महिला स्वास्थ्य स्वयंसेविका हुँदा म १७ वर्षकी थिएँ । एसएलसी दिएर बसेका बेला मेरो बिहे भयो । मेरो रिजल्ट आएको थिएन । २०५० सालको कुरा हो, गाउँमा स्वयंसेविका चाहिएको रहेछ । मेरो भर्खर बिहे भएको थियो । गाउँकै अर्कै महिलालाई राख्ने भनिए पनि केही कारणले उहाँले नसक्ने भएपछि मलाई स्वयंसेविकाको काम तपाईं गर्नुस्, धेरै कुरा सिकिन्छ भनेर भन्नुभयो।
उहाँले स्वास्थ्यका कुरा गर्नुपर्छ तर निःशुल्क गर्ने हो भनेर भन्नुभएको थियो । यो विषयमा मैले घरमा श्रीमान् र सासु आमासँग सोधें । उहाँहरुले हुन्छ काम गर, काम गर्दा बाठोटाठो भइन्छ भनी सल्लाह दिएपछि महिला स्वास्थ्य स्वयंसेविका भई काम गर्न थालेको हुँ ।
त्यो बेला १२ दिनको आधारभूत तालिम दिइएको थियो । पछि थप ४ दिनको तालिम पाएकी थिएँ ।
त्यो बेला खोप, झाडापखाला र परिवार नियोजनका साधनबारे जानकारी दिइएको थियो ।
हामीलाई दिइने तालिम निकै प्रभावकारी हुन्थ्यो । सबै पढेलेखेका स्वयंसेविका थिएनन् तर चित्रबाट पनि कुरा सिकाइथ्यो ।
काम सुरु गर्दा मेरो बच्चा जन्मिसकेका थिएनन् । काम गर्न, सिक्न र गाउँमा गएर सिकाउन सजिलो भयो । मैले घरको काम सकेर गाउँका घरघरमा परिवार नियोजनको साधनबारे बुझाउनुपथ्र्यो । अहिले त धेरैले बुझिसकेका छन्, घरैमा आएर सोध्छन् । पहिले त घरघरै गएर व्यक्तिलाई भेटेर सम्झाउनुपथ्र्यो । सम्झाउन सजिलो थिएन ।
त्यतिबेला परिवार नियोजनका अस्थायी साधनलाई भन्दा पनि स्थायी शल्यक्रियालाई जोड दिइएको थियो ।
४–५ जना बच्चा भएका महिलालाई शल्यक्रिया गरौं भनेर सम्झायो, तर श्रीमान्ले नमान्ने समस्या निकै थियो । मलाई सम्झना छ, कति महिला शल्यक्रियाका लागि तयार भएकै अवस्थामा फर्काइएका छन्। कतिले गाली गर्थे, ‘तपाईंलाई किन चासो प¥यो’ भनेर । धेरै दिदीबहिनीका श्रीमान् रिसाएका थिए । कतिले त छलेर लुकेरै गएर शल्यक्रिया गराएका थिए ।
बच्चाले भिटामिन धेरै खाँदा...
