काठमाडौँका रोशन तिवारीलाई सानोमा आैंला चुसेर निदाउने, खेल्ने बानी थियो । उनको औँला चुस्ने बानीले ठूलो रुप निम्त्याउला भनेर बाबुआमाले पनि सोचेका थिएनन् । स्कुल जान थालेपछि बानी हट्ला भनेर परिवारका सदस्यले त्यति महत्व दिएनन् । तर, स्कुल जान थालेपछि पनि बानी हटेन । बरु उनका औंला बिस्तारै सुक्दै जान थालेपछि बाबुआमा चिन्तित हुन थाले।
सुरु–सुरुमा शिक्षकहरुले पनि उनको बानीलाई वास्ता गरेनन् । नयाँ ठाउँ भएर चुसेको होला, स्कुलको वातावरणमा घुलमिल भएपछि आँैला चुस्ने बानी हट्दै जान्छ भन्ने सोचे । तर भर्ना भएको दुई वर्षसम्म पनि औंला चुस्ने बानी नगएपछि शिक्षकले रोशनको आमाबुबालाई बोलाएर कुराकानी गरे । त्यसपछि मात्र रोशनका आमाबुबालाई आँैला चुस्ने बानी ठूलै समस्या रहेछ भन्ने थाहा भयो । रोशनलाई अस्पताल लैजाँदासम्म एउटा औंला सुकेर सानो भैसकेको थियो।
सामान्यतः बालबालिकाहरु भर्खर स्कुल भर्ना भएको बेला वातावरण फरक पाएर औँला चुस्ने गर्छन् । तर परिवारमा सोधपुध गदै जाँदा रोशनकी आमाको दुध नआएर उनको सानै उमेरदेखि औंला चुस्ने बानी भएको रहेछ । यो बानी जति उपाय अपनाउँदा पनि हटेको थिएन । परिवारले रोशनको औँलामा टेप लगाइदिँदा पनि अर्को औँला चुस्न थाले । तर पनि बानी छुटेन ।
किन चुस्छन् बालबालिकाले औंला ?
यो व्यवहारिक रुपमा आउने समस्या हो । खासगरी, सानो उमेरमा आमाको दूध खान नपाएका बच्चाहरुमा आँैला चुस्ने बानी हुन्छ । रोशनको जस्तै सानो उमेरमा औंला चुस्ने बानीलाई बाबुआमाले समस्याको रुपमा लिँदैंनन् । औंला चुस्ने बच्चाले धेरै झगडा गर्दैन भन्ने मान्यता छ हाम्रो समाजमा । बच्चाको व्यवहार कस्तो हुने भन्ने कुरा परिवारका सदस्यसंग प्रत्यक्ष सम्बन्ध राख्छ । धेरैजसो अवस्थामा बाबुआमाको लापरवाहीले गर्दा यस्तो समस्या निम्तिएको हुन्छ ।
त्यसैले बच्चाको व्यवहार परिवर्तन गर्न निम्न कुरामा ध्यान दिनुपर्छ :
सकेसम्म त समस्या निम्तन नदिनु नै बुद्धिमानी मानिन्छ । ठुलो भइसकेको बच्चालाई आमाको दुध चुसाएर बानी हटाउने कुरा आउँदैन । त्यसैले सानो बेलामा राम्रोसँग आमको दूध चुसायो भने यो समस्या आउँदैंन।
चुस्ने औंलामा टेप लगाउने एक उपाय भएपनि यो समस्याको समाधान भने होइन ।
साथीहरुसँग घुलमिल गराएर शारीरिक अभ्यास हुने खालका खेल खेल्न लगाएर सम्झाउँदैं बिस्तारै छुटाउन सकिन्छ ।
फुर्सदमा चित्र बनाउन लगाउने या कुनै न कुनै काम गर्न लगाउने हो भने पनि बानी छुटाउन सकिन्छ ।
यस्तो बानी भएका बच्चालाई जिस्क्याउनु हुन्न । आमाबुबा, शिक्षकहरुले उनीहरुको व्यवहार परिवर्तन गर्न सहयोग गर्नुपर्छ ।
व्यवहार परिवर्तन गर्न समय लाग्छ । औषधि खाएर एकैछिनमा निको हुनेजस्तो समस्या होइन यो । सम्झाएर या उसलाई विभिन्न क्रियाकलापमा संलग्न गराएर बिस्तारै हटाउन सकिन्छ ।
बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चामा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा ठूलो भएपछि यो समस्या हटेको हुन्न । त्यसैले बच्चालाई आमाको दूध खान दिई औंला चुस्ने अवस्था आउन नदिन परिवार र बाबुआमाले ख्याल गर्नु जरुरी छ ।