काठमाडौं - नर्भिक अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख मुल्य बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ।
अस्पतालका प्रतिनिधीले मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्। अस्पतालले थ्रीएम एन ९५ मास्क २ हजार थान, सर्जिकल मास्क ४८ हजार थान र व्यक्तिगत सुरक्षा कवज (पिपिई) एक हजार सेट मन्त्रालयलाई दिएको हो।
यी सबै सामग्रीको लागत ६० लाख रुपैयाँ बराबर रहेको अस्पतालले जनाएको छ।
कोभिड १९ नियन्त्रण कोषमा अस्पतालका अध्यक्ष बसन्त चौधरीले ५० लाख नगद र ५० लाख बराबरको मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए। सोही अनुसार अस्पतालले मन्त्रालयलाई मेडिकल सामग्री हस्तान्तरण गरेको हो।
अस्पतालले सरकारको अह्वान अनुसार चैत मसान्तसम्म अस्पतालमा उपचाररत सबै बिरामीको बिल मुल्यमा २० प्रतिशत छुट समेत दिने भएको छ।
अस्पतालले कोभिड १९को नियन्त्रणका लागि छुट्टै फिबर क्लिनिक तथा आइसोलेसन वार्ड समेत स्थापना गरेको छ। उक्त वार्डमा उपचार गराउने विपन्न बिरामीलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष चौधरीले जानकारी दिए।