आर्थिक अभाव भोगिरहेका मानिसले पनि स्वास्थ्योपचार गर्न पाउने व्यवस्था सहितको महत्वाकांक्षी कार्यक्रम अन्तर्गत पर्छ ‘स्वास्थ्य बीमा कार्यक्रम’ । अर्थात्, सानो रकम योगदान गरेर ठूला स्वास्थ्य समस्याबाट पनि पार पाउन बीमा कार्यक्रम उपयोगी छ।
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३५ मा ‘स्वास्थ्य सम्बन्धी हक’ राखिएको छ । साथै धारा ५१ को ‘ज’ मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति उल्लेख गरिएको छ । जस अन्तर्गत ६ नम्बर बुँदामा ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने’ उल्लेख गरिएको छ । सोही नीतिको बुँदा १५ मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ उल्लेख गरिएको छ ।
नेपालको संविधानमै उल्लेख गरी सबै नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सन् १९७६ मा पाटन अस्पतालबाट ललितपुरमा औपचारिक रुपमा शुरु गरिएको इतिहास छ । सरकारी स्तरमा भने सन् २००३ देखि देशका विभिन्न ६ स्थानमा सामुदायिक स्वास्थ्य बीमा कार्यक्रमका रुपमा सञ्चालनमा आएको हो।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली, २०७२ अनुसार तत्कालीन रुपमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्पmत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम २०७४ कात्तिक १ मा स्वास्थ्य बीमा ऐन प्रमाणीकरणपछि हाल स्वास्थ्य बीमा बोर्डमार्पmत सञ्चालित छ ।
आर्थिक वर्ष २०७४÷७५ मा ३९ जिल्लामा लागू गर्ने योजना रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी ३ वर्षभित्र नेपालभरि बिस्तार गर्ने लक्ष्य राखिएको छ ।
सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित राष्ट्रकोे सूचीबाट हटाई मध्यम आय भएको विकासशील मुलुकको सूचीमा सूचीकृत गर्न सहयोग पुर्याउने आशा गरिएको यस कार्यक्रमले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य (एसडिजी) हासिल गर्ने उद्देश्य छ ।
आमनेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन सोच बोकेको यो कार्यक्रमको उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो । आर्थिक कठिनाइबिना नै कुनै पनि स्वास्थ्य समस्यामा चिकित्सकको परामर्श, प्रविधियुक्त आधुनिक उपकरणद्वारा स्वास्थ्य परीक्षण र आवश्यक औषधिको उपलब्धता नै स्वास्थ्य बीमा कार्यक्रमका सेवा स्तम्भ हुन् ।
जनताको पक्षमा दीर्घकालीन लक्ष्य लिइए पनि बीमा कार्यक्रम सुरुवातसँगै यसका चुनौती र सम्भावना सँगसँगै देखापरेका छन् ।
यस्ता छन् बीमा कार्यक्रमका चुनौती
१. स्वास्थ्य सेवा विस्तार
हाल कार्यक्रममा समावेश गरिएका १ सय ६० थरिका अन्तरंग सेवा र ९ सय २८ थरिका औषधिका साथसाथै अन्य सबै खालका सेवा र औषधि पनि समावेश गर्नुपर्ने हुन्छ । यसलाई चुनौतीका रुपमा हेर्न सकिन्छ ।
२.सेवाप्रदायक संस्था विस्तार
हाल स्वास्थ्य बीमाका लागि सूचीकृत भएका अस्पताल तथा स्वास्थ्य संस्थाबाट मात्र यो सेवा लिन सकिन्छ । अब हरेक भूगोलमा बसेका जनताले सबै अस्पताल तथा हरेक खालका स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमाको सेवा लिन पाउने व्यवस्था गर्नुपर्छ । यो पनि अर्को चुनौतीको पाटो हो ।
३. दाबी र भुक्तानीमा वैज्ञानिकीकरण
एकातिर सबैखाले स्वास्थ्य संस्था सेवामा सूचीकृत गर्नुपर्नेछ भने अर्कोतिर सेवाप्रदायक संस्थाले गर्ने दाबी र त्यससम्बन्धी गरिने भुक्तानी समेत तथ्यपरक, वैज्ञानिक, स्वचालित र झन्झटरहित बनाउनुपर्ने हुन्छ । दाबी र भुक्तानीलाई वैज्ञानिक र पारदर्शी बनाउनु चुनौतीपूर्ण छ ।
