काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्रप्रसाद सिंहका लागि घरभन्दा प्यारो थियो। किनकि बितेका ४६ वर्ष उनले घरभन्दा बढी समय त अस्पतालमा काटे।
ती ४६ वर्षमा उनी त्यहाँ तीन भूमिकामा प्रस्तुत भए, विद्यार्थी, शल्यचिकित्सक र प्रोफेसर। उनी आफैंले त्यहाँबाट शिक्षा लिए। सयौं विद्यार्थीलाई डाक्टरमा परिणत गराए। हजारौं बिरामीलाई मृत्युशय्याबाट ब्यूँताए। महत्वपूर्ण अनुसन्धानमा अनवरत लागिरहे।
डा सिंह बिरामी र चिकित्सकको मनबाट त कहिल्यै बाहिरिन छैनन्। तर १५ मंसिरमा डा सिंह त्रिवि शिक्षण अस्पतालबाट बाहिरिने दिन आयो।
‘एउटा परिवारमा मिलेर बसेको मान्छे घरबाहिर हुनै सक्दैन। यो विछोड हैन,’ आफ्नो विदाइमा भारी मन बनाएकाहरूलाई डा वाइपी सिंहले हाँसीहाँसी सम्झाए।
त्यो उनको अवकाशको दिन थियो।
विदाइको दिन अस्पताल परिसरलाई एकसरो नियाले। नियाल्दा उनको स्मृतिमा २६ वैशाख ०३६ धमिलो-धमिलो नाच्यो। एचएमा उत्कृष्ट अंक ल्याएपछि सहायक प्रशिक्षकको रुपमा उनी अस्पतालको सेवामा प्रवेश गरेका थिए। योगेन्द्रलाई वाइपी सिंह पनि यही अस्पतालले बनाएको थियो। जापानबाट क्यान्सर रोगमा विशेषज्ञता हासिल गरेर आएपछि उनी वाइपी सिंहमा बदलिएका थिए।
एचएबाट सेवा सुरु गर्दा होस् वा क्यान्सर सर्जरीमा विद्यावारिधि। उनको कर्मथलो शिक्षण अस्पताल नै रह्यो।
पढाइको क्रममा पटक-पटक विदा हुँदै पुन: अध्ययनपश्चात् उनी यही अस्पतालमा फर्कन्थे। र फरक फरक विभागमा रहेर काम गर्थे। ‘अफिसियल्ली त्यहाँ नरहुँला। तलब नपाउँला। तर मन त यहाँबाट बाहिर हुनै सक्दैन,’ डा वाइपी हामीलाई सुनाइरहेका थिए, ‘एकेडेमिक कार्यक्रम हुन्छन्। मैले गाइड गरेका विद्यार्थीहहरू छन्। त्यसैले अहिले पनि जान्छु।’
डाक्टर बन्ने रहर
डा वाइपीको जन्म सर्लाहीमा भयो। त्यतिबेला तराईमा प्राविधिक विषयले खुब महत्व पाउँथे। २०३२ मा एसएलसी पास गरेपछि हेल्थ असिस्टेन्ट पढ्ने निर्णय गरे। ‘त्यतिबेला एचए नै डाक्टर भन्ने बुझिन्थ्यो। मलाई पनि डाक्टर बन्न मन लाग्यो,’ उनी भन्छन्।
एसएलसीपछि उनी काठमाडौं आए। त्रिवि शिक्षण अस्पतालमा एचए पढे। साढे दुई वर्षको कोर्स थियो। एचए पढ्ने उनीहरूको ब्याच चौथो थियो। उनी उत्कृष्ट अंक ल्याएर ब्याच टपर बने। त्यसपछि योगेन्द्रलाई लाग्यो, ‘अब साँच्चै डाक्टर पढ्नुपर्छ।’ र २०३९ सालबाट उनी एमबीबीएसमा भर्ना भए।
आफ्नो ब्याच टप गरेपछि योगेन्द्रले क्याम्पसमै सहायक प्रशिक्षकको रुपमा जागिर पाए। त्यतिबेला उनको मासिक तलब ५ सय ५० रुपैयाँ थियो।
उनी टपर भएकाले एमबीबीएस पनि छात्रवृत्तिमा पढेका थिए।
२०३७ मा उनी सहायक प्रशिक्षकमा स्थायी भए। विसं २०४६ सालको जनआन्दोलनले उनीहरूलाई अर्को लाभ दिएको थियो। टियुले योग्यता पुगिसकेका सहायक प्रशिक्षकहरूलाई सहायक प्राध्यापकमा स्वत: बढुवा गरेको थियो। सहायक प्राध्यापकमा बढुवा भएपछि उनी सर्जरी विभागमा काम गर्न थालेका थिए।
क्यान्सर रोगतर्फ रुचि
डा. योगेन्द्रलाई सुरुमा सर्जरीतर्फ रुचि थियो। कहिले आकस्मिक विभाग, नाक–कान, घाँटी त कहिले सर्जरी गरी फरक-फरक विभागमा उनले कामको अनुभव संगालिरहेका थिए।
एमबीबीएस पढ्ने क्रममा पेटको क्यान्सर भएका उनको एकजना नातेदारलाई अस्पतालको अप्रेसन थिएटरमा लगियो। त्यतिन्जेलसम्म योगेन्द्रलाई लाग्थ्यो, ‘अप्रेसन गरेपछि निको नहुने रोग कुन होला र?’
