चिकित्सा शिक्षाका विषयमा बादविवाद भइरहेको छ । द्वन्द्व चलिरहको छ। दुर्इतिर ध्रुवीकरण भइरहेको छ। ध्रुवीकरणबाट स्थायी समाधान होइन, तर्क निस्कन्छन्। तर्क दुबै ध्रुवबाट निस्कन्छन्। आफ्नो ध्रुव बलियो बनाउन `गलत´ भावना निस्किन्छन्। जसरी दुर्इ ध्रुवतिर विभाजित हुनु सही होइन, त्यसैगरी तिनका तर्क पनि ठिक छैनन्।
तर्क १ भन्छ– नेपालमा धेरै मेडिकल कलेज खोलेर देशलाई मेडिकल हब बनाउने । विदेशीलाई डाक्टर बनाएर पठाउने। मेडिकल टुरिज्मको विकास गर्ने । देश समृद्ध गबनाउने। यसले अझ थप्छ– धेरै नेपालीलाई डाक्टर बनाउने। विदेशमा 'डाक्टर कामदार' पठाउने, रेमिट्यान्स भित्र्याउने र देश समृद्ध बनाउने।
मेरो (कु)तर्क– कुनै पनि देशले स्वास्थ्य जस्तो संवेदनशील पेशाका लागि मानवस्रोत त देश सुहाउँदो स्वास्थ्य प्रणालीका निमित्त उत्पादन गरिरहेको हुन्छ। मुख्यत: डाक्टर आफ्नै देशको लागि बनाउने हो। डाक्टरलाई आयात-निर्यातको वस्तु व्यापारीले मात्र बनाउन सक्छन्। नीति निर्माणकर्मीले होइन। डाक्टर निर्यात गरेर देशको समृद्ध हुन्थ्यो भने हामी भन्दा कयौं गुणा बढी स्रोतसाधन भएका अमेरिका–युरोपका देशहरुले डाक्टर उत्पादन गरेर संसारभर निर्यात गर्थे। उनीहरुले किन उल्टै विदेशबाट लिइरहेका छन् होला ? हाम्रा विद्यार्थी चिकित्सा पढ्न विदेश जान नपरोस् पनि भनिरहने अनि अरु देशकालार्इ डाक्टरी पढ्न यहाँ ल्याउने तर्क बाझिदैन र ?
तर्क २ भन्छ– काठ्माडौमा १० वर्ष मेडिकल कलेज खोल्न पाइदैन। यो भन्न थालेकै ६ वर्ष भयो। अमुक छ यो। सुरुको अनसनबाट १० वर्ष भनेको हो कि हरेक नयाँ अनसनबाट ?? यसले भन्छ– मेडिकल कलेज दुर्गममा खोलिनुपर्छ। म सोच्छु– दुर्गममा मेडिकल काउन्सिललाई चित्त बुझाउने गरि फ्याकल्टी कसरी जालान् र टिक्लान् ? मेडिकल विद्यार्थीको रोजाईमा पर्ला कि नपर्ला ? स्रोत/साधन के छ ? बेड अकुपेन्सी बल्लतल्ल १०-२० प्रतिशत हुन्छ । नियमले ५०% बेड अकुपेन्सी नपुगी मेडिकल कलेज खोल्न मिल्दैन भन्ने सुनिन्छ। कुरा यावत छन्। फेरि सोच्छु–दुर्गममा मेडिकल कलेज नै चाहिने हो कि सुविधा सम्पन्न अस्पताल ? मलाई त दक्ष प्राविधिक जनशक्ति र सबै स्रोत साधनले भरिपूर्ण अस्पताल अहिलेको आवश्यकता हो जस्तो लाग्छ।