एउटा त आफ्नै घटना छ । २०५४/५५ तिरको कुरा हो क्यार । मेरो बाबु ४ वर्षको थियो । त्यही बेला भिटामिन खुवाउन सुरु भएको थियो । मैले झोलामा भिटामिन लिएर घर गएपछि अलि पुगिने ठाउँमा झोला राखेछु । मलाई बच्चाले चलाउला भन्ने ख्याल भएन ।
बाबु र उसका साथीले झोला झिकेछन् र छिमेकीकै ४ वर्षकी छोरीलाई ५ क्याप्सुल खुवाएछन् । बच्चालाई निकै बान्ता भयो । अस्पताल लगियो । डाक्टरले भिटामिन खाएर बान्ता भएको भने । बान्ता नभएको भए झन् गाह्रो पथ्र्यो । बच्चाहरुले अलिपछि भिटामिट खुवाएको भनेपछि सबै रिसाएका थिए नि । रिसाउनु पनि स्वभाविक थियो, किनकि बच्चाको ज्यानकै कुरा थियो । पछि बल्ल सबैले बुझे । पछि मैले पनि सचेतता अपनाउन थालें ।
सासु–बुहारीको बोलचालै बन्द
हाम्रो पनि एक छोरा र एक छोरी भएपछि श्रीमान्ले स्थायी नियोजन गरेपछि घरमा सासु निकै रिसाउनुभएको थियो । कति झगडा भयो । कति समयसम्म आमा–छोरो, सासु–बुहारीको बोलचालै भएन । आफूले ८–९ वटा सन्तान जन्माएकाले हामीले दुई सन्तानपछि नै स्थायी नियोजन गर्दा चिन्ता भएको थियो सासुआमालाई । धेरैपछि आमाले बुझ्नुभयो । पछि केही समस्या भएन ।
स्वास्थ्यबारे अहिले धेरै सुविधा छन् । नजिकै स्वास्थ्य संस्था छन् । सुत्केरी हुन अस्पताल जाने चलन बढेको छ । पहिले त धेरै महिला सुत्केरी हुन नसकेकाले ज्यान गुमाउथे । कतिको गर्भावस्थमै ज्यान जान्थ्यो । पोसिलो खाना खाने, आराम गर्ने अवस्था थिएन । झाडापखाला पनि उत्तिकै थियो ।
अहिले पनि सुत्केरी हुन अस्पताल गएकाहरुलाई राम्ररी जाँच गर्ने, उनीहरुका कुरा सुनेको जस्तो लाग्दैन । केही समयअघिकै कुरा हो, गाउँकै एक जना महिला गर्भवती जाँच गराउन बर्थिङ सेन्टर गएका बेला ‘तपाईंको अझै समय भएको छैन’ भनेर राम्ररी जाँच नै नगरी फर्काइयो । उनलाई दिएको समय आउन १५ दिन बाँकी रहे पनि केही जाँच नगराई फर्काएको चित्त बुझेन । पनि उनको घर आएको एक–डेढ घन्टामै दुखाइ बढेर एक्लै अस्पताल जान खोज्दा बारीमै सुत्केरी भइन् । त्यसपछि उनी अस्पताल नै जान मानिनन् । ‘वास्ता नै गर्दैनन्, किन जाने ?’ भन्ने उनको बुझाइ थियो । बिरामीले यसरी गुनासो गर्नुपर्ने अवस्था आउनु दुःखको कुरा हो ।
खोप लगाउन सिकाउनु पर्छ
हामी स्वयंसेविकालाई खोप लगाउन सिकाए, सबै बच्चाले खोप पाउँथे । स्वास्थ्य संस्थामै गएर लगाउनुपर्दा धेरै बच्चा छुटेका छन् । स्वास्थ्य संस्थामा समयमा नगए बच्चा छुट्छन् । यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ ।
अहिले खोप कार्ड सुरक्षित राख्नुपर्छ, पछिसम्म चाहिन्छ भनेर थाहा भयो । त्यो बेलामा हामीलाई थाहा थिएन । मैले नै आफ्ना छोराछोरीको कार्ड सुरक्षित राखिनँ । अरुलाई कसरी भन्नु ? अहिले थाहा पाएकी छु । सबै भन्ने गर्छु, ‘खोप कार्ड पछिसम्म चाहिन्छ, स्याहार गरेर राख्नुस् ।’
बेलैदेखि काम सुरु गरेको भए पनि सधैं उत्साहले काम गरिहरेकी छु । मैले पछि शिक्षा संकायमा प्लस टु सकें । तर पनि कहिल्यै ‘यो काम किन गरें’ भन्ने सोच आएको छैन । खुसी छु । अझै जोशका साथ काम गर्छु भन्ने आत्मविश्वास छ । हामीलाई अहिले पनि अपडेट गराइरहनुपर्छ । किनकि, स्वास्थ्यका पछिल्ला सबै कुरा हामीलाई थाहा हुँदैन ।
(लुइँटेल सिन्धुली कमलामाई नगरपालिका वडा नं. ९ की महिला स्वास्थ्य स्वयंसेविका हुन्)