चिकित्सा अध्ययनको शुरुवाती दिनबाटै हामीलाई सिकाइएको हुन्छ लापरवाही गर्नुहुँदैन । यो सहनयोग्य कुरा होइन पनि । यति हुँदाहुँदै पनि संसारको कुनै पनि अस्पताल वा चिकित्सक यस्ता घटनाबाट चोखा हुँदैनन् । आखिर किन हुन्छ लापरवाही ? लापरवाही न्यूनिकरण गर्न के–कस्ता नीति अपनाउनु पर्ला भन्ने आमचासोका बीच यो लेख तयार पारिएको हो ।
शुरुमा एउटा कुरामा सबै प्रष्ट हुनुपर्छ । सही उपचार गर्दागर्दै बिरामीलाई निको भएन वा मृत्यु भयो भने त्यो लापरवाही ठहर्दैन, केवल जटीलता ठहर्छ । यसमा चिकित्सकको गल्ती मानिँदैन । तर लापरवाहीपूर्वक उपचार गर्ने काम निन्दनीय मानिन्छ ।
२०१७ अप्रिलमा जारी 11 संगठनको रिपोर्टलाई आधार मान्दा थाहा हुन्छ, अस्पतालमा उपचार गराइएका हरेक १० जनामा एक बिरामीले कुनै न कुनै रुपमा चिकित्सकीय हानी बेहोर्नु परेको छ ।
हालैका समाचारमा आएअनुसार हाम्रो देशका केही अस्पतालमा देब्रे घुँडाको शल्यक्रिया गर्दा दाहिने घुँडाको भएको, थाइराइड सर्जरी गर्नुपर्नेलाई पाठेघरको भएको, पित्तथैलीको शल्यक्रिया गर्नुपर्नेलाई पाठेघरको क्यूरेट गरेको जस्ता गलत शल्यक्रिया बेलाबखत भएका छन् ।
अमेरिकाको तथ्यांकअनुसार हरेक ५० हजारदेखि १ लाख शल्यक्रियामध्ये एक जनालाई या त एउटा शल्यक्रिया गर्नुपर्नेमा अर्कै शल्यक्रिया भएको छ, या त एकातिरको अंगको गर्नु पर्नेमा अर्कोतिरको शल्यक्रिया गरिएको छ । बेलायतको एउटा प्रसिद्ध अस्पतालमा केही वर्षअघि एक ६५ वर्षे महिलाको गलत शल्यक्रिया भएको थियो । देब्रे हातको माइली औंलाको शल्यक्रिया गर्नु पर्नेमा नाडीको शल्यक्रिया गरिएछ । शल्यक्रिया सकिने बित्तिकै सर्जनले थाहा पाएछन् ।
आठहजार शल्य चिकित्स संलग्न एउटा तथ्यांकले केसम्म देखाएको छ भने लगभग १० प्रतिशत शल्य चिकित्सकले विगत ३ महिनामा कुनै न कुनै चिकित्सकीय त्रुटी गर्दा रहेछन् ।
त्यसैले यो तथ्यांकले के बताउँछ भने यस्ता समस्या नेपालमा मात्र नभएर संसारभरका अस्पतालमा हुने गरेका छन् । अब यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेतिर लाग्नुपर्दछ ।
आखिर किन हुन्छन् त यस्ता गल्ती ?
धेरै व्यस्त भएर तनावमा काम गर्दा शल्य चिकित्सकबाट गल्ती हुने सम्भावना रहन्छ । त्ययस्ता त्रुटीलाई २ भागमा वर्गीकरण गरिएको हुन्छ – मानवीय र व्यवस्थापकीय त्रुटी । बिरामीको रोग पहिचान, उपचार विधिसम्बन्धी त्रुटीलाई मानवीय त्रुटी मानिन्छ ।
एक आपसमा राम्रोसँग रोगका बारेमा नबताउने बानी, अस्पतालमा काम गर्ने स्टाफको कमी, अस्पतालले बेलाबखत गर्ने गरेको खर्च कटौतीबाट उत्पन्न परिस्थिति, स्वचालित प्रणालीमा बढी भर पर्ने बानी, उस्तै उस्तै नाम गरेका औषधि नबुझ्नेगरी लेख्ने बानी, अत्याधुनिक उपकरण चलाउन जान्ने दक्ष व्यक्तिको अभाव र भइरहेका त्रुटीको विवरण पेश गर्ने र अभिलेख राख्ने बानीको अभाव आदि कारण व्यवस्थापकीय त्रुटी अन्तर्गत पर्छन् ।
चिकित्सकीय त्रुटी कसरी हटाउने ?
अस्पताल वा शिक्षण संस्थामा हुने गरेका त्रुटीलाई हेर्ने नजर दुई खालका हुन्छन् ः व्यक्तिगत नजरले हेरिने र व्यवस्थापकीय नजरले हेरिने ।
व्यक्तिगत कारणमात्र पहिल्याउँदा कुनै चिकित्सक वा नर्सलाई मात्र कारवाही गर्दैमा भविष्यमा यो समस्या सधैंलाई समाधान हुन्छ भन्ने हुँदैन । सम्बन्धित चिकित्सक वा नर्सले भविष्यमा सिक्ने मौका पाउँदैनन् । एकपल्ट गल्ती गर्नेले सधैं गल्ती गर्छन् भन्ने हुँदैन, बरु गल्ती नगर्नेहरुबाट गल्ती हुने सम्भावना पनि रहिरहन्छ ।
त्यसैले अस्पताल प्रणालीमा कहाँ कमजोरी भयो भनेर खुट्याउनु र समाधानको उपाय पहिल्याउनुलाई उत्तम विकल्प मानिन्छ । बिरामीको सुरक्षासम्बन्धी 11 संगठनले जारी गरेको मापदण्ड कडाईसाथ लागू गर्नुपर्छ ।
शल्यक्रियाका क्रममा सर्जिकल सेफ्टी चेकलिस्ट पालना गर्नुपर्छ, चिकित्सकीय टीममा विश्वास गर्नुपर्छ । एकआपसमा बिरामीको रोग र उपचारबारे सूचित गर्नु गराउन अत्यन्त आवश्यक मानिन्छ ।
शल्यक्रिया आफैंमा जटील विषय हो । त्यसैले माथि उल्लेखित बुँदाहरु हामीले कडाईसाथ पालना गर्न थाल्यौं भने यस्ता गल्तीहरु न्यूनिकरण हुँदै जानेछन् ।
बिरामी सुरक्षाका लागि हामी चिकित्सक, नर्स र अस्पतालले पनि गर्नुपर्ने काम अनगिन्ती छन् । हामी आफै पनि हरहमेशा चनाखो बन्न सक्नुपर्छ । भविष्यमा गल्ती नदोहोरियोस् भनेर सोहीअनुरुप अघि बढ्नु सबैको कर्तव्य हो ।
(सहप्राध्यापक, किष्ट मेडिकल कलेज, शल्यचिकित्सक, ओम अस्पताल)