स्वास्थ्य मन्त्रालयले अरु मन्त्रालयले झैं आफूअन्तर्गतका विभाग तथा महाशाखा घटाएर सानो आकारको सांगठनिक स्वरुप बनाउने गृहकार्य लामो समयदेखि गर्दै आएको थियो । विभिन्न चरणका छलफलपछि विभागीय प्रमुख र विज्ञको सल्लाहबमोजिम स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग, जनस्वास्थ्य विभाग र औषधी व्यवस्था विभाग गरि ४ विभाग राख्ने लगभग निश्चित भैसकेको थियो।
तर केहीदिन अघिमात्र एउटामात्र विभाग राख्ने र बाँकी सबै विभागलाई महाशाखाको रुपमा राख्नेगरी प्रस्ताव तयार पारियो । लामो समय खर्चेर ३ चरणका कमिटिद्वारा तयार पारिएका सांगठनिक संरचनालाई बेवास्ता गर्दै एकमात्र विभाग राख्ने प्रस्ताव गर्नुले नेपालमा ५ हजारवर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको एकमात्र मौलिक चिकित्सा पद्दती आयुर्वेदलाई नेपालका योजनाविद् एवं स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले बुझ्न नसकेको भान हुन्छ।
नेपाल संघीय ढाँचामा गैसकेको छ । संघीयता कार्यन्वयनका क्रममा विभिन्न मन्त्रालय र विभागहरू गाभिने कुरा सामान्य हो । तर सानो सांगठनिक स्वरुप बनाउने क्रममा आफ्नो मौलिकता, चिनारी एवम् अपनत्व नै गुमाउनु समस्त आयुर्वेदकर्मीलाई मात्र नभएर नेपालको चिकित्सा क्षेत्रकै लागि सुखद हुँदैन।
संविधानमा आयुर्वेद तथा वैकल्पिक चिकित्सको अवस्था
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरिसकेको छ । देश विकासको विशेष सुचकांक मानिएको स्वास्थ्य सेवामा सबै नागरिकको सहज र सरल पुगोस भन्ने हेतुले अनुुसुचि ५, ६ र ८ मा संघ, प्रदेश र स्थानीय तहको एकल अधिकार र अनुसूची ७ र ९ मा संघ, प्रदेश र स्थानीय निकायको साझा अधिकारअन्तर्गत स्वास्थ्यका विभिन्न विधा र पक्षलाई विशेष महत्वका साथ उल्लेख गरिएको छ।
संविधानको भाग ४ को धारा ५१ (ज) को ७ मा ‘नेपालको परम्परागत चिकित्सा पद्दतिको रुपमा रहेको आयुर्वेद, प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्ने’ भनी प्राथमिकताका साथ उल्लेख गरिएको छ । संविधानका अनुसूचीहरू ५ को १६.९, अनुसूची ९(३) को ३.४, ३.८, ३.११, ३.१२, ३.१५, ३.१९ अनुसार हेर्ने हो भने आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न आयामलाई महत्वपूर्ण स्थान दिर्ईएको अवस्था छ।
नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको अवस्था
नेपालमा वि.सं १७२७ अघि नै सिंहरबार बैद्यखाना स्थापना भएको हो । वीर अस्पतालको स्थापना त धेरै पछि मात्र विसं १९७४ मा मात्र भएको हो । वीर अस्पतालमा आयुर्वेद र पश्चिमा चिकित्साका सेवाहरू एकीकृत रुपमा संचालन गरियो । तर ती सेवा धेरै समयमम्म सर्वसाधारणको पहुँचमा थिएनन् । वि.सं १९७१ मा श्री ३ चन्द्रशमसेर जबराले दुई लाख प्रामिसरी नोटको कोष स्थापना गरि भारतको जयपुरस्थित राजकीय आयुर्वेद विद्यालयमा नेपाली विद्यार्थीलाई आयुर्वेद अध्ययन गर्न पठाएका थिए र हालसम्म पनि उनलाई नेपालको स्वास्थ्य क्षेत्रमा दूरदर्शी प्रशासक तथा योजनाविद्का रुपमा लिईन्छ । पछि आएर राजा त्रिभुवनले आयुर्वेद चिकित्सा सेवाको संस्थागत विकासको योजना तयार गर्न लगाए।
विसं १९९० सालमा युनानी औषधालय स्थापना, २००४ मा होमियोप्याथीक अध्ययनका लागि कोलम्बो प्लानको व्यवस्था मिलाईएको थियो । २०१० सालमा नेपालमै सरकारी स्तरबाट पशुपती होमियो चिकित्सालय स्थापना गरियो । २०१३ देखि बनेका स्वास्थ्यसम्बन्धी अल्पकालिन तथा दीर्घकालिन नीति तथा योजनामा आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधालाई विशेष स्थान दिदै २०३८ सालमा आयुर्वेद विभाग स्थापना गरियो र करिब १५ वर्ष पछि २०५२ सालमा आयुर्वेदको आफ्नै छुट्टै ‘राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति’ ल्याईयो । यसै नीतिअन्तर्गत रहेर स्वास्थ्य मन्त्रालयको आयुर्वेद विभागले आफ्ना कार्यक्रम सन्चालन गरिरहेको छ।
