रामेछाप जिल्लाको गुप्तेश्वर गाउँबाट एक गर्भवती महिला तामाकोशी सहकारी अस्पतालमा करिव ४ बजे दिउसो आइपुग्छन् । उनको साथमा एक सानो बच्चा र श्रीमान् छन् । म धेरै पटक त्यो गाउँमा स्वास्थ्य शिविर गर्न पुगेको हुनाले गाउँको हालखवर सोधें, एकै सासमा उनले बाटोको दुर्दशाका बारेमा बताइन्। नजाने कति बजेटहरु ती बाटोहरुको नाममा खर्च भइसकेका होलान्? ती अबोध महिलाले आफ्नो पीडा बताइन् । उनी सो दिन बिहान ६ बजे घरबाट एउटा सुमो जीप रिजर्भ गरेर आएकी थिइन्। जसको भाडा आउँदा जाँदा जम्मा १६ हजार रुपैयाँ तिर्नु परेको बताइन्। झण्डै १० घण्टाको नाम मात्रको मोटर बाटोमा धेरैपटक आफँैले ठेल्दै ढुंगा हाल्दै हिलो पन्साउदै त्यो जोडी अस्पताल आइपुगेको थियो।
मैले सोधें– यति बाटो खराव हुँदा–हुँदै यति धेरै महंगो गाडी चढेर किन यति हतारले हाम्रो अस्पताल आउनु भो ?
उनको उत्तर थियो, ‘हिजो म मेरो गर्भको भ्रुण जँचाउन हेल्थपोष्ट गएकी थिएँ । त्यहाँको स्वास्थ्यकर्मीले मेरो गर्भ जाँच गरिसकेपछि तपाईंको बच्चा उल्टो बसेको जस्तो छ र मुटुको चाल ठीक जस्तो छैन । यसले बच्चालाइ खतरा हुनसक्छ । भिडियो एक्सरे गर्न मन्थली तुरुन्त जानोस्’।
छ महिनाको गर्भ थियो । मैले हतारो नगरी आउँदा नै हुन्थ्यो नि भन्दा स्वास्थ्यकर्मीले तुरुन्त जानुपर्छ भनेपछि हिजो बेलुका यो गाडीको बन्दोबस्त मिलाएर आएको बताइन्।
बिचरा ती महिलाको अस्पतालमा सबै जाँच खर्च रु दुई हजार थियो । बाटोको खाजा खाना खर्चरु एक हजार होला तर मन्थलीको बसाइ महंगो छ। त्यो राती उनीहरुको खर्च रु ३ हजार जति भयो होला, यसरी हेर्दा अन्य खर्च जम्मा रु ७ हजार होला । तर यातायात खर्च रु १६ हजार ?
मेरो मनमा त्यो दिन धेरै तर्कहरु आउँदै जाँदै गरे । मैले यी सव नसोध्दा पनि हुन्थ्यो र उनीहरुले पनि नभन्दा पनि हुन्थ्यो । तर मेरो फुर्सदको समय भएकोले यति कुरा गर्न भ्याएँ। मुख्यगरी मेरा मनमा दुई यक्ष प्रश्नहरुले डेरा जमाए । एक, स्वास्थ्य विमाका कुरा गरेर झ्याली पिटाउने हामीले रु २५ सयले ५ जनाका एक परिवारलाइ रु ५० हजार बराबरको स्वास्थ्यसेवा निशुल्कको ढ्वांग फुक्यौं । मरिमरि जम्मा गरको पैसा स्वास्थ्य बिमामा चढाएपछि कमसेकम प्राथमिक स्वास्थ्य सेवा त घरको हिँड्ने दूरीमा पाउनु पर्छ नि तर ती बिचरा महिलाले भ्रुण गर्भमा बोकेर त्यो मुटु समेत हल्लाउने गाडी चढेर आउनु पर्याे, त्यति मात्र होइन, कति ठाउँमा गाडीलाई घचेटने र ढुंगा बोक्ने पनि गरे होलान्।
दुई हजारको उपचार सेवा लिन २३ हजार रुपैयाँ खर्च के यो न्यायोचित हो ? यसमा क–कसको गल्ती कमजोरी छन् ? त्यसो भए, स्वास्थ्य सेवालाइ नैसर्गिक अधिकार भनेर संबिधानमा लेख्नेहरुले ती महिला जस्तो पिडा भोगीरहेका हजारौं जनताको यो ब्यथालाई कतै उल्लेख गर्न र यो दर्द घटाउन सम्वन्धित बिशेषज्ञहरुसंग बसेर योजना बनाउँदै छन्? कि यो पीडाको महसुससम्म छैन । सन २०१७ मा नै ९० प्रतिशत जनताहरुलाई आधा घण्टाभित्र प्राथमिक स्वास्थ्य सेवा पुर्याउँछु भनेर कागजका पाताहरु धेरै खर्च गर्ने सरकारहरु र भाषणका बकबासहरु हाँक्ने नेताहरुलाइ आज २०१८ सकिने बेलामा यस्ता खवरहरु पढ्दा दिल दुख्दो होकि होइन होला?
