बिरामीको रोग तथा समस्या पहिचान गर्ने विभिन्न उपकरणमध्ये एक हो एक्स–रे मेसिन । एक्सरे एउटा किरण (रे) हो । सानादेखि ठूला अस्पतालमा एक्स रे अनिवार्य रुपमा हुनुपर्छ । विगतमा पुरानो प्रविधिको ‘म्यानुअल एक्स रे’ थियो । तर, अहिले बजारमा डिजिटल एक्स रे आइसकेको छ । नेपालमा पनि सानादेखि ठूला अस्पतामला डिजिटिल एक्स रे छन्।
नेपालमा सन् २००५ देखि डिजिटल एक्स रे प्रयोगमा आउन थालेको हो । विश्व बजारमा भने डिजिटल एक्स रे सन् २००२ देखि नै प्रयोगमा आइसकेको थियो । पुरानो प्रविधिको एक्स रेको तुलनामा नयाँ डिजिटल एक्स रे चलाउन सहज हुनुका साथै छिटो हुन्छ।
विगतमा केमिकल प्रयोग गर्नुपर्ने एक्स रे हुन्थ्यो । यस्ता केमिकलले वातावारण प्रदूषण गर्ने भएपछि नयाँ प्रविधि विकास भएको हो । विकसित देशमा त केमिकल प्रयोग गर्नुपर्ने एक्स रेको प्रयोग शून्य भइसकेको छ । कतिपय देशले त त्यसलाई प्रतिबन्ध नै गरेका छन्।
नेपालमा अहिले पनि करिब ३० प्रतिशत जति अस्पतालमा पुरानै प्रविधिका एक्स रे होलान् । तर, यसका सामग्री पाउन छाडेपछि र चलाउन झन्झट हुने भएपछि अहिले नयाँ डिजिटल एक्स रेको माग बढिरहेको छ । दुई वर्षअघि हामीले ८० वटा जति डिजिटल एक्स रे बिक्री गरेको थियौं । तर, गत वर्ष यो संख्या बढेर दोब्बर भएको छ । अहिले देशका सबै जसो जिल्लाबाट डिजिटल एक्स रेको माग आइरहेको छ।
डिजिटल एक्स रेलाई ‘कम्प्युटेड रेडियोग्राफर’ भनेर चिनिन्छि । यो कम्प्युटर र प्रिन्टरजस्तै हो । यो मेसिनमा एउटा ‘इमेजिङ प्लेट’ हुन्छ । बिरामीलाई मेसिनमा राखेपछि उक्त प्लेटले बिरामीको एक्स रे गरेको स्थानको तस्बिर लिन्छ र त्यसलाई ‘डिजिटलाइजर’मा पठाइन्छ । यो प्रविधिमा डिजिटलाइजरको पनि विभिन्न गति दिनसक्ने क्षमता हुन्छ । बजारमा अहिले २० वटा तस्बिर प्रतिघन्टा खिच्नसक्ने गति भएकादेखि २ सय प्रतिघन्टा गतिको क्षमता भएका डिजिटलाइजर छ पाइन्छ । यही आधारमा एक्स रे मेसिनको गुणस्तर र मूल्य निर्धारण हुन्छ । सामान्यतया १० लाखदेखि ३० लाख रुपैयाँभित्रमा यी क्षमताका एक्स रे पाइन्छन्।
अस्पतालमा बिरामीको चापका आधारमा डिजिटल एक्स रेको माग हुन्छ । सय बेडभन्दा बढी क्षमताका अस्पतालले एक घन्टामा १ सयभन्दा बढी तस्बिर खिच्न सक्ने क्षमताका मेसिन किनेका छन् भने जिल्ला अस्पताल तथा साना अस्पतालमा सानै क्षमताको एक्स रे मेसिन किन्ने गरिन्छ।
डिजिटल एक्स रे मात्र होइन अहिले त्यो भन्दा पनि आधुनिक डिजिटल रेडियोग्राफर प्रविधि आइसकेको छ । यो प्रविधिमामा डिजिटल एक्स रेमा जस्तो डिजिटाइजर चाहिँदैन । सोझै कम्प्युटरमा आउने हुन्छ । तर, यो डिजिटलभन्दा दोब्बर महँगो पर्छ ।