स्थानीय तहलाई पनि विभिन्न शीर्षकमा बजेट छुट्याएको छ त्यो राम्रो कुरा हो। मुख्य कुरा हामीलाई सुरुमा कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर निर्देशिका नपाउँदा अलमल्लमा थियौँ। निर्देशिका प्राप्त गरेपछि हामीले केही कार्यक्रम सुरु गर्न सक्यौँ । तर निर्देशिकामा पनि विभिन्न कुराहरु छुटेको छ । कुनै कार्यक्रम गर्यौँ भनेर इच्छा गर्दा पनि त्यो काम कसरी गर्ने होला? त्यस कार्यक्रम भित्र के–के समेट्ने भनेर त्यो निर्देशिकाभित्र चाहिँ उल्लेख भएको छैन। अरु धेरै कार्यक्रमका छन् तर केहीँ चाहिँ छुटेका छन्।
जस्तै एउटा २४ घण्टे क्षयरोग मैत्री उपचार केन्द्र भन्ने कार्यक्रममा राखिएको छ तर त्यो कार्यक्रम कसरी सञ्चालन गर्ने त भनेर निर्देशिका हामीले पाएनौँ। आइडिया नै भएन कसरी त्यो कार्यक्रम सुरु गर्ने भनेर। अनि पुरानो जनस्वास्थ्य कार्यालयमा पठाइएको निर्देशिका रहेछ त्यहीँको आधारमा हामीले कार्यक्रम गर्यौँ ।
हामीले अहिले केही उल्लेखीय कामहरु गर्न सफल भइसकेका छौँ । हामीले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गरेका छौँ ।
त्यस्तै गरी सबै सुत्केरी आमाहरु जसले पहिले ४ पटक गर्भ जाँच गराएको छ, स्वास्थ्य संस्थामा सुत्केरी भएका, नियमित जाँच गराएका र ३५ दिन भित्र बच्चाको जन्मदर्ताको गराएका छन् भने उनीहरुलाई सुत्केरी स्याहार पोषण भत्ता भनेर ३१ सय गाउँपालिकाले दिने गरेको छ।
स्थानीय तहको लागि छुट्याएको जे– जे कार्यक्रम गर्ने भनेर विषयगत रुपमा छुट्याएको मध्येमा धेरै जसोमा पैसा पुगिराखेको छ तर केहीमा जस्तै अनुगमन तथा अरु कार्यक्रममा पैसा अलि अपुग देखिन्छ। काम गरौँ भने पैसा नपुग्ने र नगरौँ भन्दा गाउँपालिकाको काम नदेखिए जस्तो हुने रहेछ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पहिला इन्चार्ज भएर काम गरेका हुनाले औषधीहरु आउने बित्तिकै सोधी खोजी गरिरहेको हुन्छु र आयो भने सप्लाइको लागि काम अघि बढाएका छौँ । हालसाल मात्रै १० लाख औषधी खरिद गरेका छौँ।
विशेषत अहिले बर्खाको सिजनमा सर्पको टोकाइको समस्या रहेको छ । त्यसका निम्ति उपचारका लागि पनि विशेष किसिमका अस्पालहरु हुनुपर्यो। कम्तिमा अस्पताल भयो भने चिकित्सकहरुको दरबन्दी हुन्छ अनि उपकरणहरु हुनेभइहाले। यसका लाग काम गर्ने भनेर गाउँपालिकाले सोच बनाएको छ।
(दाङ गढवा गाउँपलिकाका स्वास्थ्य संयोजक पौड्यालसँग बुनु थारुले गरेको कुराकानीमा अाधारित)