको अनुसन्धानमा त्यो पहिलो खुड्किलो थियो।
अनलाइन माध्यममा सञ्चालन भएको उक्त कोर्षमा क्याप स्टोन भन्ने प्रमुख प्रोजेक्ट गर्नुपर्ने थियो। सो प्रोजेक्टमा राम्रो काम गर्नेहरू टप टेनमा राखिने भनिएको थियो।
टप टेनपछि राम्रो प्रस्तुति गर्नेहरुमध्ये पनि टप थ्रीलाई छान्ने र हार्वर्ड मेडिकल स्कुल नै बोलाउने भनिएको थियो। फरक फरक देशका विज्ञहरू समावेश भएको उक्त प्रोजेक्टमा गुरुङलाई पर्छु भन्ने नै थिएन।
तर टप टेनको रिजल्ट आएको दिन उनी अचम्म परेकी थिइन्। किनकी उनी त्यो लिस्टमा परेकी थिइन्। उनलाई त्यो दिन खुसी भन्दा पनि टप थ्रीको लागि प्रस्तुति गर्नुपर्छ भन्ने तनाव लागेको थियो। उनले टप थ्रीमा पर्छु भन्ने आशा नै नराखी आफ्नो प्रस्तुति दिइन्।
लगत्तै उनको टप थ्री मा पनि नाम निस्कियो र उनी हार्वर्ड मेडिकल स्कुलमा नेपाललाई प्रतिनिधित्व गरेर आफ्नो प्रस्तुति दिन गइन्। हार्वर्डमा १ सय ५० भन्दा बढी प्रोफेसर र रिसर्चरहरुको अगाडी आफ्नो प्रस्तुति दिएर तेस्रो स्थान हाँसिल गरेर उनी नेपाल फर्किएकी छन्।
पोखरामा जन्मिएकी गुरुङको बाल्यकाल र स्कुले जीवन जावलाखेलको सेन्ट मेरिज स्कुलको होस्टेलमा बित्यो। १० कक्षासम्मको पढाई नेपालमा सकेर प्लस टू पढ्न उनी भारत गइन्। उनका बुवा आमा दुवै शिक्षक थिए। उनलाई पनि पढाइमा निकै रुचि थियो। प्लस टू सकेपछि उनी मेडिकल पढ्न चाहन्थिन्। छोरीको त्यही सपना पूरा गर्न उनका बुवाले उनलाई भारतको मणिपाल विश्वविद्यालय पुर्याए।
मणिपालले त्यो समयमा नेपालमै शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको थियो। नेपालको त्यसैमाथि पोखरा नै घर भएको विद्यार्थी भर्ना हुन आएको देखेर मणिपाल भारतका प्रोफ्रेसरहरुले उनीहरूलाई नेपालकै मणिपालमा पढ्न सल्लाह दिए।
प्रोफ्रेसरहरुको सल्लाह मानेर उनी र उनका बुवा पोखरा फर्किए। भारतबाट नै मणिपालमा पढ्ने निधो गरेर फर्किएकी उनी मणिपालमा भर्ना हुने पहिलो विद्यार्थी हुन्।
‘मैले आफ्नै ठाउँमा पढ्न पाइहालेँ। त्यो समय मणिपालको लागि पोखरा नयाँ ठाउँ थियो। हामी त्यहीँको स्थानीय भएकाले मणिपालको सुरुवाती चरणदेखि नै मेरो परिवारको सहभागिता हुन पुग्यो,’ उनले भनिन्, ‘त्यो समय मणिपाल आफैँ हुर्किँदै थियो मणिपालसँगै हामी पनि हुर्कीरहेका थियौँ। मनमा डर पनि थियो पढीरहेका छौँ तर सरकारले रेकोनोइज गर्ला की नगर्ला भन्ने दोधार हुन्थ्यो। तर पछि सहज नै भयो। आज हामी जहाँ छौँ, मणिपाल जहाँ छ त्यो सबै कुराले धेरै खुसी लाग्छ।‘
