मानिसको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताललगायतका स्वास्थ्य सेवा प्रदायकहरु अत्यन्तै संवेदनशील क्षेत्र हुन् । उच्च गुणस्तरको सेवा प्रवाह आवश्यकताका रुपमा खट्किएको कुरा आजको यथार्थ हो। चिकित्सकीय चुस्तता, प्राविधिकको कामप्रतिको इमान्दारिताका साथै अस्पतालको चुस्त व्यवस्थापनले सेवाप्रवाहमा अहम् भूमिका निर्वाह गरेको हुन्छ।
अस्पतालको गेटबाट प्रवेश गरेपश्चात सेवा पाएर नफर्किएसम्म बिरामीले सुलभ तथा गुणस्तरीय सेवा पाउन अस्पतालको व्यवस्थापन चुस्त रहनु जरुरी रहन्छ । संख्यात्मक रुपमा नेपालमा सरकारी तथा निजी अस्पतालको संख्या विगत दुई दशकमा आशातित रुपमा वृद्धि भएको पाइन्छ। स्वास्थ्य सेवाप्रदायकको संख्यामा वृद्धि भए पनि नेपालमा ती क्षेत्रलाई नियमन गर्न कुनै ऐन बनेको छैन । स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतीसम्बन्धी निर्देशिका जारी भए पनि यसको पूर्ण कार्यान्वयन भएको पाइदैंन । साथै यसमा धेरै कुरा अव्यवहारिक भएको टिकाटिप्पणी समय समयमा आउने गरेको छ।
यो निर्देशिकाबाट निजी लगानीमा संचालित अस्पताललाई मात्र नियमन भइरहेको छ, सरकारी अस्पतालको हकमा यो निर्देशिकाको कुनै अंश पनि कार्यान्वयन भएको पाइदैंन । आम जनमानसमा अस्पतालप्रति विश्वास कम हुँदै गइरहेको छ । हालैको डोटी घटना तथा यसभन्दा अघिका कैयन घटनाले मानिसमा अस्पताल तथा अस्पतालका कर्मचारीको व्यवहारप्रति वितृष्णा पैदा भइरहेको महसुस गर्न सकिन्छ । चुस्त व्यवस्थापन सबै अस्पतालहरुको अपरिहार्य आवश्यकता भएको कुरालाई सबै पक्षले हृदयांगम गर्नु जरुरी छ । सही व्यक्ति सही पदमा तथा सही समयमा राखिएमा सो संस्थाको कार्यप्रवाहमा कायापलट हुनसक्ने कुरालाई कसैले नकार्न सक्दैन।
नेपालमा एक दशकभन्दा बढी समयदेखि पोखरा विश्वविद्यालयले अस्पताल व्यवस्थापनसम्बन्धी स्नातक तथा स्नातकोत्तर विषयमा अध्यापन गराइहेको छ । यो विषय अध्ययन गरेर धेरै दक्ष जनशक्ति उत्पादन भएको हालको परिस्थितिमा तिनलाई कसरी व्यवस्थापन गर्ने विषयमा नेपाल सरकारका नीति निर्माता तथा सरोकारवालाहरुको ध्यान यसतर्फ गएको पाइदैंन । अस्पतालको चुस्त व्यवस्थापनविना सेवा गुणस्तर हुन सक्दैन भन्ने यथार्थलाई नीति निर्मार्ताले महसुस गरेको पाइदैंन।
विदेशका अस्पतालहरुको व्यवस्थापनमा यही विषय अध्ययन गरेका दक्ष जनशक्तिकै दरबन्दी सिर्जना गरेर पदपूर्ति गरेको पाइन्छ । विश्वविद्यालय जनशक्ति उत्पादन गर्ने भट्टीको रुपमा जनशक्ति उत्पादन गर्दैछ । त्यहाँबाट उत्पादित जनशक्ति कहाँ खपत होलान्, कसरी खपत होलान् भन्ने विषयमा विश्वविद्यालय प्रशासनलाई कुनै सरोकार छैन । सो विषय अध्यापन गराउने क्लेजहरुलाई विद्यार्थी लिएर व्यवसाय गर्न पुगेको छ । तर नीतिनिर्माताहरुको ध्यान आकृष्ट गराउने कार्य कहीँ कतैबाट भएको पाइन्दैन । विडम्बना यस विषयमा दीक्षित धेरै दक्ष जनशक्ति विदेशिन बाध्य छन । निजी क्षेत्रबाट संचालित केही अस्पतालले अस्पताल व्यवस्थापनमा दीक्षित जनशक्ति राखेर आफनो व्यवस्थापनमा चुस्तता ल्याएको उदाहरण नेपालमै प्रशस्तै छ।
