नेपालको स्वास्थ्य अवस्था
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (डिएचएस) २०१६ अनुसार नेपालमा मातृ मृत्युदर, कुपोषण, बाल मृत्युदर, बिबाह गर्ने उमेर, परिवार नियोजनका साधनको प्रयोग लगायतका क्षेत्रमा निकै सुधार देखिएको छ तर पनि दिगो विकास लक्ष्य प्राप्तिको लागि धेरै गर्नुपर्ने देखिन्छ।
नेपाल अहिले १०० मध्य ८० भन्दा बढी गर्भवती महिलाहरुले दक्ष चिकित्सक, नर्स तथा अनमीबाट सेवा लिने गरेको पाइएको छ। जबकी, सन् २००१ मा १० मध्य ३ जना महिलाहरुले मात्र दक्ष जनशक्तिबाट उक्त सेवा लिने गरेका थिए ।
अर्को तथ्य हेर्ने हो भने नेपालमा प्रत्येक १ हजार जना बालबालिकामध्ये ३९ जनाको मृत्यु ५ वर्ष नपुग्दै हुने गरेको सर्वेक्षणमा उल्लेख छ जबकि सन् १९९६ मा ११८ थियो। सरसर्ती हेर्दा बाल मृत्युदर घटेको देखिएपनि नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्तिको लागि २०३० सम्ममा नेपालमा ५ वर्ष मुनीका बालबालिकाहरुको मृत्युदर प्रतिहजार जिवित जन्ममा २० मा घटाउनु पर्ने हुन्छ ।
सन् २००१को जनगणनालाई हेर्ने हो भने महिला जनसंख्या साक्षरता दर ४२.८ प्रतिशत मात्र थियो भने त्यसको एक दशक पछि सन् २०११ मा ६५.९ प्रतिशत भएको छ। यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ किनकि जनगणना २०११ले पुरूष जनसंख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको छ। केहि दशक यता नेपालमा साक्षरताको दर उल्लेख्य रूपमा बृद्धि भएको भएतापनि निकै थोरै मात्र शिक्षित छन्।
यसैगरी, 11 संगठन ले २०१५ मा जारी गरेको प्रतिबेदन अनुसार नेपालीको औसत आयु ६९.२ बर्ष छ भने विश्वको देशहरुमा ११९ औ स्थानमा पर्दछ।
विगत दुई दशक यता नेपालको कुपोषणको समस्यामा निकै सुधार आएको भएपनि एक तिहाई बालबालिका अझै पनि कुपोषणको शिकार भएको सर्वेक्षणले देखाएको छ। अधिकांशमा पुड्कोपनका समस्या (करिब ३६ प्रतिशत बालबालिकामा पुड्कोपन) भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले जनाएको छ। त्यसकारण, स्वास्थ्य क्षत्रमा पनि नेपाल सरकारले निकै सुधार गर्नुपर्ने देखिन्छ।
नेपालमै पहिलो पटक गरिएको रक्तचाप सम्बन्धी सर्वेक्षणले नेपालमा १५ वर्ष उमेर माथिका करिब १७ प्रतिशत महिला तथा २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप भएको पाइएको छ, जसका कारण आउदा दिनहरुमा मुटु रोगहरुको प्रकोप बढ्ने देखिन्छ ।
पहिला–पहिला नेपालको ठूलो स्वास्थ्य समस्याका रूपमा रहेका औलो, क्षयरोग, झाडापखाला, श्वास–प्रश्वास, टाइफाइड, दादुरा, लहरेखोकी, भ्यागुतेरोग, धनुषटङ्कार, जापानिजइन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजार, ट्रकोमा, एचआईभी जस्ता संक्रमित रोगहरू नियन्त्रणमा छन् । रोगभार घट्दो क्रममा छ । नेपालबाट विफर उन्मूलन हुनाको साथै पोलियो शून्य अवस्थामा आइसकेको छ । कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । मातृ तथा शिशु धनुषटङ्कार निवारण भइसकेको छ ।
नेपालमा सरुवा रोगहरु घट्दो क्रममा भएपनि दीर्घरोगहरुको प्रकोप (मधुमेह, क्यान्सर,थाईराईड, मुटु रोगह आदि), नयाँ–नयाँ सरुवा रोगहरूको समस्या, प्राकृतिक विपद्बाट हुने जोखिम, जलवायुपरिवर्तनको असर, सडकदुर्घटना र चोटपटकबाट हुने स्वास्थ्यसमस्या र मृत्युको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।
माथिका तथ्यहरुलाई केलाएर हेर्दा देशको स्वास्थ्य अवस्था सुधार भएको देखिन्छ भने दिगो विकास लक्ष्य प्राप्तिको लागि धेरै सुधार गर्नुपर्ने देखिन्छ। तेसैले थोरै मात्रामा स्वास्थ्य क्षत्रमा लगानी गरेर पनि अति राम्रो स्वास्थ्य सूचक बनाउन सफल क्युबा बाट केहि सिक्ने कि?