सन् १९९४ मा सुरु भएको उनको एमबीबीएसको पढाई सन् २००० मा पुरा भयो। त्यसपछि उनले केही समय मणिपालमा नै इन्टर्नसिप गरिन्। काठमाडौँ आएर न्याम्सबाट रेडियसन अन्कोलोजीमा एमडी सुरु गरिन्। सन् २००८ मा एमडी सकिएपछि उनले केही समय वीर अस्पतालमा भोलेन्टियर गरिन्। त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा करिब दुई वर्ष काम गरिन्।
हाल उनी नेपाल मेडिकल कलेजमा कार्यरत छिन्। साथै, दुई हप्तादेखि उनी नेशनल क्यान्सर अस्पताल जावलाखेलमा मेडिकल डिरेक्टरका रुपमा नियुक्त भएकी छन्। यो पदलाई सिकाइको प्रक्रियाको रुपमा लिएकी छन् रश्मिले।
उनी भन्छिन्, ‘एक हप्तामा मैले धेरै व्यवस्थापकीय कुरा सिकीरहेको छु। चिकित्सक मात्रै हुँदा बिरामीको बारे मात्रै सोच्थेँ अहिले अस्पतालको बारेमा पनि सोच्ने जिम्मेवारी आएको छ। मेरो लागि यो एउटा सिकाइको प्रक्रिया हो।‘
नेपालमा बढ्दो क्यान्सरका बिरामीको अनुपातमा अन्कोलोजिस्टको सङ्ख्या धेरै नै कम भएको उनी बताउँछिन्। ‘पपुलेशनको हिसाबले हेर्दा अन्कोलोजिस्ट धेरै नै कम छन्। जति छन् ती पनि काठमाडौँमा मात्रै सीमित छन्। पछिल्लो समय काठमाडौँ बाहिर पनि केही हदसम्म सुधार हुँदै छ। आशा गरौँ परिवर्तन हुँदै जाला,’ उनले भनिन्।
नेपालमा रेडियसन मेसिनको समस्या भएको उनको गुनासो छ। कम्तीमा देशभर ३० वटा मेसिन हुनुपर्नेमा जम्मा ७/८ वटा भन्दा पनि कम मेसिन भएको उनले बताइन्।
उनी भन्छिन्,’ नेपालगन्जमा मेसिन आउने क्रममा छ। पोखरामै पनि छैन। सबै कुरा काठमाडौँमै मात्रै छ। यसलाई फैलाउन सकियो भने बिरामीलाई सहज हुन्छ। सानो सानो चिजको लागि काठमाडौँ धाउनुपर्ने समस्या कम हुन्छ। त्यस्तै नेपालमा उत्पादन भइरहेका जनशक्तिले पनि अवसरहरू पाउँछन्।‘
प्रत्येक प्रदेशमा क्यान्सर सेन्टर हुँदा बिरामीलाई सहज हुने उनको बुझाई छ।
‘जुन हिसाबले हाम्रो देशमा क्यान्सरका बिरामीहरू बढीरहेका छन् त्यो हिसाबले अस्पताल र सेवा सुविधा निकै कम छ। अहिले जुन सुविधा बिरामीले पाइरहेका छन् त्यो पर्याप्त छैन। कम्तिमा हरेक प्रदेशमा क्यान्सर सेन्टर भए बिरामीलाई धेरै नै सहज हुन्छ।’ उनले भनिन्।
नेपाल जस्तो न्यून आय भएको देशले रोगको उपचार भन्दा पनि रोगको रोकथामको पाटोमा काम गर्नुपर्ने उनको भनाई छ। जनचेतनाको कमीले बिरामी अस्पतालसम्म जानै हिच्किचाउने समस्याको अन्त्य हुनुपर्ने उनी बत्ताउँछिन्। महिलाहरूमा हुने दुई थरीको क्यान्सर (पाठेघरको मुख र स्तन) को स्क्रिनिङ गर्न सकिन्छ। त्यो विषयमा सरकारले पर्याप्त जनचेतना फैलाउनु पर्नेमा उनको जोड छ।
उनले भनिन्, ‘हामीले उपचारसँगै रोकथाम तिर पनि अगाडि बढ्नुपर्छ। जनचेतना फैलाउनुपर्छ। हाम्रो जस्तो न्यून आय भएको देशमा रोग रोकथाम गर्न तिर काम गर्यौँ भने उपचारको खर्च घट्छ। हामीले चेतनाको पाटोमा काम गर्न बाँकी र आवश्यक छ।‘