त्यतिबेलै उनले थाहा पाए, सबै रोग अप्रेसन गरेर मात्र पनि निको हुँदैनन्।
त्यहाँबाट ‘क्यान्सर कस्तो रोग होला’ भन्नेतर्फ उनको चासो बढ्यो। सन् १९९४ मा डा. योगेन्द्र सरकारी छात्रवृत्तिमा सर्जिकल अन्कोलोजी अध्ययनका लागि जापान गए। कान्साई मेडिकल विश्वविद्यालयबाट जनरल सर्जरीमा उनले एमडी गरे। अध्ययन र रिसर्चमा लगाव भएका योगेन्द्रले सर्जिकल अन्कोलोजीमै विद्यावारिधि पनि गरे।
१९९८ जुलाईमा उनले पिएचडी अवार्ड पाए। स्तन र पाचन प्रणालीको क्यान्सर उनको थेसिसको विषय थियो। ‘टिस्युलाई जिवित रहन न्युट्रेसन चाहिन्छ। न्युट्रेसन रगतबाट जान्छ। त्यो टिस्युसम्म रगत पुग्ने प्रकिया बन्द गर्दा क्यान्सरयुक्त टिस्यु मर्दै जान्छ। क्यान्सरयुक्त टिस्यु मार्ने विषयमा मेरो अध्ययन थियो,’ उनी सुनाउँछन्।
उनी जापान जानुअघि अन्कोलोजीको छुट्टै विभाग थिएन। अस्पतालमा विशेषज्ञको कमी थियो। एउटै डाक्टरले धेरै किसिमको अप्रेसन गर्नुपर्थ्यो। उनी फर्किँदा विशेषज्ञता अनुसारको अभ्यास भइरहेको थियो।
योगन्द्रले स्तन, थाइराइड, पेट, लिभर, प्यान्क्रियाज र ठूलो आन्द्रा सानो आन्द्रा लगायतका विषयमा क्लिनिकल अध्ययन गरेका थिए।
फर्केर शिक्षण अस्पताल आउनासाथ योगेन्द्रको प्राध्यापकमा बढुवा भयो। तीन वर्षपछि उनी एसोसिएट प्रोफेसर भए।
त्यसपछि योगेन्द्रले केही महत्वपूर्ण काम अस्पतालमा गरेका छन्।
अस्पतालमा योगदान
मेडिकल अन्कोलोजिस्ट डा दामोदर गजुरेल, रेडिसियन अन्कोलोजिस्ट डा आरती साह र उनी (सर्जरी अन्कोलोजिस्ट) मिलेर एउटा बैठक गरे। अन्कोलोजीमा केही विकास गर्नैपर्छ भनेर बसेको बैठक थियो त्यो। क्यान्सर रोगको उपचारको लागि छुट्टै सेन्टर सञ्चालन गर्ने उनीहरूको खास योजना थियो। ‘कहिलेकाहीँ सानो मिटिङले पनि इतिहास बनाउँछ। त्यहीबेला हामीले सुरेश वाग्ले क्यान्सर सेन्टर शिक्षण अस्पतालमा खोल्ने योजना बनाएका थियौँ,’ उनी सम्झन्छन्। तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराई हुँदा उक्त सेन्टरका लागि ‘ पी १ प्रोजेक्ट’का नाममा १ करोड बजेट पर्यो।
‘प्रत्येक वर्ष एक पक अर्थमन्त्री भइसकेकालाई बजेट बनाउँदा कुनै एक बैठकमा बोलाउँदो रहेछ क्यारे। पछि उहाँ अर्थमन्त्री नहुँदा पनि सो प्रोजेक्टको बारेमा सोध्नुभएछ,’ उनी भन्छन्। त्यसपछि प्रोजेक्टका लागि ५ करोड बजेट आयो।
शिक्षण अस्पतालमा क्यान्सर सेन्टर बनाउने सुरुमा जोडतोडले लागेका डा गजुरेलले सन् २००९मा अस्पताल नै छाडे । त्यसपछि सन् २०१० देिख त्यसको संयोजक भएर त्यसलाई अघि बढाउने सम्पूर्ण जिम्मेवारी डा योगेन्द्रको काँधमा आयो । डा योगेन्द्र सुरुदेखि नै समिति सदस्य रहेर यो प्रोजेक्ट सफल पार्नमा दत्तचित्त रहे। बीचमा बजेट अभाव त ठेकेदारले समयमा काम नगरिदिनाले समयमै काम हुन सकेन।