कस्तो छ क्युबा ? स्वास्थ्यका सूचकहरु किन बिश्वमै अगाडि ?
क्युबा १ लाख १० हजार ८ सय ६० वर्ग कि. मि. मा फैलिएको एक अमेरिकन देश हो। जहाँ १ करोड १५ लाख जनसंख्या रहेको छ । उक्त देशमा दिगो विकास लक्ष्य प्राप्तिका सबैजसो सूचक पूर्ण भएको कुरा 11 संगठनले प्रकाशित गरेको प्रतिबेदनले पुस्टि गरेको छ। अनि अर्को चाख लाग्दो कुरा के छ भने अमेरिकाले स्वास्थ्यमा गर्ने खर्च भन्दा २५ गुणा कम बार्षिक खर्च गरेर पनि क्युबाले औसत उमेर अमेरिका भन्दा राम्रो बनाउन सफल छ (महिलाको ८२ वर्ष र पुरुषको ७८ बर्ष)। जनसहभागितालाई निकै महत्व दिने क्युबा आज संसारको सबैभन्दा राम्रो स्वास्थ्य सूचक भएको देश बनेको छ भने जनसहभागिताले स्वास्थ्यमा राम्रो शुधर गर्न सकिन्छ भनेर प्रमाणित गर्न पनि सफल भएको छ।
क्युबा र नेपालका स्वास्थ्य सेवामा भएका फरकपन
जनस्वास्थ्यमा क्युबा निकै अगाडि देखिन्छ किनकि सन् १९६२ मा नै सर्ब प्रथम पोलियो उन्मोलन भएको थियो भने १९७९ मा भ्यागुतेरोग, १९९५ मा रुबेला, १९९६ मा दादुराको पनि उन्मोलन भैसकेको छ। यसै गरि विश्व मानचित्रमा, एड्स र मानसिक रोगको प्रकोप पनि कम भएको पाइन्छ भने धेरै रोगहरु विरुद्ध खोप कार्यक्रम संचालन गरेको छ।
क्युबामा ३ प्रकारका सुबिधा दिने गरिएको छ।
क. पारिवारिक स्वास्थ्य सेवा: यो क्युबाको सफल र प्रभाबकारी सेवा हो जुन सेवा नेपालका स्वास्थ्य चौकीले दिने जस्तै हुन्। तर सेवा प्रदान गर्ने बिधि फरक छ। क्युबाको स्वास्थ्य नीतिअनुसार हरेक १५० देखि १८० परिवारको बीचमा चिकित्सक र नर्सको ब्यबस्था हुन्छ र तिनीहरु समुदायमै रहेर फेमिली चिकित्सकको रुपमा हरदिन २४ घण्टा सेवा दिने गर्दछन्। फेमिली चिकित्सकले समुदायको सबै जानकारी पाउने र जुनसुकै बेला पनि सेवा दिने हुँदा ८० प्रतिशत भन्दा रोगहरु समुदायमै नियन्त्रित छन् । तसर्थ, यो सेवा निकै प्रभाकारी देखिएको छ।
नेपालका स्वास्थ्य चौकी भन्दा अलि फरक देखिने यो प्रणालीले जनस्वास्थ्यलाई निकै प्राथमिकतामा राखेको छ। स्थानीय तहमा विभिन्न स्वास्थ्य कार्यक्रम जस्तै खोप सेवा, पोषण कार्यक्रम, विभिन्न सरुवा रोग नियन्त्रण कार्यक्रम, दीर्घ रोग नियन्त्रण कार्यक्रम आदि सञ्चालन समेत गरेको छ। यसबाट विभिन्न सर्ने र नसर्ने रोगहरु नियन्त्रणमा छन् र रोगभार कम देखिन्छ। यो सेवा भने नेपाल सरकारले फरक तरिकाले प्रदान गरेको देखिन्छ।
ख. पोली क्लिनिक सेवा: हरेक २५ हजारदेखि ३० हजार जनसंख्याको बीचमा सबिध सम्पन्न प्रयोगशाला र चिकित्सक सहितको पोली क्लिनिक सेवा रहेको छ। यो सेवा नेपालमा दिने प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल को परिवर्तित रुप जस्तो देखिन्छ।
ग. सुबिधा सम्पन्न ठूला अस्पताल सेवा: यो भने नेपालमा जस्तै छ जसमा शिक्षण अस्पताल, मुटु रोगहरु, क्यान्सर, आखा रोग, बाल रोग आदि का लागि सुबिधा सम्पन्न अस्पताल पर्दछन्।
अन्य कार्यक्रम
