किशोरी शिक्षा र स्वास्थ्यका विषयमा संसारभर धेरै बहस भैरहेका बेला भारतमा गरिएको एक राष्ट्रिय सर्वेक्षणमा तिनीहरुबीच गहिरो सम्बन्ध हुने गरेको तथ्य फेला परेको छ। भारत सरकारले २०१५–१६ मा गरेको देशव्यापी पारिवारिक स्वास्थ्य सर्वेक्षण अध्ययन गर्दा किशोरी अवस्थामा १२ वर्ष अथवा सोभन्दा धेरै वर्ष शिक्षा लिएका महिलाको विवाह गर्ने उमेर बढ्ने र २० वर्षभित्रै गर्भवती हुने सम्भावना कम भई बाल मृत्युदरसमेत घट्ने देखाएको छ।
त्यसैगरी, १२ वर्ष अथवा धेरै वर्ष शिक्षा लिएका महिलाको औसत शिशु संख्या १.७ र शिक्षा नपाएकाको महिलाको ३.८२ रहेको पाईयो। त्यसैगरी, १२ वर्ष अथवा धेरै वर्ष शिक्षा लिएका महिलाले औसत २४.७ वर्षमा पहिलो शिशुको जन्म दिने गरेको पाईयो, जुन अशिक्षित महिलाको औसत जन्म दिने उमेरभन्दा करिब ४ वर्ष बढी छ। यसको अर्थ, हरेक किशोरीलाई १९ वर्षभित्रै १२ वर्ष शिक्षा दिन सकियो भने तिनीहरुको पहिलो शिशु जन्म हुने उमेर करिब ४ वर्ष बढ्छ र औसत शिशु संख्या पनि २ भन्दा कम गर्न सकिन्छ।
अर्को तथ्य के छ भने किशोरी अवस्थामै १२ वर्ष अथवा धेरै वर्ष शिक्षा लिएका महिलाको छोराछोरी ५ वर्षभित्र मृत्यु हुने दर घटेको पाईयो। ५ वर्ष मुनिको मृत्यु दर प्रतिहजार जीवित शिशु जन्ममा २६.५ मात्र पाईयो जुन अशिक्षित महिलाको ६७.५ छ। यो तथ्यले के देखाउँछ भने महिला शिक्षाले बाल मृत्युदर झन्डै आधा कम गर्छ।
विभिन्न शोधबाट पत्ता लगाएअनुसार पहिलो शिशुको जन्म हुने उमेर बढ्नु भनेको स्वस्थ शिशुको जन्म हुनु हो र आमालाई गर्भावस्थामा र शिशु जन्माउँदा हुने खतरा जस्तै कम तौलको शिशु जन्मने, उमेर नपुगी जन्मने, गर्भ तुहिनेजस्ता समस्याबाट बचाउनु हो। त्यसैगरी, कम उमेरमा विवाह गर्नेहरुमा छिट्टै गर्भवती हुने अनि गर्भपतन गराउने क्रम बढ्छ । जसबाट तनाव उत्पन्न भएर धेरै दम्पतीहरु मानसिक रोगको शिकार हुने गर्छन्। तसर्थ, किशोरी शिक्षा उचित भएमा केही हदसम्म समस्याबाट महिलालाई छुटकारा दिलाउन सकिन्छ।
उक्त सर्वेक्षणमा शिक्षित महिलाले एक शिशुको जन्म दिने गरेको र एकभन्दा धेरै जन्माउनेमा पनि जन्मान्तर धेरै हुने गरेको पाईयो। जन्मान्तर बढेपछि महिलाको गर्भावस्थामा हुने समस्या कम हुनुका साथै शिशु जन्मँदा हुने जोखिमबाट बचाउन सकिन्छ।
नेपालमा, भर्खरै गरिएको एनडीएचएस सर्वेक्षणमा प्रति नेपाली महिलामा जीवित बच्चा हुने संख्या २.३ रहेको र औसत जन्म दिने उमेर २०.४ छ भने किशोरी अवस्थामा जन्म दिनेको प्रतिशत १७ छ। त्यसैगरी १ हजार जना ५ वर्षभित्रका बच्चामध्ये ३९ जनाको ज्यान जाने गरेको छ।
नेपालको यो तथ्यलाई भारतको तथ्यसंग तुलना गर्ने हो भने नेपालमा पनि किशोरी अवस्थामै १२ वर्षको अध्ययन पूरा गर्ने वातावरण बनाउने हो भने नेपाली महिलामा भएको औसत जीवित बच्चा संख्यालाई २.३ बाट घटाएर १.७ मा झार्न सकिन्छ किनकि माथिको अध्ययनले १२ अथवा सोभन्दा धेरै वर्ष विद्यालय शिक्षा लिएकाको औसत बच्चा संख्या १.७ रहेको देखाएको छ। जसबाट अहिले महिलाले जन्माउँदै गरेको भन्दा २१.७५ कम बच्चाहरु जन्मिने र जनसंख्या वृृदिदर घट्ने देखिन्छ।
त्यसैगरी, बाल मृत्युदर ५०५ कम हुँदा प्रतिहजारमा १९ जीवित बच्चामा झार्न सकिन्छ जसबाट दिगो विकास लक्ष्यअनुसारको बाल मृत्युदर हासिल हुन सक्छ। यसबाट महिलाको पहिलो बच्चा जन्माउने उमेरलाई २०.४ वर्षबाट बढाएर २४.७ वर्ष बनाई कम उमेरमा गर्भवती हँुदा र शिशु जन्मँदा हुने समस्या कम गर्न सकिन्छ।
हामीले माथिको अध्ययन हेर्ने हो भने किशोरी अवस्थामा १२ वर्ष अथवा १२ वर्षभन्दा बढी शिक्षा दिने वातावरण बनाउन सकेमा नेपालको जनसंख्या नियन्त्रणमा उल्लेख्य सुधार गर्न सकिन्छ। तसर्थ, किशोरी शिक्षा आजको गर्भनिरोधक चक्की पिल्सभन्दा बढी प्रभावकारी देखिन्छ।
नेपालको सन् २००१ को जनगणनालाई हेर्ने हो भने महिला जनसंख्या साक्षरता दर ४२.८ प्रतिशत मात्र थियो भने त्यसको एक दशकपछि सन् २०११ मा ६५.९ प्रतिशत भएको छ। यसलाई पुरूष जनसंख्यासँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ किनकि जनगणना २०११ले पुरूष जनसंख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको छ। तसर्थ, महिला शिक्षामा कमी देखिएको वर्तमान अवस्थामा जनसंख्या वृदिदर कम गर्नका लागि किशोरी शिक्षामा सुधार गर्दै सरकारी एवं गैरसरकारी निकायले आवश्यक कार्यक्रम तर्जुमा गरि लागु गर्नुपर्ने देखिन्छ।
राजीव गान्धी विश्वविद्यालय, बेंगलोर