४. निजी संस्थालाई सामेल
हालसम्म सरकारी संयन्त्रमार्पmत स्वास्थ्य बीमाको कार्यक्रम अगाडि बढेको छ । सेवाको प्रभावकारिताका लागि निजी स्वास्थ्य संस्थालाई पनि सूचीकृत गर्नुपर्ने अवस्था आउनेछ । कार्यक्रमको मर्मअनुरुप निजी संस्थासँग साझेदारी र विश्वासको वातावरण बनाउने कुरा अर्को महत्वपूर्ण चुनौती हो ।
५.सेवाको गुणस्तर कायम
योगदान रकममा आधारित सेवा भएकाले हरेक नागरिकले स्वभाविक रुपमा आफूले प्राप्त गर्ने सेवाको गुणस्तर राम्रो होस् भन्ने चाहन्छ । अहिलेसम्म पनि सरकारी स्वास्थ्य संस्थाले प्रदान गर्नुपर्ने सेवाको गुणस्तरमा अनेकन प्रश्न उठ्ने गरेका छन् । यो यथार्थलाई चिर्दै सेवाको गुणस्तर अभिवृद्धि गर्नु चुनौतीको विषय हुन सक्छ ।
६.संघीय ढाँचामा व्यवस्थापन
हालसम्म स्वास्थ्य बीमा कार्यक्रम पूर्णतः केन्द्रीकृत ढाँचामा सञ्चालित छ । बदलिएको परिवेशअनुसार संघीय, प्रादेशिक र स्थानीय निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नु अर्को चुनौती हुन सक्छ ।
७. कार्यक्रमको दीगोपना
विभिन्न अभाव, अव्यवस्था र संक्रमणका बाबजुद अगाडि बढेको यो कार्यक्रम केही जिल्लामा मात्र लागू भएको छ । थोरै योगदान रकमका आधारमा धेरै सेवा दिनुपर्ने वस्तुगत आवश्यकता छ । तसर्थ आर्थिक एवं व्यवस्थापकीय रुपमा जटिलता हुन सक्ने कारणले सबै जिल्लाका स्वास्थ्य संस्थामा सहज रुपमा कार्यक्रम सञ्चालन गर्न र परिस्कृत गर्दै दीगोरुपमा अगाडि बढाउन चुनौतीपूर्ण छ ।
८.सूचना प्रविधिमैत्री सहज सेवा
हालसम्म सामान्य प्रविधिको प्रयोगबाट स्वास्थ्य बीमा सम्बन्धी कामकारबाही अगाडि बढेको छ । पूर्णतः केन्द्रीकृत पद्दतिअनुरुप बिमितको लगत तथा दाबी, भुक्तानी र सो सम्बन्धी मोबाइलको सानो फोटोलाई आधार बनाएर दाबी मूल्यांकन गरिँदै आएको छ । यस्तो अवस्थाबाट पृष्ठपोषण लिँदै पूर्णतः सूचना प्रविधिमैत्री सेवा प्रदान गर्नु अर्को चुनौती हुन सक्छ ।
९.सबै वर्ग र तहका जनता समेट्नु
अहिलेसम्म बिमितको प्रति पाँच सदस्यीय परिवारले ५० हजार रुपैयाँ बराबरको तोकिएको सेवा मात्र पाउने प्रावधान छ । सेवा प्राप्त गर्ने ठाउँ पनि निश्चित छन् । मध्यम तथा उच्च आय भएका समाजका प्रतिष्ठित मानिएका व्यक्तिलाई यो कार्यक्रमले समेट्न सकिरहेको छैन । जुन पक्ष कार्यक्रमको दीगोपनसँग जोडिन आउँछ । तसर्थ सेवाको सीमा बढाउँदै सवै वर्ग र तहका जनतालाई यो कार्यक्रममा आबद्ध गराउनु पनि चुनौती बन्न सक्छ ।
स्वास्थ्य बीमा कार्यक्रमका सम्भावना
१.स्वास्थ्य सूचकमा प्रगति
स्वास्थ्य सेवा सहज र सुलभ बन्दै गर्दा विभिन्न उमेर समूहका नागरिकको मृत्युदर (जस्तै शिशु, बाल, मातृ मृत्युदर आदि) घटेर अपेक्षित आयु बढ्छ । स्वस्थ जनसंख्याको प्रतिशत उच्च हुन्छ र स्वास्थ्यका अनेकन् सूचकमा प्रगति हुन्छ ।
२.सरकारी स्वास्थ्य संस्थाको गुणस्तर वृद्धि
स्वास्थ्य बीमा कार्यक्रम मार्पmत बिमितले उपचार सेवा प्राप्त गरेपछि दाबी गरिएको रकम निश्चित प्रक्रिया र मूल्यांकनपछि भुक्तानी गरिन्छ । जसले स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण, उपकरण खरिद आदि गर्न सकिन्छ । साथै, सेवामा स्वस्थ प्रतिस्पर्धा भई संस्थाको स्तर र सेवाको गुणस्तर समेत बढाउनुपर्ने स्थिति आउन सक्छ । यसले अन्ततः स्वास्थ्य संस्थाको गुणस्तरमै वृद्धि गर्छ ।
