नर्सरीमा पढ्ने बच्चालाई ‘बाबु तिमी ठुलो भए पछि के बन्ने ?’ भनेर सोध्यो भने प्रायः बच्चाहरुको जवाफ ‘डाक्टर’ पाउन सकिन्छ । हरेक मेधावी विद्यार्थीहरुको पहिलो रोजाई जानेर होस् वा नजानेर डाक्टर नै हुने गर्छ । पढाईमा सबै भन्दा अब्बल विद्यार्थीहरुको समूह आज पनि डाक्टर बनिरहेको छ भन्दा अत्युक्ति नहोला। यति अब्बल डाक्टरहरुको प्रोफेसनमा आजकल न त डाक्टर बिरामी न त डाक्टर पब्लिकको सम्बन्ध राम्रो देखिन्छ। पब्लिक त केवल मान्छेहरुको भीड हो। यसलाई डाक्टर जस्तो बुद्धिजीवि समूहले आफू अनुकुल बनाउन नसक्नुमा पब्लिक जति दोषी छन्, त्यति नै डाक्टरहरु पनि । हामीले आजसम्म एकतर्फी रुपमा मात्रै हेरेको हुनाले डाक्टर र पब्लिकको सम्बन्ध झन्–झन् बिरानो बन्दै गएको आभाष हुन्छ।
धेरै मेहेनत, समय रर सम्पति खर्च गरेर पढेको प्रोफेसनमा आज नत सम्मान छ, नत सेवा सुविधा छ। त्यसैले त प्रायः डाक्टरहरुलाई अचेल ‘नखाउँ भने दिनभरिको शिकारm, खाउँ भने कान्छो बा’को अनुहार’ भएको छ । आजकल ‘डाक्टर माथि हातपात, हस्पिटलमा ढुङ्गामुढा र डाक्टरले बिरामी हेर्न छोडे रे’ भन्ने खबर आउनु सामान्य हुन थालिसक्यो । डाक्टरहरु पनि आफ्नो माग पूरा गराउन निरीह नागरिकलाई नै आफ्नो शिकार बनाइरहेको जस्तो देखिन्छ। किनकी यस्ता आन्दोलनले अन्ततः गरिब जनताहरु मात्र मर्कामा पर्छन्। धनी र पहुँचवालालाई त त्यसको प्रभाव रत्तिभर पनि परेको हँुदैन । हामीले यस किसिमको आन्दोलन गर्नु र कुनै पार्टीले आफ्नो माग पूरा गराउन नेपाल बन्द गर्नु उस्तै–उस्तै हो भनेर हेर्ने आँखाहरु बढ्दैछन्। तसर्थ हाम्रा मागहरु जहाँ र जोबाट पूरा हुने हुन्, तिनीहरुलाई प्रभावित हुने आन्दोलनको खोजी गर्नु आवश्यक छ।
आज हामीले ड्युटीमा भएका डाक्टर एवं स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई धरौटीमा छुट्न नपाउने गरी सोझै जेल चलान गर्ने भन्ने मागलाई जोडतोडले अगाडि बढाइरहेका छौं। यसले डाक्टरको क्षणिक सुरक्षाको सम्बोधन त गर्ला तर वास्तविक समस्याको दुरगामी समाधान गर्न नसकेको आभाष हुन्छ। यसको समाधान भनेको यो माग सँगसँगै हामीले बिरामीको इन्स्योरेन्स (उच्चतम खतरा बीमा) लागू गर्न आवश्यक पहल गर्नु हो ।
बिरामीको बीमा
बिरामीको बीमामा सवारी साधनको तेस्रो पक्ष बीमा गरेजस्तै बीमा शुल्क सहितको टिकट काट्न लगाइ बीरामी जाँच गर्नु हो । जसरी बसमा चढ्ने यात्रुको, विद्युत प्राधिकरणमा काम गर्ने कर्मचारीको, घरको, उद्योगको बीमा गरिन्छ । त्यसरी नै यहाँ पनि हरेक बिरामीको बीमा गर्ने प्रणाली अविलम्ब लागू गर्न आवश्यक छ ।
डाक्टरलाई फाइदा
बीमा गरेका बीरामी मात्र हेर्न शुरु गरे पश्चात कुनै भवितव्य हुन गएमा बीमा पोलिसी अनुसार बिरामीले राहत रकम प्राप्त गर्नेछ । यहाँ जनता वा बिरामी पक्षको भीड इन्स्योेन्स कम्पनीतर्फ मोडिनाले डाक्टर तथा अस्पतालले डर, त्रास र तनावमा कुनै सम्झौता गर्नुपर्दैन । डाक्टर वा हस्पिटलले आफूले लिने शुल्कमा बीमा शुल्क जोडेर लिने हुनाले त्यसको आर्थिक भार आफूमाथि नपर्ने साथै कुनै केससँग सम्भावित अनावश्यक मुद्दा मामिला खेप्नु नपर्ने हुनाले इन्स्योरेन्स पोलिसी लागू गर्न सबैको ध्यानाकर्षण गर्न आवश्यक छ ।
पब्लिकलाई फाइदा
उपचारका क्रममा भवितव्य भएर कोही बिरामीको मुत्यु भएमा ढुंगामुढा गर्ने, विचौलियाको प्रयोग गरी पाउने रकममा आधा–आधा भन्दै हिंसात्मक आन्दोलन गर्नेले भन्दा बाहेक आज पनि सोझा ा जनताले क्षतीपुर्ति रकम भनेर पाउन सकेका छैनन् । इन्स्योरेन्स पोलिसीले सबैलाई समान रुपमा आवश्यक अध्ययन पश्चात् तोकिएको बीमा रकम उपलव्ध गराउनेछ।
बीमाले डाक्टरको लापरबाही त बढ्दैन ?
