काठमाडौं- तीन पटक सिजिरियन अर्थात् शल्यक्रियामार्फत प्रसूति गराएकी ९७ किलो तौल भएकी महिलाको नर्भिक अस्पतालमा दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।
काठमाडौंकी ४३ वर्षीया सुनिता श्रेष्ठको वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन एवं टेस्ट ट्युव बेबी विशेषज्ञ डा नुतन शर्माले दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेकी हुन्।
‘सामान्यतः तेस्रो अप्रेसनपछि पेट चिरेर शल्यक्रिया गर्नु निकै कठिन हुने गर्छ, त्यसमा पनि ९७ किलो तौल भएकी महिलाको मोटोपनाका कारण दूरबिनबाट शल्यक्रिया गर्नु अझै कठिन र दुर्लभ हो,’ डा शर्माले भनिन्, ‘तर आधुनिक प्रविधि र दक्षताका कारण नेपालमै हामीले जटिलभन्दा जटिल शल्यक्रिया पनि ल्याप्रोस्कोपी विधिमार्फत गर्न सम्भव बनाएका छौं।’
प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब दूरबिन प्रविधिबाट सम्भव भएको डा शर्माले बताइन्। दूरबिन प्रविधिबाट शल्यक्रिया बिरामीका लागि स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी भए पनि जनचेतनाको अभावका कारण कतिपयले दूरबिनबाट शल्यक्रिया गराउन अझै पनि अप्ठ्यारो मान्ने गरेको डा शर्माको अनुभव छ।
उनले भनिन्, ‘मैले १५ वर्षदेखी स्त्रीरोगसँग सम्बन्धित रोगको उपचार गर्दै आएको छु, तर दूरबिनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ, शल्यक्रियाको अर्काे दिन बिरामी हिँड्न सक्छ, पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने महिना दिनसम्म आराम गर्नुपर्ने आवश्यकता हुँदैन।’
डा शर्माका अनुसार दुई दिनमा अस्पताल बसाइ सकेर बिरामी एक हप्तामा आफ्नो नियमित काममा फर्किन सक्छ। कतिपय बिरामीमा दूरबिनबाट शल्यक्रिया गर्दा पाठेघरको टुक्रा पेटभित्र छुट्ने, पूर्ण रुपमा रोगको उपचार नहुने भन्ने भ्रम रहेको पाइन्छ तर पेट चिरेर गरिनेभन्दा दूरबिनबाट गरिने अप्रेसन कयौं गुणा राम्रो हो, यसमा कुनै खालको जोखिम हुँदैन।
यो शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको डा शर्माको भनाइ छ। हाम्रो आखाले नदेख्ने कतिपय कुरालाई दूरबिनले अझै स्पष्ट गरेर देखाउने भएकाले शल्यक्रियामा दूरबिन प्रविधि सबैभन्दा उत्कृष्ट भएको डा शर्माको भनाइ छ।