छेउको भित्तामा सुमधुर मुस्कानसहित प्रख्यात डाक्टर साबको त्यो फोटो अनि त्यसको छेउमा उहाँको पार्थिव शरीर । कल्पना नै गर्न कठिन, तर के गर्ने मृत्यु एक अटल सत्य, जसलाई कसैले रोक्न सक्दो रहनेछ ।
आदरणीय गुरुआमा,
म तपाईको पीडा जस्ताको त्यस्तै त महसुस त गर्न सक्दिनँ तर डाक्टर साबले नयाँ दिमाग र नयाँ जीवन दिनुभएका शोक सभामा उपस्थित उहाँका बिरामी भक्कानिएर रोएको देख्दा मलाई पनि आत्मबोध भईरहेको थियो कि साँच्चैको महान् व्यक्तिहरुको देहान्तले परिवार मात्र होइन सारा देशलाई नै दुःखी तुल्याउँदो रहेछ । ठूला ठूला गाडी र त्यसमा आएका विशिष्ट व्यक्तिहरुको उपस्थितिले उहाँको योगदानलाई प्रत्यक्ष रुपमा प्रतिबिम्बित गरिरहेको थियो ।
झन्डै एक बर्षदेखि तपाईं जीवनका एकदमै हृदयविदारक क्षणहरुबाट गुज्रिरहनुभएको कुरा सबैलाई जगजाहेरै छ । कति थकित र कति हतास हुनुभएको छ भन्ने कुरा म तपाईंको मुहारमा प्रष्ट देखिरहेको थिएँ । किनकि पति वा पत्नीको विछोड संसारको सबैभन्दा ठूलो पिडादायक घटनामध्येको एक हो भनि तपार्इंले नै मलाई कक्षामा पढाउनुभएको थियो ।
गुरुआमा ।
बिहानको शोकसभाको लाइनमा म उभिरहँदा तपाईं र तपाईंका छोरीहरुको पीडामात्र होइन, म सबैको मुहारमा भएको साहस समेत देखिरहेको थिएँ जुन साहसले डाक्टर साबका पथहरु पन्छ्याउँदै उहाँले सुरु गरेका नौला आयामलाई बिस्तार गर्ने बाटो खोज्ने ठूलो सम्भावना बोकेको छ ।
हो यो एकदमै दुःख र पीडाको समय हो तर तपाईंहरू दुःखी होइन साहसी र निडर बन्नुपर्छ । डाक्टर साबले बचाएका कैयौं दिमाग र ज्यानहरुले देशका विभिन्न क्षेत्रमा दिएको योगदानलाई सम्झेर अझ बढी जिम्मेवार हुनुपर्छ । उहाँले कमाएको सिद्धीलाई कायम राख्न दत्तचित्त भएर लाग्नुपर्छ । हो उहाँको अभाव सदैव न्यूरो क्षेत्रले महसुुस गरिरहनेछ । तर त्यो कमी हुन नदिन तपाईंका पथहरु सधै अग्रसर भईरहनुपर्नेछ ।
बेलायतको सुखसुविधा छाडेर आफ्नै जन्मभूमिमा योगदान दिने डाक्टर साबको त्यो देशभक्तिको चाहना मृत्यूशैयामा पनि झल्किएको कुरा तपाईंका लागि सदैव मार्गनिर्देशक भईरहनुपर्छ, देश र जनताको स्वास्थ्य सुधारतर्फ ।
गुरुआमा,
करिब ७ बर्ष पहिला तपाईंको शिष्य भईरहँदाका क्षण सम्झँदा तपाईसँग भएको क्षमतालाई प्रत्यक्ष रुपमा बोध गरेको छु मैले । तपाईंले अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्छ र देश र जनताको स्वास्थ्य सुधारका लागि तपाईले चालिरहनुभएका आफ्ना कदम अझ सशक्त र योजनाबद्ध रुपले अगाडि बढाउनुुपर्छ ।
छोरीहरुलाई बाबाको कमी महसुस हुन नदिने मात्र होइन उनीहरुलाई बाबाका अधुरा सपना पुरा गर्न सधैं उत्प्रेरित गरिरहनुपर्छ । काठमाडौंमा मात्र सीमित डाक्टर साबको न्यूरो अस्पताललाई अझ बढी व्यवस्थित र आम समुदायमा पहुँच योग्य पार्नुपर्छ । देशभरि न्यूरोका सन्तानहरु विस्तारको योजना बनाउनुपर्छ । देवकोटाजस्ता डाक्टरसाबहरु अझै बढी उत्पादन गर्नका लागि पहलकदमी चाल्नुपर्छ ।
एकदमै महंगो र जटील मानिएको टाउकाको शल्यक्रियालाई जनतासमक्ष सहज पार्न भूमिका खेल्ने पालो अब तपार्इंको हो । तपाईको नेतृत्व अनि ३ जना छोरीहरुको साथले पक्कै पनि डाक्टर साबका इच्छा र कल्पनालाई मुर्त रुप दिन एकदिन सफल भएर छोड्नेछ ।
यी सबै कार्यले डाक्टरसाबलाई थुप्रै पूस्ताहरुमा जीवन्त राख्न लागि मद्दत पुगिरहनेछ ।
शोकलाई शक्तिमा परिणत गर्ने साहस प्रदान गर्न भगवान् पशुपतिनाथसँग मेरो कामना ।
तपाईंको शिष्य
मुकेश अधिकारी
हाल स्वास्थ्य सेवा विभाग
टेकु, काठमाडौं