वर्तमान अवस्थामा स्वास्थ्य मन्त्रालयअन्तर्गत आयुर्वेद विभाग, आयुर्वेद चिकित्सा परिषद, सिंहदरबार बैद्यखाना, आयुर्बेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पशुपती होमियोप्याकि चिकित्सालय, एक युनानी अस्पताल, तिन क्षेत्रीय आयुर्बेद चिकित्सालय (दुई निर्माणधिन र एक संचालनमा), चौध अञ्चल आयुर्वेद औषधालय, ६१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ३०५ ओटा आयुर्वेद औषधालय छन् । यसका अलावा कीर्तिपुरमा विशेषज्ञसम्म अध्यापन गराउने सरकारी स्तरको आयुर्वेद क्याम्पस, नेपाल संस्कृत विश्वविद्यालयको आफ्नै क्याम्पस र निजी क्षेत्रबाट सन्चालित दर्जनौं आयुर्वेद अस्पताल र शिक्षण संस्थाहरूले सेवा प्रदान गरिरहेको अवस्था छ।
अन्तर्राष्ट्रिय स्तरमा परम्परागत चिकित्सा पद्दति
पश्चिमा चिकित्सा पद्दतीको विकास हुनुभन्दा पहिला संसारभर आ–आफ्नै मौलिकता, संस्कृति, औषधीय जडिबुटी तथा खनिज पदार्थको उपलब्धता आदिका आधारमा चिकित्सा पद्दतीे विकास भएको पाईन्छ । पूर्वीय दर्शनमा आधारित आयुर्वेद (चिकित्सा) पद्धतीलाई युनिसेफ तथा 11 संगठनका विभिन्न आलेखहरूमा चिकित्सा क्षेत्रकै सम्पदाको रुपमा ब्याख्या गरिएको छ । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले उच्च प्राथमिकता दिँदै केन्द्रीय तथा प्रादेशिक सरकारमा आयुष मन्त्रालय स्थापना गरेको छ । श्रीलंकामा पनि आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्साका लागि विशेष प्राथमिकता दिँदै मन्त्रालयको नाम ‘स्वास्थ्य, पोषण तथा स्वदेशी चिकित्सा’ राखिएको छ । यस मन्त्रालयअन्तर्गत सन् १९६१ मा आयुर्वेद विभाग स्थापना गरी एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
आयुर्वेद विभागअन्तर्गत ५ वटा आयुर्वेद शिक्षण अस्पताल र आयुर्वेद मेडिकल काउन्सील छन् । श्रीलंकाको स्वास्थ्य क्षेत्रको सूचकांक दक्षिणपूर्वी एसियामै अग्रणी स्थानमा पर्छ । बंगलादेशमा स्वास्थ्य मन्त्रालयअन्तर्गत युनानी, होमियोप्याथी एवं आयुर्वेद विभाग छ । बंगलादेश सरकारले राजधानी ढाकामा एक कलेज स्थापना गरि आयुर्वेद, युनानी एवं होमियोप्याथी विषयमा स्नातक स्तरका जनशक्ति उत्पादन गरिरहेको छ।
चीनमा पारम्परिक चिनिया चिकित्सा (ट्रेडिसनल चाइनिज मेडिसिन–टीसीएम) लाई आफ्नो राष्ट्रिय चिकित्सा पद्दतिका रुपमा विकास गरि चिकित्सा क्षेत्रको मुल प्रवाहमा राखिएको छ । उनीहरूलाई आफ्नो पद्दतिलाई राष्ट्रिय गौरबको विषय बनाई विश्वभर प्रचारप्रसार गरेका छन् र हाल विश्वका करिब १ सय ६० देशमा एक्युपंचरको प्रयोग भईराखेको अवस्था छ । थाईल्याण्ड, मलेसिया, जापान, कम्बोडीया, लाओस, भियतनाम, मंगोलिया, दक्षिण कोरियालगायत देशमा पनि सिधै आयुर्वेद नभनेर ट्रेडिसनल, कम्प्लिमेन्टरी तथा अल्टरनेटिभको रुपमा पूर्वाधार विकास गरी एकीकृत स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
विश्वमा ६० प्रतिशतभन्दा धेरै मानिस नसर्ने किसिमका रोगबाट मर्ने गरेका छन् । नेपालमा सरुवा तथा नसर्ने किसिमका रोगहरूको दोहोरो बोझको अवस्था छ । पश्चिमा चिकित्सा पद्दति (एलोप्याथी) मा नसर्ने किसिमका रोगहरूको ब्यवस्थापन गर्न धेरै चुनौती सामना गर्नुपरिरहेको छ । यस्तो अवस्थामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्दती सफल विकल्प हुन सक्छन् । विश्वका अधिकांस देशहरू वैकल्पिक चिकित्साको खोजीमा लागिरहेको अवस्थामा नेपालमा हजारौं बर्षदेखि चलिआएको र आफ्नै माटो र संस्कृतिअनुसार विकसित भएको मौलिक चिकित्सा पद्दती (आयुर्वेद) लाई प्राथमिकता नदिनु हाम्रो विडम्बना नै भन्नुपर्छ।
किन राख्ने आयुर्वेद विभाग ?