सन् २०११ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भवनको शिलान्यास गरेका थिए। तर पूर्ण तयार हुन ८ वर्ष लाग्यो। त्यो भवनले कोभिडकालको बेला ठूलो गुण लगाएको योगेन्द्र सम्झन्छन्।
अहिले सुरेश वाग्ले स्मृति क्यान्सर सेन्टर सञ्चालनमा आइसकको छ। सुरुमा १५ शय्याबाट सुरु उपचार सुरु गरेको सेन्टरमा अहिले सय जना अटाउँछन्।
डा योगेन्द्र परिवर्तन गर्न प्रयत्न गर्ने व्यक्तिमा पर्छन्। उनले अस्पतालमा अनुसन्धान विभागको निर्देशक हुँदा पनि केही नयाँ गर्ने प्रयत्न गरे। ‘नाम मात्रको रिसर्च डिपार्टमेन्ट भएर हुन्न। त्यसको लागि बस्ने ठाउँ हुनुपर्यो। रिसर्च ल्याब चाहियो। रिसर्च सेन्टर बनाउनुपर्यो,’ उनी सुनाउँछन्, ‘एउटा कोठामा सीमित थियो। मैले रिसर्च सेन्टरलाई फराकिलो ठाउँमा ल्याएँ।’
जर्नललाई नयाँ र व्यवस्थित तरिकाले प्रकाशित गर्ने काम पनि उनले गरे।
डा योगेन्द्रको आफ्नै क्यान्सर एजुकेशन फाउण्डेसन पनि छ। फाउन्डेसनमार्फत् उनी एजुकेशन, एड्भोकेसी र रिसर्चको काम गर्छन्। फाउन्डेसनले वर्षको एकपटक क्यान्सरबारे कन्फरेन्स गर्दा युवा वैज्ञानिकलाई अवार्ड पनि प्रदान गर्छ। यसैगरी मधेश प्रदेशमा २०० बेडको क्यान्सर अस्पताल बनाउने योजना बनाइरहेको विनयतारा फाउन्डेसनसँग जोडिएर पनि उनले काम गरिरहेका छन्। जनकपुरमा रहेको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टरको उनी चिफ मेडिकल अफिसर छन्।
उनले किताबहरू पनि लेखेका छन्। 'क्यान्सर के, किन र कसरी?' उनको पछिल्लो पुस्तक हो। जहाँ उनले सरल भाषामा क्यान्सर सम्बन्धी विस्तृत जानकारी समेटेका छन्। यसैगरी पाचन प्रणालीको क्यान्सर, स्तन क्यान्सर लगायतका विषयमा उनले नेपाली र अंग्रेजीमा पुस्तक लेखेका छन्। उनका सय भन्दा बढी आर्टिकलहरू जर्नलमा छापिएका छन्।
डा योगेन्द्र अवकाशपछिको जीवनमा पनि उतिकै सक्रिय छन्। अध्ययन, अनुसन्धान लेखन र प्रशिक्षणमा उनको व्यस्तता कम छैन।
उसो त उनी कम गुनासो गर्ने डाक्टर हुन्। शिक्षण अस्पतालमा काम गरिरहँदा पनि उनलाई कहिल्यै गुनासो रहेन। तर, एउटा कुराचाहिँ मनमा अहिले पनि खड्किरहन्छ। राजनीतिक पहुँचको अगाडि योग्यताको मूल्यांकन नभएको कुरामा उनको म अलिकति दु:खेको छ। अस्पतालमा उनलाई नेतृत्व गर्ने रहर नभएको पनि हैन। क्षमता नभएको पनि होइन। तर राजनीतिक प्रभावले योग्यता भन्दा पनि पहुँचवालाई अवसर दिलायो।
‘मेरो पहिलो नियुक्ति मात्र योग्यताको हिसाबले भयो। त्यसपछि त्यहाँ योग्यताका आधारमा पाउनुपर्ने सवै कुरा मैले पाएँ। तर राजनीतिक पहुँच पनि चाहिने (डिन र अस्पताल निर्देशक) पदमा रुचि त थियो तर प्राप्त भएन,’ उनी भन्छन्।
यद्यपि ४६ वर्षसम्ममा आफूले गरेको सेवा र योगदानले उनलाई आनन्दित बनाउँछ। उनले करिब ५ हजार क्यान्सर र १६ हजार जति जनरल सर्जरी गरे। निको कयौँ बिरामीले डा योगेन्द्रलाई यसकारण पनि मनदेखि सम्झिरहन्छन्। ‘मेरा लागि यो भन्दा ठूलो खुसी के हुनसक्ला र,’ उनी मुसुक्क हाँस्दै भन्छन्।