चाबहिलको गोपीकृष्ण पुलबाट हनुमानस्थान जाँदा सधैं झैं सार्वजनिक यातायात चढ्ने क्रममा म केही दिन अघि नेपाल यातायातको गाडी चढें । चालकको तीन सिट पछाडि झ्यालमा बसेर यसो अगाडि हेर्दा त्यहाँ लेखिएको थियो– ‘जिब्रोको गरिमा, मीठो बोलीमा।’
जनचेतनाका लागि टाँसेको त्यो स्टीकरले मेरो मनमष्तिकमा खैलाबैला मच्चायो । कुनै राम्रो सरकारी निकायले जारी गरेको सूचनाजस्तो लाग्यो मलाई । टाढा थिएँ, तलको लाइन प्रष्ट पढ्न सकिन।
मीठो बोली : साच्चै नै आजको हरेक क्षेत्रको आवश्यकता।
आफू स्वास्थ्य क्षेत्रमा कार्यरत भएकाले फेरि मेरो मनमष्तिकले आफ्नै क्षेत्रतिर सोच्न लाग्यो । आजको पढाई, पढाउने तरिका र आजको पींढी धेरै नै अगाडि छ । आफ्ना बाबुबाजेलाई पछारी उन्नत प्रविधि तथा स्मार्टनेसमा धेरै नै अगाडि पुग्यौं भने दाबी गर्छौ हामी।
तर बोलीको कुरो आउँदा, या जिब्रोको कुरो आउँदा, पहिला आपूmले आपूmलाई नै औंला उठाई प्रश्न गर्न मन लाग्छ । हामी नयाँ पींढीले नयाँ प्रविधि, नयाँ पढाई र सीप हासिल गरेका छांै । त्यसो हो भने हामीबाटै एउटा उदाहरण किन नबनाउने र हामी आफै परिवर्तित भई मीठो बोलीका लागि अरुलाई पनि प्रेरित किन नगर्ने ?
अर्को मनले भन्छ, ‘ए हजुर ! मीठो बोली, मिलनसार भावना सायद, बनाएर, सिकाएर वा पढाएर हुने चिज होइन । यो हामीसँग हामीमै समावेस भएर हामीसँगै बढ्ने कुरो हो।’
आजकाल होटेल व्यवसाय, बैकिङ सेक्टर साह्रै फस्टाएको पाइन्छ। त्यहाँ पस्नासाथ जुन सदभावसाथ स्वागत सत्कार पाइन्छ, त्यो देखेर हामी साह्रै हर्षित हुन्छौं। बोली, व्यवहार तथा स्वागत सत्कारको कुरामा बैंक तथा होटेलले ठूलो फड्को मारिसकेको छ।
अब स्वास्थ्य क्षेत्रको पालो । होटेलमा त मानिस रमाउन जान्छन् तर अस्पतालमा मानिस रोग बोकेर, दुःख बोकेर, आश लिएर पस्छन् । अस्पताल आवश्यकताले गईन्छ, रहरले होइन । स्वास्थ्य क्षेत्रमा पनि मीठो बोलीको अनिवार्य आवश्यकता छ ! जुटौं हामी एकएक स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने व्यक्ति ! हामी मिली काँधमा काँध मिलाई, मुखमा मीठो बोली र सद्भाव राखेर, ती बिरामीको आशलाई विश्वासमा परिवर्तित गरौं । गर्ने हामीले नै हो र हामी गर्न पनि सक्छौ । यो कुनै एक व्यक्तिको प्रयासले कहिल्यै हुँदैन । हरेक स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको प्रयासले असम्भव भने छैन ।
अस्पताललाई एउटा यस्तो थलो बनाऔं, जहाँ पुग्नासाथ तपाईंको आधा रोग निको होस्। बोली यस्तो बनाऊँ जसको गरिमा दिनका दिन बढ्दै जाओस् । उपचार पद्दति यस्तो अपनाअौं जहाँ बिरामीको रोजाई सदैव सोही आस्पताल होस् । स्वास्थ्यकर्मी यस्तो बनौं, जस्ले आफ्नो बोली र व्यवहारले बिरामीको आशलाई विश्वासमा बदलिन सकौं।
स्वास्थ्य क्षेत्रमा प्रगति हुने भनेकै मुलुक र मुलुकवासी प्रगतीतिर लम्कनु हो भन्ने कुरामा प्रतिबद्ध भै अगाडि बढ्यो भने स्वास्थ्य क्षेत्रले पनि अरु क्षेत्रजस्तो ठूलो फड्को अवश्य मार्नेछ । बिरामी अस्पताल पुग्नु उसको बाध्यता नभन्ठानी अस्पतालको अवसर भन्ठानेर पूर्ण सहयोग, प्रेम र सद्भावका साथ बिरामीलाई फेरिफेरि पनि त्यही अस्पताल आउने गरी सेवा प्रदान गरौं । यो आजको आवश्यकता हो।
समय बदलिन, समय लाग्दैन ।
- पौडेल ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिकी मार्केटिङ्ग म्यानेजर हुन्।