दीपा पौडेल
प्युठान- सरकारले प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको सुत्केरी भत्ता प्युठान अस्पतालका सेवाग्राहीले पाँच महिनापछि बल्ल पाउन थालेका छन्। जिल्ला अस्पताल प्युठानमा गत भदौदेखि सुत्केरी भएका महिलाले उक्त सेवा लिन पाएका थिएनन्।
गत पुसदेखि अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा अमृत पन्थीले जिम्मेवारी सम्हालेपछि भदौदेखि रोकिएको सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालिएको हो। डा पन्थीले भने, ‘अस्पतालमा कार्यालय प्रमुख र लेखा प्रमुख नहुँदा यहाँका नागरिकले सास्ती बेहोर्नु परेको रहेछ। अब हामी विस्तारै समयमै सुत्केरी प्रोत्साहन भत्ता र यातायात खर्च बापतको रकम उपलब्ध गराउँछौं।’
जिल्ला अस्पतालमा सुत्केरी भएका ६ सय ४८ जना महिलाले प्रोत्साहन भत्ता र यातायात खर्च बापतको रकम समय मै पाउन सकेका थिएनन्। उनले भने, ‘प्रोत्साहन भत्ता नपाएकाहरुलाई ध्यानमा राखेर स्थानीय सञ्चार माध्यमहरुबाट सूचना प्रवाह गरी सम्पर्कमा ल्याउन खोजेका छौं। नपाएकामध्ये आजसम्म २ सय ९९ जनालाई उपलब्ध गराइसक्यौं। सम्पर्कमा आउने क्रम जारी छ, जतिसक्यो चाँडो सम्पर्कमा लिएर उहाँहरुलाई सेवा प्रदान गर्न लागिरहेका छौं।’
जिल्ला अस्पतालको प्रांगणमा नानी काखमा च्यापेर हातमा सुत्केरी प्रोत्साहन भत्ताको रकम लिएर फर्र्किंदै गरेकी गौमुखी गाउँपालिका- ६ निवासी कास्मिरा गिरीले केही समयपछि भए पनि आफूले भत्ता प्राप्त गरेकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘समयमै दिएको भए झनै राम्रो हुने थियो, ढिला भए पनि पाएँ, खुसी छु। हामी जस्ता दुर्गम बस्ती र आर्थिक अवस्था कमजोर भएकाहरुलाई यसले पनि धेरै राहत दिन्छ।’
त्यस्तै राज्यबाट उपलब्ध सेवा समेत समय मै लिन नपाउँदा निराश थिइन् झिमरुक गाउँपालिका-५ निवासी ललिता विक। स्वास्थ्य संस्थामा सुत्केरी भएर घर फर्कने बेला अस्पतालबाट दिने सुविधा उनले उपयोग गर्न पाइनन् तर केही समयपछि भए पनि सुविधा पाउँदा निकै खुसी भएको उनी सुनाउँछिन्।
अस्पतालमा कार्यालय प्रमुख र लेखापाल नहुँदा आफूहरुले निकै सास्ती ब्यहोर्नु परेको र समयमै सेवा दिन नसकेको सुनाउँछिन् अस्पतालमा कार्यरत स्टाफ नर्स निर्जला घर्तीमगर। ‘सुत्ेकरी हुन आउने महिलालाई बच्चा जन्माएर घर फर्कने बेला हाकिम हुनुहुन्न, आएपछि हामी खबर गर्छौं भनेर सुत्केरी प्रोत्साहन भत्ता नदिई पछाउँथ्यौं। तत्कालै दिन पाएको भए राम्रो हुन्थ्यो, डबल काम गर्दा हामीलाई पनि अलि अप्ठ्यारो भयो,’ उनले भनिन।
अस्पतालको आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा अस्तव्यस्त बनेको जिल्ला अस्पतालप्रति हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको छ। नागरिकले चौबीसै घन्टा ल्याब तथा एक्स–रे सेवा पनि पाउन थालेका छन्। अस्पतालमा औषधि नभएर बारम्बार आउने गुनासाहरु तत्कालका लागि कम भएका छन्।
अस्पतालमा देखिएका समस्यालाई प्राथमिकीकरण गरेर समाधानका लागि पहल गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले बताए। तत्कालका लागि आवश्यक केही औषधि खरिद गरिएको र केही गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिए।
‘अब नियमित रुपमा सुत्केरी प्रोत्साहन बापतको रकम वितरण गरिने छ,’ उनले भने। उनले अस्पतालमा देखिएका समस्या समाधान गर्दै प्युठानी जनतालाई प्रभावकारी सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।