३.राज्यको स्वास्थ्य क्षेत्रको व्ययभार कम
राज्यले जनताको स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । राज्यले गर्भवती महिला, शिशु स्वास्थ्य, जेष्ठ नागरिक, मुटु, मिर्गौला आदि रोगसँग सम्बन्धित बिरामीका लागि सामाजिक सेवा इकाइमार्पmत निःशुल्क सेवा प्रदान गरिरहेको छ । जब सबै नागरिक स्वास्थ्य बीमामा आबद्ध हुन्छन्, तब तत्तत् सेवा पनि यही कार्यक्रमबाट पाइने भएकाले राज्यको स्वास्थ्य क्षेत्रको व्ययभार कम हुन्छ ।
४.स्वास्थ्य सेवामा सबैको पहुँच
हाल धनी र हुनेखानेका लागि मात्र गुणस्तरी स्वास्थ्य सेवामा पहुँच छ । बीमा कार्यक्रम भने गरिब, असहाय, विपन्न नागरिकलाई केन्द्रमा राखेर शुरुवात गरिएकाले उक्त वर्गको पनि स्वास्थ्य सेवामा पहुँच बढ्नेछ । सबैखाले जनतालाई सबैखाले स्वास्थ्य सेवा, स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने नीति रहेका कारण सबै वर्गका जनताको स्वास्थ्य सेवामा पहुँच बढ्ने सम्भावना छ ।
५.सेवाको गुणस्तर वृद्धि
बीमा कार्यक्रमले सेवाप्रदायक संस्थाबाट सेवा किन्ने र त्यसबापतको मूल्य भुक्तानी गर्छ । आफ्नो संस्थाको सेवा बिमितले किन्न चाहने खालको बनाउनु हरेक सूचीकृत स्वास्थ्य संस्थाको दायित्व मात्र होइन वाध्यता पनि हुन आउँछ । सेवाप्रदायक संस्थाबीच एकखालको स्वस्थ प्रतिस्पर्धा भई समग्र सेवाको गुणस्तर अभिवृद्धि हुने सम्भावना रहन्छ ।
६. स्वास्थ्यप्रतिको सचेतनामा वृद्धि
हरेक वर्गका जनता यो कार्यक्रमको सदस्य बनेपछि सानो समस्यामा पनि सचेत भई परामर्श तथा परीक्षण गरौं भन्ने भाव विकास हुन्छ । यसले एकातिर बेलैमा रोगको उपचार हुन्छ भने अर्कोतिर सबै नागरिकले आफ्नो स्वास्थ्यलाई चासोपूर्वक हेर्ने अवस्था बन्छ । अन्ततः स्वास्थ्यप्रतिको सचेतना छोटो समयमै अभिवृद्धि हुने सम्भावना छ ।
७.स्वास्थोपचारको आकर्षक गन्तव्य
स्वास्थ्य प्रदायक संस्थाको स्तर वृद्धि भई स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धानका काम शुरु भएपछि स्वास्थ्य क्षेत्रको गुणात्मक विकास हुन्छ । विश्वव्यापीकरणको अवधारणाबाट नेपालले पनि फाइदा लिन सक्ने अवस्था आउँछ । नेपाल प्राकृतिक, वातावरणीय तथा सांस्कृतिक रुपमा आकर्षक गन्तव्य भएकाले भोलिका दिनमा स्वास्थ्योपचारको दृष्टिले पनि आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना छ ।
८. मानव विकास सूचकांकमा उल्लेखनीय प्रगति
शिक्षा, स्वास्थ्य र आम्दानीका सूचकमा सकारात्मक प्रगति हुनु नै मानव विकास सूचकांकमा प्रगति हुनु हो । विकसित देशको विकासक्रम हेर्ने हो भने यी क्षेत्रको विकास सँगसँगै भएको देखिन्छ । जब स्वास्थ्यका सूचक सुधारिन्छन् तब शिक्षा र आम्दानीका सूचक तथा सरसफाई, खाद्यान्न, पिउने पानीजस्ता आधारभूत कुरासँग जोडिएका अनेकन् सूचकमा पनि सकारात्मक प्रगति हुन्छ । जसले समग्र मानव विकास सूचकांकमा उल्लेखनीय प्रगति हुने सम्भावना देखिन्छ ।
९. मुलुक समृद्धितर्फ लम्किने
जब नागरिक स्वस्थ हुन्छन् उनीहरुले आर्थिक तथा सामाजिक क्रियाकलाप गर्ने वातावरण प्राप्त गर्छन् । त्यसपछि शिक्षा तथा स्वास्थ्यसँग जोडिएका सूचक तथा मानव सम्पत्ति सूचकांक, प्रतिव्यक्ति आम्दानीजस्ता सूचकमा पनि सुधार आई मुलुक छोटो समयमै समृद्धितर्पm अगाडि बढ्ने सम्भावना छ ।
(लेखक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्)