टिचिङ अस्पताल भनेर चिनिने त्रिवि शिक्षण अस्पतालमा ७७ वटै जिल्लाबाट फरक फरक रोगका बिरामीहरू उपचार गर्न पुग्छन्। अस्पताल सञ्चालनमा आएको मितिदेखि अस्पतालमा मानसिक रोग विभाग पनि सञ्चालनमा आइरहेको छ। हाल मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझा छन्। सोही विभागमा कसरी बिरामीको उपचार हुन्छ र के-के सुविधाहरू लिन पाइन्छ भन्ने बारेमा स्वास्थ्यखबरकी अन्शु खनालले डा ओझासँग कुराकानी गरेकी छिन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:
अस्पतालको मानसिक रोग विभागमा दैनिक कति बिरामीहरू आउने गर्छन्?
अहिले हाम्रोमा आइतबारदेखि शुक्रबारसम्म नै ओपिडी सञ्चालन हुन्छ। दैनिक ८० देखि १०० जना बिरामीहरू ओपिडीमा आउने गर्छन्।
ओपिडी बाहेक अरू के-के सुविधा यो विभागबाट लिन सकिन्छ?
ओपिडी सेवासँगै हामीसँग बिरामी भर्ना सेवा पनि उपलब्ध छ। हाल हामीसँग भर्ना गर्ने बिरामीको लागि ३० बेड छुट्टाइएको छ। त्योसँगै आवश्यकता अनुसार परामर्श सेवा र इमर्जेन्सी सेवा पनि उपलब्ध छ। कतिपय अवस्थामा बिरामीहरू आत्महत्या गर्ने कोसिस गरेर इमर्जेन्सीमा ल्याउँछन्। त्यस्ता बिरामीलाई पनि हामी सेवा दिन्छौँ। साथै हामी चिकित्सक र अन्य जनशक्तिको क्षमता अभिवृद्दीको कामहरू पनि गर्छौँ।
प्राय: बिरामीहरू कस्तो समस्या लिएर आइपुग्छन्?
आजकल आम बिरामीहरू एन्जाइटी डिप्रेसनको समस्या लिएर आउँछन्। जसलाई हामी औषधिको प्रयोगबाट उपचार गर्छौँ र क्लिनिकल साईकोलोजिस्ट पनि हुनुहुन्छ। उहाँहरूले आवश्यकता अनुसार परामर्श पनि गर्नुहुन्छ।
हाल यो विभागमा कति जनशक्ति छन्?
अहिले हामीकहाँ ८ जना मनोचिकित्सक हुनुहुन्छ। ३ जना क्लिनिकल साईकोलोजिस्ट हुनुहुन्छ र ४ जना रेजिडेन्ट डाक्टरहरू पनि हुनुहुन्छ।
अहिले यो विभागमा के को कमी छ?
अहिले हामीलाई अभाव नै भन्ने ठ्याक्कै केही छैन। हाल हामीले बिरामीलाई दिन सक्ने सेवा दिइरहेका छौँ। तर पनि थप जनशक्ति र बेड र भौतिक पूर्वाधार अझै हुने हो भने सहज पक्कै हुन्थ्यो।
यही क्षेत्रमा काम गर्दैगर्दा मानसिक स्वास्थ्यको विषयमा पहिले र अहिले के परिवर्तन पाउनु भएको छ?
पहिले पहिले मानसिक रोग या मानसिक रोगको डाक्टर भन्ने बित्तिकै मान्छेले अर्कै तरिकाले हेर्थे। अहिले कोभिडपछि मान्छेमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू आयो। त्यसपछि बिरामीको चाप पनि बढ्दो छ। कतिपय बिरामीहरू आफैँले इन्टरनेटमा हेरेर आउनु भएको हुन्छ।
प्राय: बिरामीहरूलाई यो कडा रोग होइन, विशेषज्ञहरूसँग सल्लाह गरेर उपचारपछि ठिक हुन्छ भनेर आफैँ बुझेर आउने पनि हुन्छन्। कतिपय बिरामीहरू अन्य विभागबाट रेफर भएर आउनेहरू पनि छन्। कतिपय पहिल्यैदेखि औषधि खाइरहेकाहरू पनि छन्। जे होस् बिस्तारै उपचारको लागि अस्पताल आउनेहरूको सङ्ख्या बढ्दो छ।
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन कस्तो कस्तो कामहरू गरिनुपर्छ?
हामीले 'नो हेल्थ विथ आउट मेन्टल हेल्थ' भन्ने कुरा बुझ्नु जरुरी छ। मानसिक स्वास्थ्य र मानसिक रोग फरक कुरा हो भनेर बुझ्नुपर्छ। हामी मानसिक रूपमा स्वस्थ हुन जरुरी हुन्छ। मानसिक रोग भन्ने बित्तिकै कडा खालको रोग हो भन्ने पनि बुझ्नु भएन।
मानसिक रोगहरूको बारेमा हाम्रो विचार अझै १९६०/७० तिरको छ। जुन बेला औषधि नै कम थियो। अहिले धेरै सुविधाहरू छन्। त्यस कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या भयो भन्दैमा यसलाई लुकाउने, अरूलाई नभन्ने औषधि नगर्ने भन्दा मनोविद् अथवा मनोचिकित्सकलाई भेटेर आफ्नो समस्याको बारेमा कुरा गर्नुपर्छ। त्यसपछि त्यसको उपचारको लागि सल्लाह गर्ने गर्नुपर्छ।
शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण हुन्छ। बिरामीको सेवासँगै मानसिक स्वास्थ्यको विषयमा जनचेतना फैलाउने र विभिन्न अध्ययन गर्ने कामहरू समेत गर्नुपर्छ।