त्यतिबेला, जतिबेला भ्रमका खोक्रोपनाले सत्यरुपी वृक्षहरु ढालिन्छन् तर भित्र जरा भने गाडिएकै हुन्छ । जतिबेला, ढलेका साँझ सारा दिनको अन्त्य ठानिन्छ तर क्षितीजपारी सुनौलो बिहानी कुरिरहेकै हुन्छ। जतिबेला, पंक्षी बसेका हाँगा काटिन्छन् तर पखेटा भने जिवित नै हुन्छ, जतिबेला एक-एक स्वर दबाइन्छन् तर पनि अन्तस्करणमा सत्य गुन्जायमान नै हुन्छ । जतिबेला अनैतिकताका पत्थर-प्रहारले नैतिकताका शिर रक्ताम्य तुल्याइन्छन् तब पनि शिर ठाडो नै हुन्छ । जब स्वार्थताका हत्केलाले निस्वार्थताका सूर्यलाई छेक्ने मुर्खता गरिन्छ, जब भ्रमका आँखाले सद्देलाई पागलको बिल्ला भिराइन्छ अनि देवकोटाका शब्दहरू जीवन्त यसरी तुलिन्छन्,
हो,
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूटले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता,
साथी,
सल्केको गोलझैँ राता
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले
अमृत भन्ठानेर
र मेरो आँखासामुन्ने साथी
तब हुन्छन् ठाडा मेरा रौँ,
गगनका सर्पकेशझैँ मेरा जिस्क्याइएका रौँ, रौँ ।
जब बाघले मृग खान आँटेको देख्छु, साथी
या ठूलो माछाले सानो,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ, साथी
जब मानवले मानवलाई मानप ठान्दैन, साथी
तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै
जस्तो भीमसेनका दाँत,
अनि
प्रकोपको लाललाल, आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले म,
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु, साथी ।
उफ्रिन्छन् मेरा कलपुर्जा,
खलबल ! खलबल !
तुफान हुन्छ मेरो सास,
विकृत हुन्छ मेरो चेहरा
बल्दछ मेरो दिमाग साथी
बडवानलझैं बडवानलझैं ।
म वन खाने आगोझैं बहुला हुन्छु,
बहुला, साथी
काँचै निलूँझैँ विश्वविशाल
जरुर साथी पागल
यस्तै छ मेरो हाल।
हो, काटिएको वृक्ष तर गाडिएको जरा, क्षितिजपारी कुरिरहेको सुनौलो बिहानी, पखेटा जीवित नै भएका पंक्षीहरु, अन्तस्करणमा गुञ्जिरहेको सत्यध्वनि, रक्ताम्य शिर तब पनि ठाडा शिर र स्वार्थताका हत्केलाले कदापि छेक्न नसक्ने निस्वार्थताका सौर्यहरु , एक–एक उदाउनेछन्, सुनौलो बिहानी अवश्य हुनेछ र निष्ठा अनि इमान्दारीताले अनैतिकताका घोसे शिरहरुलाई दबाएकै हुनेछ।
अब परिवर्तनका खोक्रा मन्तब्य मात्र होइन, चाहिएको परिवर्तन आफैँ बन्ने बेला आएको छ। नैतिकताका पाठ पढ्ने-पढाउने मात्र होइन, नैतिकताले बाँच्ने बेला आएको छ। अब जरुरी छ आफ्नो बोलीमा हिँड्न र अरुलाई सिकाएझै आफू पनि बाँच्न।
एक कर्तव्यनिष्ठ र इमान्दारीताको प्रतिबिम्ब डाक्टर गोविन्द केसी, जसका निस्वार्थी आवाजहरु यति गुञ्जायमान् छन् कि उनले बोलेको सुन्नु जरुरी नै छैन । जीवनका भोगाइ अनि तेरो र मेरोका झुठा प्रतिस्पर्धामा हामी हरपल होमिरहँदा उनी आफैँ एक अद्वितिय प्रतिस्पर्धाका रुपमा स्थापित भएका छन्। हो उही हो हाम्रो अनि उनको रगत, मात्र यति फरक छ कि हाम्रो मुटु एउटा शरीरको लागि पनि धड्किन पुग-नपुग छ, उनको मुटु सारा तीन करोड नेपालीको स्पन्दनमा झल्किरहन्छ हरपल, हर क्षण, हर घडी, उही साहसले अनि उही निस्वार्थी भएर।