बीमा कम्पनी आफँैमा नाफामूलक कम्पनी भएको हुनाले कसैको पनि मुत्यु हँुदैमा खुरुखुरु पैसा दिँदैनन्। बीमा कम्पनीसँग आफ्ना प्राविधिक मेडिकल टिमहरु हुन्छन् । छानविन गरी मृत्युको कारण पत्ता लगाएर तिनीहरुको अन्तिम रिपोर्टले भवितब्य हो कि डाक्टरको गल्ती हेरेर मात्रै रकम दिन्छ। गैरजिम्मेवारी वा लापरवाही प्रमाणित भएमा बीमा कम्पनीले डाक्टर वा अस्पतालसँग नै क्षतिपूर्ती रकम दाबी गर्ने हुनाले डाक्टरमाथि पनि लगाम बनीराख्छ । यदि कोही बिरामीको भवितव्यले मृत्यु भयो भने बीमाले नै रकम ति¥यो भने डाक्टर दोषी नरहेको प्रमाणित हुन्छ । मैले गाडीको तेस्रो पक्ष बीमा गरेको छु भनेर कसैले पनि बाटोमा हिड्ने मानिसलाई जानी जानी हान्दैन । नत्र त गाडिको पनि तेस्रो पक्ष बीमाले मान्छे मार्न प्रेरित गरेको भएन र !
सरकारको दायित्व के त ?
सरकारले जसरी तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ, त्यसरी नै बिरामी बीमा अनिवार्य भन्ने नियम बनाइदिएमा सबैले यसलाई अनुसरण गर्दथे। सरकारी अस्पतालमा पनि अस्पतालको आम्दानी वा सरकारी अनुदानबाट त्यहाँ आउने बिरामीहरुको बीमा गर्ने नियम लगाउन सकिन्छ ।
विमाको शुल्क कति लगाउने त ?
२ लाख रुपैयाँ पर्ने बाइकको तेस्रो पक्ष विमा रु.२००० र पूर्ण विमा रु.५००० हुन्छ भने त्यही अनुपातमा अधिकतम ५ देखि १० प्रतिशत बीमा शुल्क लिने व्यवस्था गर्न सकिन्छ ।
स्वास्थ्य उपचार झन् महङ्गो भएन र ?
कुनै बिरामीले कुनै स्वास्थ्य समस्याको लागि रु १०० तिर्न सक्छ भने त्यसलाई रु.१०५ वा बढीमा रु.११० तिर्न त्यति समस्या नपर्ला । बरु रु.१०० नै तिर्न नसक्ने होलान्, ५ देखि १० प्रतिशत बिमाको पैसामात्रै तिर्न नसक्ने भन्ने हुँदैन। नागरिकले पनि रु.१०० तिर्ने ठाउँमा रु.१०५ तिर्दा भोलि भवितब्य केही परेमा विमाको दाबी रकम पाइन्छ भनेर बिमा गर्न शुरु गर्नुपर्छ । साथै सबै डाक्टरहरुले बीमा गरेका बिरामी मात्रै हेर्ने नियम लागू गर्नाले यसको दायरामा सबै आउनेछन् । कोही गरिब रहेछन् भने पनिरु रु.१०० छुट गरेर बीमाको रु.५ वा रु.१० मात्रै लिएर भएपनि बिरामी हेर्नु बुद्धिमानी हुन्छ ।
बीमा कम्पनीले के गर्नुपर्ने ?
