काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको जेनेभामा जारी ७६ औँ महासभामा मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थ र मादक पदार्थमा लाग्ने वृद्धि गर्ने बताएका हुन्। वृद्धि गरिएको करको दरबाट आउने आम्दानीले जोखिम अवस्थामा रहेका विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि सहयोग हुने मन्त्री बस्नेतले बताए।
उनले टाइफाइड सहित अन्य रोग विरुद्धका खोपहरुमा डब्लुएचओले गरिरहेको सहयोगको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए। क्षयरोग र किटजन्य रोगको अन्त्य गर्ने कार्यमा समेत डब्लुएचओको सहयोग आवश्यक रहेको उनले बताए।
डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा नेपाली टोलीसँको भेटघाटको तस्विर शेयर गर्दै डब्लुएचओले यी विषयमा सहयोग गर्ने बताएका छन्।