कीर्तिपुर अस्पतालमा काम गरिरहेको समयमा डा सुशील कोइराला र चिलीका डा नेल्सन पिन्टो आउनु भएको थियो। उहाँहरुले एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन) विधिबारे जानकारी दिनु भयो।
जटिल घाउमा मासु तथा छाला राखेर उपचार गरिरहेका हामीलाई यो विषय नौलो लाग्यो। अनि छोटो समयमै यो विधिबाट घाउ निको भएको कुरा सुनेर छक्क पर्यौं।
डा शंकरमान राईले यो विधि अस्पतालमा सुरु गर्ने भनेपछि मैले यही विषयमा थेसिस गर्ने निर्णय गरें। यो क्रममा ३० जना बिरामी लिने निर्णय भयो। त्यसमध्ये आगोले पोलेका, दुर्घटना, नसा, मधुमेह र कुष्ठरोगका बिरामीको घाउलाई लिएका छौं।
३० मध्ये ७५ प्रतिशतमा अचम्म तरिकाले घाउ निको भएको नतिजा आयो। बाँकी २५ प्रतिशतमा भने हामी आफैं सिक्ने क्रममा रहेकाले उपयुक्त तरिका अपनाउन नसक्दा सोचेजस्तो नतिजा आएन।
एक जना बिरामीमा हामीले एलपिआरएफ राखेका थियौं। अस्पतालमा उपचारका क्रममै एक जना नयाँ अर्थोपेडिक सर्जनले हेर्नु भएको रहेछ। उहाँले एलपिआरएफलाई घाउ संक्रमित भएको ठानेर सबै निकालेर शल्यक्रिया गरिदिनु भएछ।यसबाट हामीले एलपिआरएफ विधिबारे मेडिकल क्षेत्रका सबैलाई जानकारी दिनुपर्ने, उपयुक्त सञ्चार हुनुपर्छ भन्ने पाठ पनि सिकेका छौं।
अहिलेसम्म अस्पतालमा ३५ जनाको यही विधिबाट घाउको सफल उपचार भइसकेको छ।
हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि वरदान बन्दै गइरहेको उक्त उपचार विधि हो, एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन)। यो प्रविधिमा बिरामीको आफ्नै शरीरबाट रगत निकालिन्छ र त्यसलाई विशेष प्रकारको उपकरणबाट स्वरुप परिवर्तन गरेर झिल्ली बनाइन्छ। उक्त झिल्लीलाई बिरामीको घाउमा लगाएर निको बनाउने काम गरिन्छ।
मानिसको आफ्नै रगतमा भएका रक्ततत्वलाई स्वरुप परिवर्तन गराएर जटिल घाउको प्राकृतिक उपचार गर्न विकास गरिएको उपचार पद्धति हो यो। एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच इन फाइब्रिन) भनेको रगतमा रहेको रेशायुक्त सेता रक्तकण र प्लेटलेट हो।
यो प्रविधिमा बिरामीको शरीरबाट निकालिएको रगतलाई विशेष प्रकारको उपकरणमा घुमाएर एक प्रकारको तन्तु बनाइन्छ। जुन झट्ट हेर्दा झिल्ली जस्तै हुन्छ। यो पातलो तर बलियो झिल्लीलाई निर्मलीकरण गरिएका मेडिकल सामग्रीको सहायतामा घाउमा राखिन्छ।
- डा कार्की कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन हुन्