क्युबा मा संचालन भएको एकीकृत उपचार कार्यक्रमले रोगबाट बच्नको लागि प्रोमोसनल कार्यक्रम गर्नुको साथै रोग लाग्नेबितिकै शिघ्र उपचार हुने सुबिधा दिएको छ। यसबाट राष्ट्रले कम लगानीमा नै रोगहरु पूर्ण रुपमा नियन्त्रण गर्न सफल भएको छ। यी सेवाहरु नेपालमा पनि चलिराखेका छन्।
त्यसैगरि, प्राकृतिक विपद्बाट हुने जोखिम कम गर्नको लागि सुविधा सम्पन्न "रेपिड रेस्पोन्स टिम" रहेको छ। जसबाट प्राकृतिक विपदमा परेकालाई उद्दार गर्ने गरिन्छ र सर्जरी सेवा समेत घटना स्थलमा दिने गरिन्छ। उनीहरुले सरसफाई, खानपिनमा ध्यान दिएमा प्राकृतिक विपदपछि लाग्ने धेरै रोगबाट बच्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दै विभिन्न जनचेतना मुलक कार्यक्रम समुदायमा सञ्चालन गर्दछन्।
नेपाल पनि प्राकृतिक बिपतको उच्च जोखिम मा रहेको र तेस्तो सुबिधा नभएकोले यी विषयमा केही सोच्नुपर्ने देखिन्छ।
स्वास्थ्य खर्च ब्यबस्थापन
क्युबा सरकारले स्वास्थ्य सेवालाई सर्वशुलभ बनाउनको लागि जनताले तिरेको करबाट एकिकृत भुक्तानी प्रणाली मार्फत स्वास्थ्य सेवा खर्च व्यवस्थापन गर्ने गरेको छ। एकिकृत भुक्तानी प्रणालीबाट खर्च व्यवस्थापन भएपछि जनताले सेवा शुल्क बुझाउन पर्दैन । जसको अर्थ स्वास्थ्य सेवा व्यक्तिले किन्नु पर्दैन।
अर्कोतिर हेर्ने हो भने नेपालमा स्वास्थ्य सेवा व्यक्तिले किन्नुपर्ने भयावह स्थिति छ भने स्वास्थ्य सेवामा खर्च गरेकै कारण गरिबीमा पुग्ने जनसंख्या ३.५५ प्रतिशत रहेको छ भनेर विश्व बैंकको प्रतिबेदनले देखाएको छ।
नेपालमा पनि सेवा सर्वशुलभ बनाउन सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली, २०७२ अनुसार आर्थिक वर्ष २०७४/ ७५ मा ३९ जिल्लामा लागू भएको स्वास्थ्य बीमा कार्यक्रम आगामी ३ वर्षभित्र नेपालभरि बिस्तार गर्ने लक्ष्य राखिएको छ। सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्दै स्वास्थ्य सेवा विस्तार गरि सबै वर्ग र तहका जनतालाई समेट्न खोजेको देखिन्छ। यसले मानव विकास सूचकांकमा पनि उल्लेखनीय प्रगति गर्ने सम्भावना देखिन्छ । तसर्थ, स्वास्थ्य बीमा कार्यक्रमलाई अझै बैज्ञानिक र सेवामुखी बनाउन सकेमा सन् २०३० सम्ममा दीगो विकास लक्ष्य (एस.डि.जी. लक्ष्य) हासिल गर्न सकिन्छ।
नयाँ नेपालमा अब केही परिवर्तन गर्ने कि?
नेपालको संबिधानले स्थानीय निकायलाई निकै अधिकारसम्पन्न बनाएको छ। त्यसकारण अधिकार सम्पन्न स्थानीय निकायले विभिन्न सफल देशहरुको स्वास्थ्य नीति अध्ययन गरि दिगो विकास लक्ष्य प्राप्तिको लागि स्वास्थ्यमा गम्भीर सुधारको पहल गर्नुपर्दछ। जनताको विश्वासको पात्र बन्नको लागि जनस्वास्थ्यलाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम तर्जुमा गर्नुपर्दछ र आफूमा भएको अधिकारको विवेकपूर्ण प्रयोग गर्दै स्थानीय स्वास्थ्य संस्थालाई जिम्मेवार अनि सबल बनाउन पहल समेत गर्नुपर्ने देखिन्छ ।