नेपालको चिकित्सा क्षेत्रको सुनौलो ईतिहास बोकेको आयुर्वेद (चिकित्सा) पद्दती समय परिवर्तनसंगै परिस्कृत हँुदै आएको छ र राज्यले पनि उच्च सम्मान गर्दै आएको अवस्था छ । नेपालजस्ता अतिकम विकसित मुलुकहरू विदशी अनुदानमा आधारित नीति तथा कार्यक्रमहरू बनाउनु पर्ने बाध्यात्मक अवस्थाले गर्दा परम्परागत चिकित्सा क्षेत्रमा चाहेजस्तो प्रगती हुन सकेको छैन । जसको कारणले गर्दा सांगठनिक संरचना पनि प्रभावित हुने गरेको पाईन्छ । दक्षिण भारतको केरला संसारभर आयुर्वेद उपचारको थलोको रुपमा प्रख्यात छ । भारतमा बार्षिक रुपमा हजारौ पर्यटक आयुर्वेद उपचारका लागि आउने गर्छन्।
चीनले टीसीएम अन्तर्गतको एक्युपंचर उपचार पद्दतीलाई संसारभर फैलाईसकेको छ र यसबाट मनग्य आम्दानी गरिरहेको छ । भुटान र थाईल्याण्डमा पनि आयुर्वेदलाई जोडेर सयौं संख्यामा स्वास्थ्य प्रबद्र्धन केन्द्र सन्चालनमा छन् । दक्षिण एसियालाई विश्वमा आयुर्वेदको सम्पदाको रुपमा लिईन्छ।
आयुर्वेद नेपालको चिकित्सा क्षेत्रको मात्रै नभएर संस्कृतिसंग पनि जोडिएको विषय हो । आयुर्वेदले रोग उपचारलाई भन्दा स्वास्थ्य प्रबद्र्धनलाई विशेष महत्व दिएको छ । आयुर्वेद जीवनविज्ञान हो र यसका आफ्नै सिद्धान्त छन् । आयुर्वेद पूर्र्वीय सभ्यतामा आधारित विज्ञान भएकाले पश्चिमा चिकित्साका विधासंग मेल खान सक्दैनन् र तिनमा विश्वास राख्ने योजनाविदले सजिलै बुझ्न गाह्रो छ । नेपालको मौलिक चिकित्सा पद्दती आयुर्वेदलाई पहिला आयुर्वेदकर्मीहरूले बुझ्न जरुरी छ । केबल जागिरे मानसिकता बोकेका ब्यक्तिहरूले आयुर्वेदको प्रबद्र्धन गर्न सक्दैनन्। नेपालजस्तो जैविक विविधताले भरिपूर्ण देश जहाँ हजारौ प्रजातीका जडिबुटि, सयौ प्रजातिका चराचुरुंगी, सयौ भाषा, सयौं जाती, दर्जनौ प्रकारका खनिज पदार्थ उपलब्ध छन् र आयुर्वेद यिनै विविधतासंग प्रत्यक्ष रुपमा जोडिएको छ । आयुर्वेदलाई केवल चिकित्सासंग जोडेर नहेरौं।
भर्खरै संघीयतामा गएको हाम्रो देश नेपालमा आयुर्वेद सम्बृद्धिको बलियो आधार बन्न सक्छ । विश्वभरि नै स्वास्थ्य सेवालाई पर्यटनसंग जोडेर लगिएको अवस्थामा नेपालमा स्वास्थ्य पर्यटनको नेतृत्व आयुर्वेदले गर्न सक्छ । आयुर्वेदजस्तो बहुआयामिक विधालाई अहिले सही नेतृत्व र अभियानको आवश्यकता छ।
यसका लागि समस्त आयुर्वेदकर्मीहरूले आफूलाई परिस्कृत गर्दै आमजनताको मनमा बस्न सक्नुपर्दछ । आफूलाई जनताको सेवकका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । राज्यले आयुर्वेद तथा कृषि क्रान्तिको घोषणा गरोस् र स्वास्थ्यका योजनाकारहरूले आयुर्वेदको अध्ययन गरुन्।
आयुर्वेदको नेतृत्व आयुर्वेदले नै गर्ने र बाँकी सबैले उपयुक्त वातावरण बनाईदिने हो भने हाम्रो समृद्धि टाढा छैन। हाल भएको आयुर्वेद विभागलाई अझ सशक्त बनाइ आवश्यक नीतिनियम निर्माण गर्ने र जडिबुटी प्रसोधन तथा निर्यात, जडिबुटी एवं औषधीमा आत्मनिर्भर, पंचकर्म सेवालाई प्रचारप्रसार गरि पर्यटन विकास र नसर्ने रोगको व्यवस्थापन गरि विश्वजगतलाई नयाँ सन्देश दिन सबैले आ–आफनो स्थानबाट सक्दो पहलकदमी लिनुपर्छ ।