मेरो (वि)तर्क पनि हुन सक्छ। तर म भन्छु। अब नेपालमा नयाँ मेडिकल कलेज नै चाहिदैन, न दुर्गममा न सुगममा। हाम्रो जस्तो देशका लागि प्रशस्त डाक्टर उत्पादन भइरहेकै छन्। डाक्टर जनसंख्या अनुपात १:१५०० छ जुन १० वर्षअघि भन्दा कैयौ गुणा राम्रो हो। १० वर्षमा त्यो अनुपात 11 सङ्गठनले भने झै १:१००० हुन्छ। यही अनुपातमा डक्टर उत्पादन गरिरहने हो भने १० वर्ष पछिबाट डाक्टर उत्पादन दुई तिहाईले कम गर्नुपर्ने हुन्छ। देश सुहाउँदो कुरा यही हो।
यही देशमा साबुन बनाउने कारखानाले त कति खपत हुन्छ भन्ने हिसावकिताप गरेर साबुन बनाउँछ र बेच्छ। अरे यार, डाक्टर बनाउने कुरा खेलाँची हो? कति चाहिन्छ ? कस्तो चाहिन्छ ? कहाँ चाहिन्छ ? भन्ने हिसावकिताप चाहिन्न ? खाली मेडिकल कलेज खोल्ने भनेको छ, लबिङ गरेको छ । पैसा हुनासाथ मेडिकल कलेज नै खोल्ने प्रथा अरु देशमा भइदिएको भए त्यहाँ त्यत्रा क कारखाना कसरी खुल्थे होलान! समृद्धि कसरी आउँथ्यो।
समाधानको (वि)तर्क
समाधान साह्रै गाह्रो छ भनिन्छ। तर कम्युनिस्ट सरकार हो। यस्तो सरकारसँग बेग्लै हिम्मत हुन्छ पनि भन्छन्। अब हिम्मत गरेर भनिदेऊ नेपालमा थप मेडिकल कलेज चाहिन्न। विदेशमा डाक्टरी पढ्न जानबाट रोक्ने जस्ता तर्कसँग जुध्नलाई 'आफ्नो व्यक्तिगत मेडिकल कलेज जसरी नि चाहिन्छ र डा केसी मरे केही हुँदैन' भन्नेको मेडिकल कलेज सरकारले किनिदेऊ । सरकारी मेडिकल कलेजको रुपमा चलाऊ। अझ हिम्मत गरिदेऊ कम्युनिस्ट सरकार, भएका निजी मेडिकल कलेजलाई १० वर्षपछि सरकारीकरण गर्ने वा नाफारहित ट्रस्टमा परिणत गर्ने नीति लेऊ। गाह्रो छ र कम्युनिस्ट सरकार ?
यो बेला फेरि उही पुरानै नाटक मञ्चन हुने संकेत देखिरहेका छन् । आन्दोलनको राप बढ्दै गएपछि वार्ता टोली बनाउने। वार्ता गरिराख्ने, बुढाको ज्यान सिथिल नहुन्जेल वार्ता लम्बाउने। ज्यानै तलमाथि हुने अवस्था आयो भने दुबै पक्ष हतारिएर ८-१० बुँदामा हस्ताक्षर गर्ने। त्यसको मसी सुक्न नपाउँदै दुवै पक्ष ढाड फर्काएर बस्ने। १६ औ अनसनको तयारीको लागि फेरि उचाल्ने कसैले।
मेरो प्रश्न– चिकित्सक उत्पादन यो देशको प्रमुख एजेन्डा हो ? मरो विचारमा होइन। भएका चिकित्सकलाई कसरी स्वदेशमै टिकाउने र टिकेका चिकित्सकलाई कसरी `हाँसीखुसी´ दुर्गममा जान वातावरण बनाउने भन्ने एजेन्डा प्रमुख हो।
होइन 'मेडिकल कलेज मेडिकल कलेज' भन्नुहुन्छ भने हामीलाई तथ्यांक देखाएर भन्नुहोस्– कति वर्षमा कति डाक्टर उत्पादन गर्ने तपार्इंको लक्ष्य हो? कि तपाईंको योजना अनवरत असिमित डाक्टर उत्पादन गर्ने हो?
डा पाण्डे सरकारी चिकित्सक संघका अध्यक्ष हुन्।