त्यसो भए यो स्वास्थ्य बिमाको औचित्यता माथि पनि प्रश्न चिन्ह हुन सक्ला? स्वास्थ्य बिमा कार्यक्रम अण्डा भन्दा चल्ला पहिले आए जस्तो भएको छ । कमसेकम ८,९ घण्टा खर्चेर हिँडेर या हिले बाटोहरु ज्यान जोखिम राखेर नआए अधिकांश ग्रामिण जनताहरुले एउटा भिडियो एक्सरे, सामान्य एक्सरे, सामान्य प्याथोलोजी सेवा र एक चिकित्सक भेटन सक्ने अवस्था अहिले पनि छैन । के ती स्वास्थ्य बिमा गर्ने दुरदराजका जनताहरुले ती महिलाले जस्तो दुखै पाइराख्नु पर्ने हो? यदि स्वास्थ्य सेवा दिने अस्पताल छैन र सेवा दिने जनशक्ति छैन भने के औचित्य यो बिमाको? के यो अण्डा भन्दा चल्ला पहिले भएको त होइन?
स्वास्थ्यकर्मीहरुले पनि कुनै बिषयमा सल्लाह दिँदा त्यस स्थानको बाहिरी वातावरण जस्तै मोटरबाटोको स्थिति, हुन सक्ने खर्च, बिरामीहरुको खर्च गर्ने क्षमता, बिरामीहरुको जोखिमको अवस्था सबै ध्यान दिएर सरसल्लाह गर्दा कस्तो हुन्छ? साथै यदि यही कुरा मेरो परिवारमा यही समस्या परेको भए के गर्थें भन्ने कुरा नै अन्य बिरामीहरुको लागि पनि सल्लाह हुन सक्ला?
दोस्रो सवाल, मोटर बाटो र सुलभ यातायातको ब्यबस्था । हुनसक्छ, ती धेरै ग्रामिण बाटोहरुको नाममा करौडौंको बजेट खर्च भइसकेको होला र हरेक ६ महिनामा त्यस बाटोमा डोजर गुडेर कमिसनका खेतीहरु पनि भएका होलान् । कसैको संवेदना छ भने के जनताको रगत पसिनाबाट जम्मा भएको करको पैसालाई मैले दुरुपयोग गरेर के यी ग्रामिण जनताहरुलाई अन्याय त गरिरहेका छैन?
यदि कोही मानव हो र मानव हृदय छ भने यस्ता कुराहरुले हरदम मन पोल्नुपर्छ तर पुच्छर हाल्नका गाह्रोले मान्छे भएका मान्छेहरु समाजमा यत्रतत्र सर्वत्र छन् । स्वयंसेवक भनिने राजनीतिका मानिसहरु देखि लिएर राष्ट्रसेवकका नाममा भेटिने स्थुल शरिरहरु । हालको नेपालको यो खस्कदो मानसिकताको परिणाम हो।
अर्कातिर जनप्रतिनिधीका रुपमा गाउँको सिंहदरबारमा बिराजमान महोदयहरुलाई जसको भोटले प्राप्त पद हो, त्यही पदको रवाफका लागि आफुलाई गाडी चाहिएको छ, महंगो, सबैभन्दा पहिले । ती भोट दिने लिस्नोहरुको दुःखले गाउँका सिंहदरबारलाई कहिले छोला र? ती ग्रामिण जनताहरुले आफ्नो बाँच्न पाउने अधिकारलाई आफ्नै घरखेत बेचेर उपचार गर्न जान्छु भन्दा पनि भरपर्दो यातायातको व्यवस्था गर्न नसक्दा दिनको १ मिनेट पनि चित्त दुख्दो हो सिहंदरबारलाई? यो अर्को यक्ष प्रश्न हो।
जवसम्म जनताहरुको संवेदना र पीडालाई ‘मेरो नै हो’ भन्ने प्रतिनिधीहरु सिहंदरबारहरुमा र जनताका रगत पसिनाबाट प्राप्त करका रकमहरुलाई हिनामिना गर्नु भनेको जनताहरुको रगत पिउनु बराबर हो भन्ने मानसिकताको बिकास नेता र राष्ट्रसेवक हरुमा हुँदैन, देश यो भन्दा अधोगति तिर जाने छ र कुनै बेलाको सोमलियाको नामको सट्टा नेपालको नाम राखिनेछ।
लेखक तामाकोशी सहकारी अस्पताल, मन्थली, रामेछापका निर्देशक हुन् । इमेल: [email protected]