सरकारी अस्पतालबाट सेवा गुणस्तरीय भएन भन्ने गुनासो सबै पक्षबाट आउछ । के–कति कारणले यसको सेवामा चुस्तता आउन नसकेको हो भन्नेतर्फ कसैको ध्यान पुगेको पाइदैंन । उपकरण खरिद घोटालाको कुरा कर्मचारी प्रशासन चुस्तताको अभाव र अन्य व्यवस्थापकीय कमजोरीका कारण आउने हुन् । सरकारी अस्पतालमा दक्ष चिकित्सक वा दक्ष प्राविधिकको कमी छैन । सायद त्यहाँजत्तिको दक्ष चिकित्सक तथा प्राविधिक कर्मचारी हामी सायदै अन्यत्र पाउन सक्छौं । तर बिरामीले भनेको समयमा सेवा पाउँदैनन्। पाइहाले पनि गुणस्तरीय सेवा नपाएको गुनासो आउने गरेको छ । यसको सुधारका लागि के गर्नुपर्छ ? ध्यान जानु जरुरी छ।
अनुभवी चिकित्सक तथा प्राविधिक हुँदासमेत के–कति कारणले त्यहाँबाट राम्रो सेवा प्रवाह भइरहेको छैन खोजी हुनुपर्छ । यसको एउटा कारण अस्पताल व्यवस्थापनको चुस्ततामा कमी पनि हुन सक्छ । नेपालमा लोक सेवा आयोगले हालसम्म स्वास्थ्य सेवा वा अस्पताल व्यवस्थापन विषयलाई मान्यता दिएको छैन । हजारौंको संख्यामा अस्पताल व्यवस्थापन चलाउने दक्ष जनशक्ति उत्पादन भएर खेर गइरहँदासमेत लोक सेवा आयोगले यो विषयलाई मान्यता नदिनु तथा पद व्यवस्थापन नगर्नु खेदपूर्ण तथा तितो यथार्थ बनेको छ । सरकारी अस्पतालको व्यवस्थापनमा यस्ता दक्ष जनशक्तिको व्यवस्था गर्ने हो भने केही न केही पक्कै सुधार हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न तथा नेपालको सरकारी तथा निजी क्षेत्रको सेवाप्रवाहमा गुणस्तर ल्याउन अस्पताल व्यवस्थापनका दक्ष जनशक्तिको पदपूर्ति हुनु जरुरी छ।
देश संघीयतामा गएको छ । स्वास्थ्य सेवा सबै नागरिकको मौलिक हकका रुपमा संविधानमासमेत उल्लेख छ । तर सबै नागरिकको अस्पताल तथा स्वास्थ्य संस्थामा पहुँच छैन । सरकारी अस्पतालमासमेत जनताले पाउनुपर्ने आधारभूत सेवा छैन । भएकोमा समेत राम्रो व्यवस्थापन छैन । यदि सरकारी अस्पतालबाट हुने सेवा गुणस्तरीय हुन सक्यो भने पैसा खर्च गर्ने मात्र निजी अस्पताल जाने परिपाटी हट्थ्यो । न्यून आर्थिक अवस्था भएका नागरिक पनि अस्पताल जाने वातावरण बन्थ्यो । सरकारी अस्पतालको बेथिति रोक्न र उत्पादित जनशक्ति व्यवस्थापनका लागि सरकार तथा नीति निर्माताको ध्यान जानु जरुरी छ।
(मैनाली आरके चिल्ड्रेन्स हस्पिटल प्रालि विराटनगर, मोरङका अस्पताल प्रबन्धक हुन्)