आफ्नै सिद्धान्तले बाँधिए पनि अरुका सिद्धान्तबाट स्वतन्त्र मान्छे हुँ म। मेरो सिद्धान्त कसैलाई कम्युनिस्ट झैँ लाग्ला, कसैलाई समाजवाद या कसैलाई पुँजीवाद जस्तै लाग्ला। तर त्यो मेरो नितान्त आफ्नै मान्यतामा बनेको र मेरो बौद्धिकताले उब्जाएको सिद्धान्त हुनेछ र कसैको वाद हैन भनेर बुझे हुन्छ । जबसम्म आफ्नै मौलिक विचार बन्दैन अरुको विचार ल्याएर बनाउन खोज्दा त्यो कि त चोरी हुन्छ कि त त्यसले कसैलाई कसैको अन्धभक्त बनाइदिन्छ।
तर यसो भन्दैमा विचार ग्रहण गर्नुहुन्न भन्ने चाहिँ होइन। इतिहास र वर्तमानका महान व्यक्तित्वहरु जसका विचारले युग परिवर्तन गर्ने क्षमता राख्छन्, तिनबाट राम्रा कुरा मन्थन गरेर लिनु ज्ञानीको नमूना हो । तर सबै महान व्यक्तिले सबै समयको सबै खण्डमा महान कार्य नै गरिरहन्छन् भन्ने कुरा पनि गलत हो । हिन्दु संस्कारले शत्रुमा भएको राम्रो गुण लिन पनि सिकाउँछ र मित्रको खराब गुणलाई बहिस्कार गर्न पनि सिकाउँछ।
संसार बदलिँदो छ तर हामी र हाम्रो सोच भने बदलिन सकेको छैन । यसको सबैभन्दा ठूलो उदाहरण हो हाम्रो अपजसे बानी । जुनसुकै पार्टी वा ठाउँमा बसेर आएको भए पनि जतिसुकै स्वच्छता र आदर्शका गफ गरे पनि नेपालमा कुराजनीति गर्ने पार्टी र दोष थोपर्ने राजनीतिज्ञमात्र देखिन थालेका छन्।
राम्रोलाई राम्रो भन्न आफ्नै पार्टी वा गुटको हुनुपर्ने, अरुको जतिसुकै राम्रो भएपनि नराम्रो नै भन्नुपर्ने अनि कानुनी राज्यको पक्षपोषण गरे झैँ गरे पनि उपहास गर्दै आफ्ना विचार शिघ्र स्खलित गरिहाल्ने बानीले पूराना मात्र होइन, नयाँ पनि ग्रसित छन् । भर्खरै प्रजातन्त्र दिवसको शुभकामना दिँदै एउटा तस्वीरमा रहेका एक व्यापारीलाई भ्रष्टाचारी भनिएको रविन्द्र मिश्रको ट्वीट देख्नासाथ गत चुनावमा साझा विवेकशीललाई दुइटा छाप लगाएका यी हात एकपटक उठाएर हेरेँ । भ्रष्ट आचार त तस्बिरमा खाना ख्वाउनेभन्दा पनि खानेहरुमा बढी थियो । राज्यले बनाएका अनेक नियमन निकाय र स्वयं नेताले नै प्रोत्साहन गरेको स्वास्थको व्यापार गर्ने र व्यापारबाट नाफासँगै सेवाप्रवाह गर्ने दुर्गा प्रसाइँलाई प्रमाण नपुगी भ्रष्टाचारी भन्नु गलत थियो त्यो पनि एक उदियमान पार्टीका संयोजकले।
हुन त ‘चूज द लेस इभिल’ अर्थात् राक्षसमध्ये पनि कम राक्षसी स्वभाव भएकालाई चुन्नु भन्ने सिद्धान्त छ । यसैअनुरुप म एमाले र कांग्रेस अनि अन्य पार्टीभन्दा विवेकशील साझालाई ‘कम राक्षसी’ ठानेर अझै समर्थन नै गर्छु । एमाले नेता केपी ओलीले भारतले गरेको नाकाबन्दीको सामनाको मुक्त कण्ठले प्रसंशा गर्ने म, केपी ओलीले राज्यको ढुकुटीबाट पैसा लगेको र उपचार गरेको कुरालाई भने भ्रष्टाचार र मगन्ते प्रवृति भन्छु । राम्रोलाई राम्रो