बीमा कम्पनीले जोखिम साझेदारी गर्ने हुनाले अर्थविद्हरुको विश्लेषण अनुसार स्थायी नीति बनाएर सार्वजनिक गर्नुपर्छ । दबी गरेका घटनाहरुको छानविन गर्ने केन्द्रिय दक्ष मेडिकल टिम बनाउनुका साथै वकिलहरुको टिम बनाएर बीमा नीति लागू गर्न सकिन्छ। आज शुरु कसले गर्ने ? भइरहेका होला तर एउटा सुरु गरिसके पछि अहिले सवारी साधनको बीमा गराउन खुलेझंै अनगिन्ती कम्पनीहरु अघि सर्नेछन्।
किन यसमा बहश नभएको ?
बीमाको विषयमा आजसम्म खासै छलफल नहुनुमा यो उच्च जोखिम क्षेत्रको बीमा गर्न नसकिने सोचेर होला। जुन गाडीको तेस्रो पक्ष बीमा जस्तै गरेर लागू गर्न सकिन्छ । अब पनि यो विषयमा छलफल शुरु नभए शक्ति केन्द्रहरुले यो माहोललाई अझै तताएर बीमामा तिर्नु पर्ने प्रतिशत बृद्धि गराउनको लागि हो भन्ने कुरा बुझ्न गाह्रो नपर्ला ।
लापरवाहीको कुरा
अहिले एकदमै प्रचलित शब्द हो, लापरवाही ! एउटा ठेकेदारले ५ वर्षसम्म भत्किँदैन भनेर बनाएको बाटो एक वर्ष नबित्दै खाल्डो पर्छ। त्यो लापरवाही हैन ? एउटा इन्जिनियरले एउटा पुल ५० वर्ष टिक्छ भनेर बनाएको २० वर्षमा नै भत्किन्छ। त्यो लापरवाही हैन ? समाजमा गुण्डा जन्मियो भने त्यो पुलिसको लापरवाही हैन ? वास्तविक मूल्य भन्दा कयाँै गुणा धेरै बजार भाउ हुनु व्यापारीको लापरवाही हैन ? देश विकास गर्छु भनेर देशको जिम्मा लिने राजनितिज्ञले केही पनि नगर्नु लापरवाही हैन ? क्रिकेट होस् या फुटवल खेल, खेल हार्यो भने त्यो लापरवाही हैन ? त्यसो त विद्यार्थी परीक्षामा फेल भए शिक्षकको लापरवाही हैन ? अनि घरमा तरकारीमा नुन चर्को भयो भने त्यो खाना पकाउने लापरवाही हो कि हैन ?
हामीले भवितव्य, अन्जानको त्रुटी र जानजान लापरवाहीलाई पर्यायवाची शब्दको रुपमा व्याख्या गर्नाले अहिलेको यो स्थिति आएको हो । वास्तवमा नै लापरवाही भएका क्षेत्र पनि छन्। अरबाैंको घोटाला भएका छन्। अनि अदालतबाटै जन्मकैद सजाय भएकाहरु खुल्लमखुल्ला घुमिरहेका छन्। त्यहाँ विचौलियाहरुको उक्साहट अनि भीड जम्मा पारेर विना छानविन पहिले नै डाक्टरको लापरवाहीको संज्ञा दिएर पैसा असुल्ने काम गरिन्छ । जुन अत्यन्त निन्दनिय छ । लापरवाही प्रमाणित भएमा जोसुकै व्यक्ति, संस्था र सरकार पनि नियम अनुसारको सजायको भागिदार हुनुपर्छ ।
तसर्थ सबैले चिकित्सक–बिरामी र चिकित्सक–नागरिक सम्बन्ध सुधार गर्न विरामीको बीमा र जेल विथआउट बेल मागलाई सँगसँगै समेटेर पत्रकार, सरकार र सरोकारवालाहरु समक्ष जति छिटो ल्याउन सक्छौं, त्यती छिटो यो मेडिकल पेसा मर्यादित र सम्मानित हुनेछ । सबैको यो कुरामा समयमा नै ध्यान जाओस्।
(डा. गिरी प्राथमिक स्वास्थ्य केन्द्र चतरा, सुन्सरीमा कार्यरत छन् ।)