काठमाडौं- अस्पतालको लापरबाहीले कोरोना संक्रमित बाबुको मृत्यु भएको भन्दै उनकी छोरीले हालेको रिटमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्दै विपक्षीहरूलाई छलफलमा बोलाएको छ। बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षी बनाइएका सबै सरकारी निकायलाई छलफलका लागि बोलाएको हो।
कोभिड अस्पतालमा मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सीताराम दाहालकी छोरी निलिमा दाहालले उच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्रमा न्यूनतम स्वस्थ्य सुविधासमेत नदिई लापरबाही गर्दा मृत्यु भएको दाबी गरिएको छ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय स्थित कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुरसमेतसँग अदालतले लिखित जवाफ माग गरेको हो।
कोरोना संक्रमण पुष्टि भएपछि दाहाल गत साउन २६ कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका थिए। तर, अस्पताल गई स्वास्थ्य अवस्थाबारे बुझ्दा सामान्य अवस्थामा रहेको भनिएको थियो। साउन २८ गते भेट्दा स्वास्थ्यकर्मीले सोधीखोजी नगर्ने र असामान्य अवस्था हुँदासमेत वास्ता नगरेको भन्दै परिवारले गुनासो गरेका थिए। सोही दिन साँझ उनको मृत्यु भएको घोषणा गरिएको थियो।
परिवारका तर्फबाट छोरीले ‘अस्पतालबाट लापरबाही र आधारभूत स्वास्थ्य उपचारसमेत नदिइँदा आफ्नो बुबाको मृत्यु हुन पुगेकोले दोषी उपर कारबाही माग गरेकी थिइन्। संक्रमण पुष्टि भएका दिदी र आमालाई पनि अस्पतालमा राख्न अनुरोध गर्दा असुरक्षित रुपमा घरमै बस्न बाध्य भएको रिटमा उल्लेख थियो।
५७ वर्षीय दाहाललाई श्वासप्रश्वासमा समस्या हुँदा समेत अक्सिजन तथा भेन्टिलेटर उपलब्ध नगराएको दाबी गरिएको थियो। यस्तै अदालतले हालसम्म कोरोना संक्रमण नियन्त्रणमा भएका प्रसास समेत पेस गर्न सम्बन्धित निकायलाई आदेश जारी गरेको छ।