भन्न प्रमाण चाहिन्न । तर नराम्रोलाई नराम्रो भन्न प्रमाण चाहिन्छ । किन कि हजारौं राम्रो गर्नेको इज्जत एउटा नराम्रोले उडाएर लगिदिन्छ । जीवनभर कमाएको मानसम्मान एउटा नैतिक विचलनले विचलित बनाइदिन्छ । मानवीय प्रवृत्ति नै हो कि त्यो व्यक्तिको हजारौं राम्रा गुण त्यो एउटा अवगुणले बिर्साइदिन्छ । लिबियामा अमेरिकाले गद्दाफीलाई मार्दा यस्तै हजारौं गुणको बदला एउटा अवगुणलाई प्रयोग गरेको उदाहरण छँदैछ।
त्यस्तै हजारौं गुणका धनी व्यक्ति हुन् डा. गोविन्द केसी । पछिल्लो समय मेडिकल कलेज र भर्ना प्रक्रियामा हुने बेथितिलाई परास्त गर्न पटकपटक आमरण अनशन बसेका डा. केसीलाई साधारण जनतादेखि बौद्धिक व्यक्तित्वसम्मको असाधारण समर्थन हुनुले केसीको सत्याग्रह पुष्टि गर्छ । तर पछिल्लो समय जब केसीेले प्रधानन्यायाधीशमाथि धावा बोले, उनको सत्याग्रहले कोल्टे फे¥यो । अनि मेडिकल मुद्दाबाट विषय न्यायालयको भ्रष्टाचारमा पुग्यो ।
केसीले चिकित्सक भएको नाताले आफ्नै पेशागत सुरक्षा, सम्मानित तलब र उचित कार्य समयका विषयमा ऐक्यबद्धता जनाएको भएमात्र पनि सर्वसाधारणले उनका मागलाई विचारणीय मुद्दा भनेर स्वीकार गर्ने र ती माग सरकारबाट सम्बोधन गर्न दबाब सृजना हुने अपेक्षा धेरै चिकित्सकले गरेका थिए । तर जब केसीको सत्याग्रह न्यायालयतिर ढल्कियो, तब चिकित्सकका माग केसीका लागि महत्वपूर्ण थिएन भन्ने भान भयो । चिकित्सकहरुको समाज केसीका लागि घर भएको विश्वास अझै पनि भएकाले र धेरै चिकित्सकका आदर्श पात्र भएकाले केसीको आन्दोलनले लिएको नयाँ मोडमा पनि धेरैले समर्थन गरे । तर केही भने चिकित्साको बाटोबाट भड्किएको आन्दोलनमा समर्थन गर्नबाट पछि हटे र केही पर्ख र हेरको सोचमा अडिए।
भ्रष्टाचारले आजित जनताका लागि प्रधानन्यायाधीशविरुद्ध केसीले ठड्याएको औँला न्यायालयको फोहोरी खेलाडीलाई तेस्र्याएको बन्दुकको नालभन्दा कम थिएन । जसले गर्दा सर्वसाधारणले केसीको औँलासँगै आफ्ना औंलाले पनि प्रधानन्यायाधीशलाई ताके । मामिला तातेर अघि बढ्यो । केसीलाई अनशनस्थलबाटै पक्राउ गर्दा जनमानसमा सत्यको घाँटी निमोठिएमा एकाएक आक्रोश बढ्यो । गोविन्द केसीले देशको न्यायालय सुधार्ने जमर्को गर्नु र त्यसको समर्थनमा हजारौं रविन्द्र मिश्र, गगन थापासहित माइतीघरमा प्रदर्शनमा आउनुले उनी कति प्रभावशाली र कति रुचाइएका छन् भन्ने कुराको दृष्टान्त प्रस्तुत ग¥यो । तर यो प्रदर्शनमा उनको आफ्नै घरका सदस्य अर्थात् चिकित्सकहरु पछिल्ला आन्दोलनमा भन्दा न्यून रूपमा उपस्थित भए।