क्यान्सरको उपचार नेपालमै सम्भव छ
नेपालमा एकातिर दिनप्रतिदिन क्यान्सरका बिरामी बढ्दो क्रममा छन् भने अर्को तिर उपचारको लागि महँगो खर्च गरेर बाहिर जानेहरू पनि छन्। त्योसँगै उपचार र अस्पतालको पहुँचमै नभएकाहरू पनि छन्।
रश्मि नेपालमै क्यान्सरको उपचार गर्ने दक्ष जनशक्ति भएको र नेपालमै क्यान्सरको उपचार सम्भव रहेको बत्ताउँछिन्।
‘अझै पनि नेपालमा क्यान्सरको उपचार हुँदैन भनेर बाहिर जानेहरू हुनुहुन्छ तर क्यान्सरको उपचार नेपालमै सम्भव छ र नेपालमै दक्ष जनशक्तिहरू हुनुहुन्छ,’ उनले भनिन्।
सरकारले स्थानीय तहमा क्यान्सरको विषयमा चेतना फैलाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचालन गर्नुपर्ने उनको बुझाई छ। उनी भन्छिन्, 'बिरामीलाई चेतना नभएको कारणले गर्दा ढिला अस्पताल आइपुग्छन्। विशेष गरी महिलाहरू आफ्नो स्वास्थ्यलाई प्राइरोटाइज गर्दैनन्।
त्यसकारण सरकारले महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचालन गरेर यसको विषयमा जनचेतना फैलाउन जरुरी छ। आम मानिसलाई स्वास्थ्यको महत्त्व हामीले भन्दा पनि उहाँहरूले नै बुझाउन सक्नु हुन्छ।‘
क्यान्सरको उपचार एकदमै महँगो हुने हुनाले सरकारले सहुलियत स्वरूप दिने एक लाख पर्याप्त नभएको उनले बताइन्। उक्त रकमले बिरामीलाई औषधि उपचार सुरु गर्न मात्रै सहुलियत हुने उनको भनाई छ। उपचार खर्च नपाएर बिचमै उपचार छाड्ने बिरामीहरू धेरै भएकाले सहुलियत स्वरूप दिने रकम बढाउनुपर्ने बताइन्।
०००
क्यान्सर भन्ने बित्तिकै डराउने, उपचार गर्न नमान्ने बिरामीहरूलाई सम्झाएर, बुझाएर निको बनाएको अनुभव पनि छ रश्मिसँग। उनी एउटा बिरामीको घटना यसरी सम्झिन्छिन्,‘एकजना महिला बिरामी हुनुहुन्थ्यो। उहाँको श्रीमानको प्यान्क्रियाज क्यान्सरले मृत्यु भएको रहेछ। उहाँहरूको छोरी पनि नर्स थिएन्, त्यी महिलाको स्तन क्यान्सर दोस्रो स्टेजमा थियो। उपचार गर्न मान्नु भएको थिएन।
श्रीमान् त बित्नु भो म पनि मरिहाल्छु भन्ने गर्नुहुन्थ्यो। पछि सम्झाएर बल्लतल्ल उपचार गर्न मान्नुभयो। र अहिले उहाँ निको हुनुभयो। अहिले बेला बेला आई रहनूहुन्छ।’
बिरामी निको हुँदा उनीहरूको आँखाको भाव देखेर आफैँ भावुक हुन्छिन् उनी। ‘रोग पहिचान हुँदाको डर र क्यान्सर निको हुँदाको खुसी नै अर्कै हुन्छ। उहाँहरूले आफूलाई क्यान्सर विजेता भनेर जसरी खुसी व्यक्त गर्नुहुन्छ त्यो भन्दा ठुलो खुसी हाम्रो लागि केही हुँदैन,’ उनले भनिन्।
अन्य रोग जस्तै क्यान्सर पनि निको हुने रोग भएकाले क्यान्सर हुने बित्तिकै हरेश नखान उनको आग्रह छ। उनी सबै जनालाई आफ्नो जीवनशैली स्वस्थ बनाउन, कसरत गर्न, तनाव नलिन सुझाव दिन्छिन्।