चाहे त्यो आँधीबेरी नै किन नहोस्, उनका सेवाभावका विजहरु जस्तोसुकै कठिनाइ रुपि मरुभुमिहरुमा पनि अंकुरित भइरहे। न त उनलाई बर्माको आँधीले नै रोक्न सक्यो, न त फिलिपिन्समा खनिएको आँधीलेनै छेक्न सक्यो। उनी अघि बढिरहे। एउटा सामान्य मानिस विभिन्न बहानामा अल्झिरहेको बेला उनले अन्तर्मनबाट सेवा गर्ने स्पष्ट कारणहरु पाइरहे। उनको सेवाप्रतिको दृढतालाई न त गुजरातको महाभूकम्पले नै हल्लाउन सक्यो, न त पाकिस्तानको भुकम्पलेनै। न त त्यो दूरको हैटीले नै। उनको सेवाप्रतिको विश्वास यस्तो अडिग अनि गहिरो छ कि ठूला–ठूला भूकम्पपनि उनको सामु झुकिरहे। सयौँ बस्ती सॊत्तर बनाउने आँधीहरुपनि उनको सामु हारिरहे।
सेवाभावमा न त उनलाई कोसौँ कोशको दूरीले रोक्न सक्यो न त कठिनाई झेल्दै पार लगाइनुपर्ने उकालाहरुले नै थाम्न सके। उनी सेवाभावमा कुनै दूरी महसुस गर्दैनन्, त्यसैले त उनी विभिन्न जोखिम झेल्दै पनि पीडाले छट्पट्टी रहेका मानिस सामु पुगिहाल्छन्। कोशीको बाँध फुटेपनि उनको निस्वार्थ सेवाका खम्बाहरु झनै सशक्त बन्दैगए, जाजरकोटमा हैजाको महामारी फैलिएपनि उनको अन्तर्मनमा सेवाका लहरहरु अझै बलिया बन्दै त्यहाँ पुगिहाले।
उनको सेवाप्रतिको निष्ठालाई डगमगाउन कैयौँ आँधी खनिए, कैयौँ बाढी बगे, कैयौँ भुकम्पहरू हल्लिए तर कसैको केही सीप लागेन। उनी जितिरहे। चाहे बाढीनै पार किन गर्नु नपरोस्, उनको सेवारुपी सागरको अगाडी त्यी बाढीहरु झुकिरहे। पिडामा गुज्रिरहेकाहरूका घाउ उनलाई आफ्नो घाउभन्दा बढी चहराउँथ्यो, त्यसैले त पुगिहाल्थे मह्लम-पट्टि बोकेर विशाल सेवाभावले।
जीकेसीबाट साराले सिकुन्, जीवनको वास्तविक सार सफलतामा भन्दा बढी सार्थकतामा हुन्छ । लिनु भन्दा बढी दिनुमा हुन्छ। हो, जीवनको सार आफूलाई किन्नु भन्दा बढी अरुलाई बनाइदिनुमा हुन्छ। आफैँ मात्र सिक्नु भन्दा अरुलाई पनि सिकाउनुमा हुन्छ। जीवनको वास्तविक सार त्याग, साहस, निष्ठा, कृपा र इमान्दारीतामा हुन्छ,। बोलाइमा भन्दा बढी गराइमा हुन्छ। जीकेसी, तिम्रो जन्म केवल संयोग थिएन, नितान्त आवश्यकता थियो भनेर सारा मानवजगतले तिमीलाई चिन्नेछ। जीकेसीले लिएर आएको संसार र दिएर जाने संसारमा मानिसले जीवनको सबैभन्दा ठूलो पाठ सिक्नेछन्।
सार्थकताको मापन गर्न सिक्नेछन् र पुष्टि हुनेछ कि सार्थक जीवन त तिनले बाँचेका हुन्छन, जसले लिएर आएको संसारलाई अझै बढी सुन्दर बनाएर जान्छन्। जीकेसीबाट हरेक धर्मले सिक्नेछ कि एउटा भोको पेटलाई खुवाउनु, एउटा रोगीको करुणाका साथ औषधि उपचारले जीवन बचाउनु, करुण क्रन्दनका मुहारहरुमा खुशीका लहरहरु उठाइदिनु, निराशाले बाँचेकालाई बाँच्ने साहस र स्पष्ट आधारहरु देखाइदिनु अनि गरीब दीनदु:खीको सेवा गर्नु भन्दा ठूलो धर्म नै हुँदैन।
अधिकारी चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्।
डा केसीको स्केच काठमाडौं मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विशाल यादवले तयार पारेका हुन् ।