धेरैले आफ्नो समाज र विषयको क्षेत्रमा भएका समस्या समाधानमा चुइँक्क नबोल्नु अनि अन्य विषयमा चै बोलिहाल्नुले उनी कतै लोकप्रियताको जालमा आफैं फसेका त होइनन् भन्ने झैँ भयो । पटकपटक चिकित्सक र अन्य स्वास्थकर्मीमाथि हमला हुँदा नबोल्ने केसी एकाएक भ्रष्टाचार र न्यायालयका प्रमुखको जन्ममिति र सर्टिफिकेटविरुद्ध खन्निनुले धेरै चिकित्सकलाई निरुत्साहित बनायो जसको उदाहरण म आफैं नै थिएँ।
मेरा सहकर्मी चिकित्सकहरुले ‘डाक्टर केसीले हाम्रो सुरक्षा र तलबको कुरा उठाइदिए नि हुने नि’ भन्दा म उत्तर दिन्थें, ‘कहाँ बुढाको चिकित्सा शिक्षा सुधारको आन्दोलन त्यति व्यापक छ त्यो निचोडमा पु¥याउने अभियानमा लागेका मान्छेले हाम्रा साना मागमा बोलिदिने होइन, हाम्रा माग हामी नै उठाउनु पर्छ, सबै केसीको भर परेर हुन्छ ।’ मेरो यो उत्तरले केसीको आन्दोलनमा चिकित्सकहरुको तलब र सुविधाका मागको विषय आउनु हुन्न र उनलाई यसबारे अनावश्यक दबाब दिनुहुन्न भन्ने कुरा स्पष्ट थियो । तर जब आन्दोलनले न्यायालयको बाटो पक्रेर प्रधानन्यायाधीशको राजीनामासम्म पुग्यो तब मलाई ‘किन नहुनु समय, इच्छा नै पो नभएको रैछ चिकित्सकको दुःखका विषयमा बोल्ने’ झैँ भान भयो । तर त्यो शंकाका बाबजुद पनि म केसीलाई समर्थन गर्न लागिरहें।
म यति धेरै केसीलाई समर्थन गर्थें कि मैले पराजुलीलाई मन नपराउनुको कारण उनी नराम्रा भएर हैन केसीले उनलाई नराम्रो भनेर थियो । जसरी हामी जनता आफ्ना पार्टीका नेताले अर्को पार्टीलाई गाली गर्दा बिनाकारण अर्को पार्टीका व्यक्तिलाई नराम्रो देख्छौँ, मलाई पनि त्यस्तै भयो । उदाहरणका लागि त्यही माओवादीलाई केपी ओलीले मनपरी भन्दा त्यसलाई देखिनसहने तर त्यही माओवादीलाई केपीले पार्टीमा ल्याउँदा अब त्यही प्यारो हुने । हामी पछि पर्नुको कारण हामी जनताका आफ्नै विचार र सिद्धान्त नहुनुले हो । आफ्ना सिद्धान्तहरु पार्टीको विधानमा खोज्ने, नेपालीहरु चुनाव अघि राम्रा जिताउने भनेर बुथमा गएर उहिलेकै भ्रष्ट र विकासको ‘ब’ नि नगर्ने नेतालाई छाप हान्ने परिपाटी नौलो हैन । त्यसको उदाहरण मेरो क्षेत्र इलाम १ बाट झलनाथ खनालले फेरि जित्नु पनि हो । गोविन्द केसीको विषयमा यी कुरा घुसाउनुको कारण हो अन्धभक्ति र आफ्नाको आचीलाई छि भन्न नसक्ने तर अर्काको भातलाई छ्या भन्ने प्रचलन।
गल्तीलाई गल्ती भन्न नैतिकता चाहिन्छ । जब नैतिकताको पाठ सिकाउने मान्छे नै त्यसबाट विमुख हुन्छ उसलाई ठेगानमा ल्याउने काम उसका समर्थकको हुन्छ । प्रधानन्यायाधीशले ५ वटा जन्ममितिको दुरुपयोग गरेको कुराको चौतर्फी विरोध भएको धेरै दिन पछि तेरो जन्ममिति कीर्ते गरिस् भनेर कठघरामा आवाज बुलन्द गर्ने र आफू बहादुर र नैतिकवान भएको अर्को उदाहरण दिने केसीको पनि पत्रिकामार्फत् तीनवटा जन्ममिति भएको कुरा बाहिर आउनुले सारा देश अचम्मित भयो । धेरै तीनछक्क परे । अनि केसीको आन्दोलनलाई केही समय मनमनै पर्ख र हेर भनेर बसेकाहरुमा झन् द्विविधा उत्पन्न गरिदियो । केसीको समर्थन गर्ने धेरैले आज आएर केसीले चै गल्ती गरेको हैन उनको त दुर्भाग्यवश यस्तो भएको भने।
