काठमाडौं- देशका विभिन्न अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा एकएक जना कोरोना संक्रमितको निधन भएको सम्बन्धित अस्तपालहरूले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।
लुम्बिनी अस्पतालमा मृत्यु भएका रुपन्देही देवदह नगरपालिका-६ का ६० वर्षीय पुरुष हुन्। उनमा श्वासप्रश्वासमा समस्या हुने र ज्वरो तथा खोकीका लक्षण देखिएका थिए। उनको २६ गते नै कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। साँझ साढे ५ बजे अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा नै उनको निधन भएको हो। उनी दम तथा छारे रोगका बिरामी थिए।
भरतपुर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित राप्ती नगरपालिका-५ का ६१ वर्षीय पुरुष हुन्। उनमा बिहीबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको आइसीयूमा भर्ना भएका उनलाई २४ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उनको भेन्टिलेटरमा उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको जानकारी अस्पतालले गराएको हो।
बिपी प्रतिष्ठान धरानमा मृत्यु भएका संक्रमित सुनसरी जिल्ला रामधुनी-५ झुम्काका बासिन्दा हुन्। ४३ वर्षीय उनी झुम्का कारागारका कैदी रहेको बताइएको छ। १० दिन यता ज्वरो आएको र २ दिनदेखि खोकी र श्वासप्रश्वासमामा कठिन भएको बताइउको छ।
उनमा कुनै पनि दीर्घरोग नभएको अस्पतालले जनाएको छ। शुक्रबार उनको प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनी शुक्रबार बिहान ११.५४ मा इमर्जेन्सीमा भर्ना भएका थिए। दिउँसो ४.३० मा उनको मृत्यु भएको हो।