टीकाको दिन नै ड्युटी परेको समयमा कतिपटक साइतअघि नै टीका लगाएर अस्पताल पुगेको छु । कहिले ड्युटीबाट फर्केर अबेला टीका लगाएको पनि छु।
चाडवाड हरेकको लागि विशेष नै हुन्छ । यो समयमा सबलाई घरमै बसौँ, रमाइलो गरौँ भन्ने लाग्नु अस्वभाविक होइन । तर सबैलाई यस्तो जुर्दैन । चिकित्सा पेशामा भएपछि त झन् सम्भव हुने कुरै भएन। अस्पताल २४ घण्टा खुला रहने संस्था हो । यहाँका बिरामीलाई हरेक समयमा चिकित्सकीय निगरानीमा राखिएको हुन्छ । त्यसैले हरेक दिने उनीहरुको उपचारका लागि जानैपर्छ । चाडवाड भएकाले अस्पताल जान्नँ भन्न मिल्दैन ।
बिरामीको उपचारभन्दा अरु कुरा महत्वपूर्ण हुने कुरै भएन । चाडवाडमा सबै चिकित्सकलाई एकै पटक बिदा पाइँदैन ।
एकपल्ट टीका थाप्ने पूरा तयारी भइसकेको थियो । ठ्याक्कै साइतको समय हुँदा अस्पतालबाट फोन आयो । त्यसपछि टीका नै नलाई अस्पतालबाट पुगेँ। त्यो समयमा टीका छुटेको वास्ता हुँदैन, बरु अस्पताल पुग्न बढी हतारो हुन्छ ।
अहिले त रात्रिकालीन ड्युटी गर्नुपर्दैन । एमबिबिएस डाक्टर भएका समयमा त ड्युटीमा व्यस्त भइन्थ्यो । चाडबाडमा त कहिलेकहिले डबल ड्युटी पनि पर्थ्यो।
अरु बेला साइत अघि वा पछि साइत भए पनि मैले दशैं-तिहारको टीका लगाएकै छु । तर, २०१३ मा मैले टीका लगाउन पाइनँ। स्कलरसिपमा दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्च्यिुटमा अध्ययन गर्दा दशैतिहारमा घर आउन पाइनँ। एकदम खल्लो लागेको थियो।
टीकाको दिन मेरो जन्मदिन पनि पर्छ । त्यो समय घरबाट टाढा निकै नरमाइलो लागेको थियो। त्यसैगरी तिहारमा टीका लगाउन नपाउँदा दिदी सम्झेर उदास भएको थिएँ।
म क्यान्सरको डाक्टर भएकाले केमो चलिरहेको बिरामीले खानपान ध्यान दिन आग्रह गर्छु।
पोलेको, तारेको, भुटेको मासु वा अन्य खाने कुरा नखानुहोला । काँचो खाने कुरा पनि खाँदै नखानुहोला । अन्य मानिसको भन्दा क्यान्सर रोगीको पाचनप्रणाली कमजोर हुने भएकाले उल्लेखित खानेकुराबाट टाढै रहनुहोला।