धेरै कामकाजी अभिभावकलाई जस्तै कामको व्यस्तताका कारण तपाईंले पनि बालबालिकालाई केयरहोम तथा मन्टेश्वरीमा छाड्नुपर्ने बाध्यता होला । स्कुलमा सबैभन्दा बढी समय बिताउने बालबालिकाको पोषणबारे कहिल्यै ख्याल गर्नुभएको छ ? यदि छैन भने अब विशेष ख्याल गर्नुहोला, स्कुले बालबालिकालाई कुपोषणको खतरा बढ्दो छ।
तीनदेखि ६ वर्षको उमेरका बालबालिकाको यथोचित शारीरिक तथा मानसिक वृद्धिका लागि पोषण अत्यावश्यक छ । यो उमेरमा उनीहरुलाई प्रोटिन, कार्बोहाइड्रेड र भिटामिनयुक्त खानेकुरा खुवाउनुपर्छ । उमेर अनुसार बालबालिकाले खानेकुरा खाएका छन् कि छैनन्, त्यसमा पनि विशेष ध्यान दिनुपर्छ । खानेकुराको सन्तुलन नमिलेमा बच्चामा कुपोषणको समस्या हुन्छ । यो उमेरमा जंकफुड निषेध नै गर्नुपर्छ । तर, सहरिया बालबालिकाहरुले बढी जंकफुड सेवन गर्दा उनीहरुमा कुपोषण बढ्दो छ।
काठमाडौं उपत्यकाका करिब २ हजार बालबालिकामा अध्ययन गर्दा ४५ दशमलब ५७ प्रतिशत बालकहरुको उँचाइको वृद्धि उमेरको अनुपातमा भएको पाइएन । यस्तै, ५२ दशमलब ४६ प्रतिशत बालकको उमेरको अनुपातमा तौल कम थियो । ४३ दशमलब ४२ प्रतिशत बालिकाहरुको उँचाइ उमेरको अनुपात अनुसार बढेको पाइएन भने ४६ दशमलब ९ प्रतिशत बालिकाहरुको तौल उमेरको अनुपात अनुसार थिएन । पोषणको कमी हुँदा उमेरको अनुपात अनुसार उँचाइ र तौलको वृद्धि हुँदैन।
उमेरसमूह अनुसार कति हुनुपर्छ उँचाइ र तौलको अनुपात ?
स्कुले बालबालिकामा कुपोषण हुन नदिन के गर्ने?
कुपोषण हुने मुख्य कारण खानपान हो । पछिल्लो समय प्राय: बालबालिकाले स्कुलमै खाना खान्छन् । उनीहरुलाई दिने खानाको गुणस्तरको अनुगमन अभिभावकले गर्नुपर्छ । स्कुलमा जंकफुड पूर्णरुपमा प्रतिबन्ध गरिनुपर्छ।
जंकफुडले पेट अघाए पनि पोषण पुग्दैन । धेरै जंकफुड खाँदा आन्द्रा सुक्ने समस्या हुन्छ भने त्यस्ता खानेकुराले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतामा समेत ह्रास आउँछ । जसले गर्दा बालबालिकालाई ज्वरो आइरहने, झाडापखाला लागिरहने समस्या देखिन्छ । अभिभावकले घरमा उनीहरुलाई हरियो सागपात, गेडागुडी, माछामासु, रोटी-तरकारी जस्ता खानेकुरा नियमित खुवाउनुपर्छ । यस्ता खानेकुराले बालबालिकालाई आवश्यक पोषण दिन्छ।
बालबालिकालाई कुपोषणबाट जोगाउन नियमित स्वास्थ्य परीक्षण समेत अत्यावश्यक छ । स्कुलमै क्लिनिक स्थापना गरी उनीहरुको आवधिक रुपमा उँचाइ र तौल परीक्षण गर्ने व्यवस्था हुनुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्दा बालबालिकाको उचित वृद्धि भए-नभएको थाहा हुन्छ।
बालबालिकाको सामान्य स्वास्थ्य परीक्षणसम्बन्धी तालिम शिक्षक-शिक्षिकालाई तथा अभिभावकलाई दिँदा कुपोषणको समस्याबाट बचाउन सकिन्छ । तौल र उचार्इको अनुपात गडबड भएमा चिकित्सककहाँ लैजाने अवसर पाउँछन् र चिकित्सकको सल्लाहमा आवश्यक पोषण खुवाउन पाउँछन् । यसले बालबालिकाको शारीरिक र मानसिक अवस्थाको उचित वृद्धिमा सहयोग पुर्याउँछ।
यस्तै, स्कुलमै खोप कार्यक्रम सञ्चालन र जुकाको औषधि समय-समयमा खुवाउँदा बालबालिका रोगी हुने सम्भावना हुँदैन । यसले उनीहरुलाई तन्दुरुस्त बनाउन मद्दत गर्छ । स्कुलमा बालबालिकाले राम्रोसँग खाए-नखाएकोबारे शिक्षकहरुले निगरानी राख्नुपर्छ । खानपानमा समस्या देखिए अभिभावकहरुलाई तुरुन्तै सूचित गरेर स्वास्थ्य परीक्षणको सल्लाह दिँदा समेत कुपोषणबाट बालबालिकालाई जोगाउन सकिन्छ।
बालबालिकालाई कुपोषणबाट जोगाउन स्कुलमा हुनुपर्ने काम
- रक्त परीक्षण
- तौल र उँचाइको नियमित नाप
- उमेर अनुसार तौल र उँचाइको अनुपात परीक्षण
- आवश्यक पोषण तत्वको पहिचान
- पोषण सम्बन्धी योजना तय
- फ्लुको मासिक परीक्षण
- बालबालिकामा देखापरेका स्वास्थ्य समस्याबारे अभिभावकलाई सुझाव।
युनिसेफको पछिल्लो तथ्यांक अनुसार, विश्वभर पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । कुपोषणकै कारण वार्षिक ३० लाख बालबालिकाको मृत्यु हुने गरेको छ । साढे २ वर्षदेखि तीन वर्षसम्मको उमेरका बालबालिकालाई पोषणको कमी भए उनीहरुको उचित शारीरिक र मानसिक वृद्धि हुँदैन । जसले गर्दा उनीहरुको सिकाइमा समेत असर पुग्छ।
यो अवधि बाहेकमा पनि पौष्टिकताको ख्याल अत्यावश्यक छ । विद्यालय प्रशासनले स्कुलमा र अभिभावकले घरमा ख्याल नपुर्याउँदा नेपालमा पनि कुपोषणको समस्या बढ्दै गएको छ । जनगणनाको पछिल्लो तथ्यांक अनुसार पोषणको कमीले देशभरका बालबालिकामध्ये ३६ प्रतिशतमा उमेरको अनुपातमा उचार्इ पाइएन । यस्तै, १० प्रतिशत बालबालिका दुब्लो र २७ प्रतिशत बालबालिकामा कम तौलको समस्या देखा पर्यो।
खानपानमा ध्यान र नियमित स्वास्थ्य परीक्षण गराउने हो भने बालबालिकालाई कुपोषणबाट जोगाउन सकिन्छ । त्यसैले अभिभावकले घरमा खानपिनमा ध्यान पुर्याउनुपर्छ भने शिक्षक-शिक्षिकाले स्कुलमा विद्यार्थीको विशेष हेरचाह गर्नुपर्छ।
(बालस्वास्थ्य सम्बन्धी विभिन्न अनुसन्धान गरेकी सुवेदीले चाइल्ड हेल्थ 4मा स्नातकोत्तर गरेकी छिन्।)