केसी भलाद्मी र असल चरित्रका भएका कारण धेरैले उनलाई दोषी देखेनन् । अदालतले पनि कुनै मुद्दामा केही प्रमाण नहुँदा व्यक्तिको पुरानो रेकर्ड हेरेर छुट दिन्छ तर केसी यस्तो मुद्दामा परे जुन मुद्दामा उनले स्वयं अदालतलाई नै अपराधी बनाएका थिए । कता–कता आएको केसी र पराजुलीको पूरानो सम्बन्धको हल्लाले शंका उब्जाइदियो कतै उनीहरु बीचको व्यक्तिगत प्रतिशोधले त यो घटनाक्रम भएको हैन ? के केसीले अरुलाई औँला उठाउनुभन्दा अगाडि नै आफ्ना जन्ममितिका बारेमा भन्नुपर्ने थिएन ? नैतिकतामा प्रश्न आउने गरि पर्खिनुभन्दा नैतिकवान बन्दै पहिले नै तीन वटा जन्ममिति भएको बताइदिएको भए हुँदैनथ्यो ? दुइवटासम्म दुर्भाग्यपूर्ण र गल्तीले भएको हुनुपर्ने, तर तीनवटाले त शंका पैदा गरेन र ? कतार जाने मेरै गाउँको गोविन्द कट्टेल भन्ने दाइले जागिरबाट फर्किएर नेपाल आएर व्यक्ति एउटै हो भनेर सिफारिस निकाल्न परेको मुस्किलको सम्झना अझै छ मलाई ।
तर यहाँ देशको सरकारी सुविधामा पढ्नेदेखि कमाउनेसम्म गर्ने डाक्टर केसीलाई तीनवटा जन्ममितिले किन मुस्किलमा पारेन अचम्म छ । यो त विश्वविद्यालयका रजिस्ट्रारदेखि क्याम्पसको लेखासम्मको दोष पो देखियो ।
एउटा कथा भन्न मन लाग्यो ।
राम र श्याम भन्ने साथी थिए । उनीहरु दुवैले अनुमतिपत्र बिना बन्दुक घरमा रखेछन् । एक दिन रामले त्यो बन्दुकले गैंडा मारेछ । अनि श्यामले प्रहरीलाई पोल लगाइदिएछ, ‘रामले गैरकानुनी रूपमा लाइसेन्स नभएको बन्दुक राखेको छ, उसले गैंडा मा¥यो, पक्राउ गरेर कार्वाही गर्नुप¥यो, त्यो राम फटाहा छ ।’ रामले चै गैंडा मारेको हैन भनेर प्रहरी चौकी जान अटेर गरेछ ।
केही समयपछि प्रहरीले खोज्दै जाँदा श्यामको घरमा पनि अनुमतिपत्र बिनाको बन्दुक भएको सुराक पाएछ । अनि श्यामले भनेछ, ‘मसँग पनि गैरकानुनी बन्दुक छ तर केही मारेको त छैन नि मैले अनुमतिपत्र पत्र बिनाको बन्दुक छ तर मैले चै गैरकानुनी केही गरेको छैन, राख्दा कसैलाई असर गरेको छ र ? राम पो बन्दुक राखेर पड्काएर हिँड्छ । मेरो खोखा हेर त जस्ताको तस्तै छ । सक्छ भने रामले नि खोखा सार्वजनिक गरेर देखाओस् न त । मेरो त एउटा मात्र यस्तो बन्दुक त हो नि रामको त ३–४ वटा छ ।’
अनि गाउँका केही मान्छे श्याम त दोषी हैन श्यामले त गैरकानुनी रूपमा झुक्किएर पो बन्दुक राखेको त, उसको त जायज छ नि भनेर हल्ला गर्दा रहेछन्।
कथाको निचोड आफैं निकाल्नु होला, मचाहिँ बाँकी लेख्दै जाउँला, आजलाई यत्ति ।
सिङ्फृङ सामुदायिक अस्पताल, इलाम