सम्पादकज्यू,
बैसाख १८, २०७५ को स्वास्थ्यखबर अनलाइनमा प्रकाशित 'जागिर जाजरकोटमा, काम ११ वर्षदेखि लहानको निजी क्लिनिकमा’ शीर्षकको समाचार पढ्दा निकै लाज लाग्यो। किनभने आज विश्वभरका मुलुकमा ‘स्वास्थ्य सेवा सबैलाई : जहिले पनि जहाँ पनि’ भन्ने नाराका साथ भर्खर 11 दिवस मनाइरहेको अवस्थामा जाजरकोट जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ११ वर्षदेखि अनुपस्थित रहनु र लहानतिर क्लिनिक सञ्चालन गरेर बस्नुजत्तिको लाजलाग्ने अनि गैरजिम्मेवारपूर्ण खबर अरु के हुन सक्छ?
जिल्ला स्वास्थ्य प्रमुख, क्षेत्रीय स्वास्थ्य निर्देशकको काम, कर्तव्य र जिम्मेवारी के हो? त्यहाँको सुपरीवेक्षण/अनुगमनमा के भयो? ९० दिनसम्म बिनास्विकृति अनुपस्थित हुने कर्मचारीमाथि स्वास्थ्य सेवा ऐन बमोजिम कार्यवाहीको प्रक्रिया बढाइयो कि बढाइएन? जिल्ला स्वास्थ्य कार्यालय तथा क्षेत्रीय स्वास्थ्य निर्देशनालयको काम र कर्तव्य केवल तलब–भत्ता मात्र बुझेर वस्ने कि आफू मातहतका जनशक्ति, औषधि, उपकरण आदिको व्यवस्था गर्नुपर्ने हो?
हुन त केही जिल्लालाई छोडेर जाजरकोटको समाचारले देशभरकै स्वास्थ्यकर्मीको स्थितिको प्रतिनिधित्व गर्छ। ६ महिनादेखि अनुपस्थित कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु गर्दा यो पंक्तिकारको काभ्रेबाट १४ महिनामै रसुवामा सरुवा भएको थियो। आफ्ना कर्मचारीको अभिलेख, कार्यसम्पादनका बारेमा जिल्ला, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग र मन्त्रालयले निगरानी, सुपरीवेक्षण, अनुगमन गर्न सकेको छैन। होइन भने मातहतका संस्थामा यति लामो समयसम्म अनुपस्थित जनशक्तिलाई कारबाही नगर्ने जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख र क्षेत्रीय स्वास्थ्य निर्देशकसहित समग्र स्वास्थ्य सेवा निकायको कार्यसम्पादकप्रति प्रश्नवाचक चिह्न लाग्दैन?
यो खबर प्रकाशित गर्ने स्वास्थ्य खबरपत्रिकालाई साधुवाद!
गंगाराज अर्याल
पाणिनी–८, पाली, अर्घाखाँची
(स्वास्थ्य सेवामा ४० वर्ष सेवामा रही निर्देशक पदवाट सेवानिवृत्त)