लहान– दरवन्दीअनुसार चिकित्सक र कर्मचारी नहुँदा जिल्ला अस्पताल सिरहाको सेवा प्रभावित छ।
सदरमुकाम सिरहास्थित ५० वेडको जिल्ला अस्पताल १५ बेडका चिकित्सक र कर्मचारीको भरमा सञ्चालन भइरहेको छ। थोरै संख्यामा रहेका स्वास्थ्यर्मी र कर्मचारी पनि अधिकांश करारमा छन्।
अस्पताल प्रशासनका अनुसार बिरामीको चाप वढेपछि १५ वेड सञ्चालन भइरहेको जिल्ला अस्पताललाई डेढ वर्षअघि मात्रै ५० वेडमा स्तरोन्नती गरिएको हो। २०७३ माघ २० गते मन्त्रीपरिषदको निर्णयले ५० बेडको सेवा सुरु भएपनि थप स्वास्थ्यकर्मी र कर्मचारी हालसम्म पनि पठाईएको छैन।
मन्त्रीपरिषदको निर्णय लगत्तै २०७३ फागुन २३ गते निजामति किताव खानाले ५० बेडको अस्पतालका लागि ९ विशेषज्ञ डाक्टर सहित ५३ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरवन्दी खडा गरि पत्राचार गरेको थियो। स्वास्थ्य मन्त्रालयले पनि चैत १३ गते सोही अनुसारको जानकारी अस्पताललाई गराएको छ। तर, दरवन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी भने हालसम्म पनि नआएको मेडिकल रेकर्डर रामदुलार यादवले वताए।
अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेन्ट पेडियाट्रिसियन. स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाडजोर्नी शल्यचिकित्सक, परामर्शदाता मनोरोग विशेषज्ञ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट गरी ९ जना विशेषज्ञ चिकित्सकको दरवन्दी छ। एकजना पनि दरवन्दीका चिकित्सक छैनन्। करारमा रहेका स्त्री रोग विशेषज्ञ डा विनय महासेठ र फिजिसियन डा गंगाप्रसाद यादवको भरमा अस्पतालको चिकित्सकीय सेवा सञ्चालन भइरहेको छ।
अस्पतालका मेसु तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दास ११औं तहमा बढुवा भएर २०७३ फागुनमा सरुवा भएपछि अस्पतालमा हाल मेसुको पद समेत रिक्त छ। मेसु रिक्त भएपछि जनकपुर अञ्चल अस्पतालवाट नवौं तहका सर्जन डा. नागेन्द्रप्रसाद यादवलाई काजमा पठाएर निमित्त मेसुको जिम्मेवारी दिइएको छ । उनी जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख पनि हुन्।
यसैगरी, नासु, लेखापाल, स्टोरकिपर लगायतका प्रशासनिक कर्मचारीको दरवन्दी समेत खाली छ। चिकित्सकसहितका स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा विरामीलाई सेवा दिन नसकेको र भएका स्वास्थ्यकर्मी र कर्मचारीलाई समेत भ्याइनभ्याइ भएको डा. यादव बताउँछन्।
अस्पतालको सेवा ‘जेन–तेन’
दरवन्दी खाली भएपछि करारमा स्वास्थ्यकर्मी र कर्मचारी नियुक्त गरी ‘जेन–तेन’ अस्पतालको सेवा सञ्चालन गरिएको छ। हाल ५३ मध्ये २५ जना स्वास्थ्यकर्मी, प्राविधिक र कर्मचारी कार्यरत छन्।
चिकित्सक, प्राविधिक र कर्मचारीको अभाव भएपछि अस्पतालको स्वास्थ्य सेवा र नियमित क्रियाकलाप समेत प्रभावित भएको छ। असार मसान्तपछि करार अवधि समाप्त हुने भएकाले अस्पताल जनशक्ति विहिन हुने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरे। निमित्त मेसु चौधरीले भने सिरहा अस्पतालका लागि मन्त्रालयले करारमा १२÷१३ जना स्वास्थ्यकर्मीको भ्याकेन्सि निकालेकाले असार २५ गतेभित्र थप डाक्टर आउन सक्ने जानकारी दिए।
२० वर्षसम्म स्थानिय तहको निर्वाचन नहुँदा हरेक क्षेत्र कर्मचारीको भरमा सञ्चालन भएको र पटक पटक पहल गर्दा पनि दरवन्दि अनुसार चिकित्सक र कर्मचारीको ब्यवस्था गर्न नसकिएको सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवले वताए । दरवन्दि अनुसार पदपुर्तिकै लागि आफू अहिले पनि मन्त्रालयमै रहेको उनको भनाई छ ।
दिक्क छन् स्वास्थ्यकर्मी
सिरहा लगायत भारतीय क्षेत्रवाट समेत उपचारका लागि आउने सर्वसाधारणका कारण अस्पतालमा बिरामीको चाप वढेको छ। अस्पतालको इमर्जेन्सिमा दैनिक सरदर १५० देखि २०० जना र आउट डोरमा ३० देखि ५० जना विरामी भर्ना हुने गरेका छन्।
बिरामीको अनुपातमा स्वास्थ्यकर्मी नहुँदा सेवा दिन समस्या भएको इमर्जेन्सी इन्चार्ज तथा सिनियर अहेव उमेश कुमार गौणले बताए। ‘विहान, दिउँसो र राती गरी तीन सिफ्टमा बिरामी हेर्नुपर्छ’ उनले भने–‘जम्मा तीन जना स्वास्थ्यकर्मीले तीन सिफ्टमा काम गर्नुपर्दा वाक्क हुन्छ।’ कोहि एकजना विदा वसे अर्कोले खप्टिएर काम गर्नु पर्ने वा एक सिफ्टको सेवा पूर्ण रुपमा प्रभावित हुने गरेको उनले जानकारी दिए। स्टोर किपरको जिम्मेवारी समेत आफुमाथि नै रहेको वताएका गौणले धेरैतिर काम गर्नुपर्दा स्वास्थ्य सेवा समेत प्रभावित हुने गरेको सुनाए।
यस्तै, जनशक्ति अभावकै कारण अस्पतालको फार्मेसी ५ वजेपछि नै वन्द हुने गरेको छ । साँझपख अस्पताल बाहिरका औषधी पषल पनि वन्द भएपछि राती आउने विरामी औषधी अभावले समस्यामा पर्ने गरेको स्वास्थ्यकर्मीहरु वताउँछन् ।
तलव नपाएको गुनासो
जनशक्ति अभावका कारण कष्टपुर्वक सेवा दिइरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि तलवभत्ता समेत पाएका छैनन् । ‘विदाको त कुरै गर्न पाईदैन, त्यसवापतको पैसा पनि पाइएको छैन’ सिअहेव गौण भन्छन्, ‘असोज महिनादेखि नियमित तलव भत्ता पनि रोकिएको छ।’
मेयर यादवले मन्त्रालयले नै रकम नपाउँदा तलव वाँड्न नसकिएको जानकारी दिँदै कतिले असोजदेखि र कतिले मंसिरदेखि तलव नपाएको बताए ।