काठमाडौं– आकस्मिक उपचारमा ल्याइएका बिरामीलाई रिफर गरेको भन्दै एक डाक्टरलाई अस्पताल प्रशासनले जागिरबाट अवकाश दिएको छ। विराटनगरको संजीवनी हस्पिटल तथा आइभिएफ सेन्टरले मेडिकल अफिसर आलोक रायलाई ५० हजार रुपैयाँ जरिवाना तिराई अवकाश दिएको हो।
उक्त अस्पतालमा असार १९ राति ११ बजे ४७ वर्षीय एक महिला उपचारका लागि आएकी थिइन्।
ती बिरामीको अवस्था गम्भीर भएकाले अस्पतालमा उपचारका लागि भर्ना नगरेर इमर्जेन्सी इन्चार्ज समेत रहेका डा रायले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेका थिए।
अस्पतालले दिएको अवकास पत्रमा बिरामीलाई भर्ना नगरी अन्यत्र पठाएको उल्लेख गरेको छ। अस्पताल प्रशासन, फिजिसियन र जनरल सर्जनलाई जानकारी नगराई बिरामी बाहिर पठाइएको अस्पतालको आरोप छ। सोही कारण देखाउँदै डा रायलाई जागिरबाट अवकाश गर्नुका साथै उक्त बिरामीबाट अस्पताललाई प्राप्त हुने आम्दानी ५० हजार रुपैयाँ बराबर जरिवाना गरिएको बताइएको छ।
‘अस्पताल प्रशासनका अनुसार बिरामीलाई अपर ग्यास्ट्रोइन्टेससिनल ब्लिडिङ (युजिआई) भएको हुनसक्ने देखिन्छ। यो अल्सर, भेरिएसन ब्लिडिङ, मदिरा धेरै पिएका कारण बिरामीले रगत वान्ता गर्ने अवस्था हो,’ वीर अस्पतालमा कर्यारत एक पेटरोग विशेषज्ञ भन्छन्, ‘यसरी इमर्जेन्सीमा आउने बिरामीको अवस्था निकै गम्भीर हुन्छ। यस्तो अवस्थाका बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ।’
आफूले र आफू कार्यरत अस्पतालमा उपचार हुन नसक्ने लागेको बिरामीलाई रिफर गर्न पाउनुपर्ने चिकित्सकको अधिकार रहेको नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ बताउँछन्। ‘बिरामीलाई रिफर गरेकै कारणले अस्पताल प्रशासनले चिकित्सकलाई अवकाश दिने र जरिवाना तिराउने काम भएको हो भने त्यो गलत हो। यसले चिकित्सा पेशामा असुरक्षा देखाएको छ,’ डा श्रेष्ठले भने।
उक्त गुनासोसहितको निवेदन एसोसिएसनमा आइपुगेको जानकारी नभएको उनले बताए। उक्त गुनासो आइपुगे पीडित चिकित्सकलाई न्याय दिलाउन र सम्बन्धित अस्पतालमाथि कारबाहीका लागि पहल गरिने उनले बताए।