स्वास्थ्यखबरमा प्रकाशित 'ललितपुरमै महिलाजस्तै पुरुष स्वास्थ्य स्वयंसेवक'बारे समाचार पढ्दा अचम्मका साथै खुसी पनि लाग्यो। नेपालका जनसमुदाय अर्थात् वडास्तरमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य स्वयंसेवक कार्यक्रम लागू गर्ने निर्णय भएको हो। सोही सिलसिलामा त्यतिबेलाको जनवर्गीय महिला संगठन र स्वास्थ्यमन्त्रीबीचको समन्वय र महिला संगठनको माग अनुसार स्वास्थ्य सेवक कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको रुपमा रुपान्तरित भएको थियो।
२०४५/४६ सालदेखि नेपालका २७ जिल्लाबाट सुरु भएको सो कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको छनोट तथा तालिम कार्यक्रममा म सुरुदेखि नै प्रत्यक्ष/ परोक्ष संलग्न थिएँ। त्यहाँ मलाई सुत्केरी वा बालबालिकाको अनुभव भएका, साक्षर वा निरक्षरहरुको छनोट गरी आधारभूत तालिम प्रदान गरी काम गर्न खटाइयो।
अचेल हाम्रा महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारले विभिन्न सुविधा र सम्मान प्रदान गरे तापनि जनस्वास्थ्य कार्यक्रममा सघाउन, प्रेषण गर्न, राष्ट्रिय कार्यक्रममा सघाउन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चारका सामग्री वितरण गर्ने सामान्य काममा समेत परिचालन गर्न निकै कठिन भएको आभास भएको छ। किनभने ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्को बाफलमा रहेको मेरो घरटोलमा १४ वर्षदेखि कुनै पनि राष्ट्रिय कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका आएका छैनन्।
यसै जिल्लामा कार्यरत १३३ जना महिला स्वास्थ्यसेविका कता छन्? यस्तो अवस्थामा ललितपुरकै एक सय पुरुष स्वास्थ्य स्वयंसेवकले सेवा दिइरहेको समाचार प्रशंसनीय छ। त्यसकारण नेपाल सरकारले नीतिगत निर्णय गरी यसरी सेवा पुर्याउने स्वास्थ्य सेवकलाई मान्यता प्रदान गरी जनताको सेवा गर्ने कार्यमा परिचालन गर्नु मनासिव र आवश्यक रहेको छ।
(सेवा निवृत्त, स्वास्थ्य तालिम निर्देशक)
ललितपुर– १७, ग्वार्को-बाफल