म स्वास्थ्य सेवामा प्रवेश गरेको अठार वर्ष भयो । यस क्षेत्रमा लागेपछिको लामो समय चाडबाड र बिदा भन्ने कुरा खास लाग्थ्यो । तर, म डेन्टल सर्जन भएकाले चाडबाडकै समयमा व्यस्तता बढी हुन्थ्यो । किनकि सामान्यतया त्यही बेला धेरै दुर्घटना हुने गर्छ।
पर्व मनाउने नाममा मदिरा पिएर सवारी चलाउँदा हुने दुर्घटना अनि जुवातास खेल्दा हुने झैझगडाका कारण घाइतेहरु अन्य समयमा भन्दा धेरै हुन्छन्।
काठमाडौं आउनु अगाडि म लुम्बिनी अञ्चल अस्पतालमा थिएँ । त्यहाँ पूर्व–पश्चिम राजमार्ग नजिकै भएकाले सवारी दुर्घटनाका घाइतेहरु धेरै आउँथे । त्यस्तो अवस्थामा चाडबाडमा टीका लगाउन नपाएको अनुभव धेरै छन्।
पछिल्लो समय डेन्टल सर्जनको संख्या बढे पनि त्यो समयमा निकै कम थियौं । लुम्बिनी अस्पतालमा म एकमात्र डेन्टल सर्जन भएकाले धेरै दशैं–तिहार अस्पताल र अपरेसन कक्षमै बिताउनुपरेको छ । बल्लबल्ल छुट्टी पाएर घर गएको समयमा पनि दुर्घटनाका घाइतेहरु आएपछि चाड मान्न छोडेर अस्पताल गएको भोगाइ पनि छ।
हामी चिकित्सकलाई चाडबाड, घरपरिवार र समयलाई समय दिन निकै समस्या हुन्छ । समय नदिँदा परिवार र अन्य आफन्तले 'कस्तो रहेछ, चाडबाडको बेला पनि समय नदिने' भनेर गुनासो गर्छन्।
मेरो घर दाङ हो । केही वर्ष अगाडि दशैं मनाउन घर जाँदा दुर्घटनाका घाइतेहरु आएपछि टीका छाडेर महेन्द्र अस्पताल दाङ पुगेको थिएँ।
सहोदर बहिनी नभएकाले तिहारमा मैले काकाकी छोरीको हातबाट टीका लगाउने गरेको थिएँ । तर, चार पटकभन्दा बढी तिहारको साइतमा बिरामी हेर्न अस्पताल जानुपरेको अनुभव मसँग छ । त्यसरी पटकपटक साइतको टीका लगाउन नपाएपछि मैले तिहारमा टीका लगाउनै छोडिसकेको छु । भाइटीका लगाउन छोडेको १५ वर्ष भइसक्यो।
हामी चिकित्सकलाई चाडबाड, घरपरिवार र समयलाई समय दिन निकै समस्या हुन्छ । समय नदिँदा परिवार र अन्य आफन्तले 'कस्तो रहेछ, चाडबाडको बेला पनि समय नदिने' भनेर गुनासो गर्छन् । तर, हाम्रो पहिलो प्राथमिकता जहिले पनि बिरामी नै हुन्।
हाम्रो चाड रमाइलो बनाउने काम सर्वसाधारणकै हातमा हुन्छ । किनकि धेरै मदिरा आएर जथाभावी गाडी हाँक्ने, झैझगडा, कुटपिट गर्ने, खानपानमा ध्यान नदिने इत्यादि नगर्ने हो भने चाडबाडका समयमा उहाँहरु अस्पताल आउनुपर्ने थिएन । हामीले पनि ढुक्कसाथ परिवारसँग चाड मनाउन पाउने थियौं।