डा बद्रीराज पाण्डे जनस्वास्थय विशेषज्ञ हुन्। विश्व युवा दिवसका अवसरमा डा पाण्डेसँग उनी युवा हुँदाका विषयमा केन्द्रित रहेर सिर्जना खत्रीले गरेको कुराकानी :
युवा उमेरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत जागिर खाइरहेको थिएँ। त्यो बेलाको जस्तो जोस जाँगर त जीवनभर कहिले पनि पाउन सकिँन्न। २०१६ सालमा जागिर सुरु गर्दा नेपालमा चेतनाको स्तर पनि निकै कम थियो। त्यो बेलामा आफ्नो स्वास्थ्यको कुरा गर्न हिचकिचाउने जमान थियो। अझ मेरो विषय त झन् परीवार नियोजनसम्बन्धी थियो। समाजमा परिवार नियोजनका विषयमा चेतना फैलाउनु कम्ती गाह्रो थिएन।
त्यती बेला हामीले परिवार नियोजनका विषयमा चेतना फैलाउँदा धेरै ठाँउमा अश्लिल कुरा गरेको भन्दै गाली गर्थे। हाम्रो कुरा नै सुन्न चाहन्न थिए। पोखरामा त एक पटक हामीलाई एक हुला मानिस आएर लखेटेका थिए। उनीहरुले हामीलाई छोरी चेली बिगार्न आएको आरोप लगाउँदै लखेटेका थिए। हुन पनि त्यो बेलाको समय पनि त्यस्तै थियो। परिवार नियोजन तथा यौन शिक्षा कुरा गर्यो भने ठूलै अपराध गरेको झैँ मानिन्थ्यो।
तर, हामीले हरेश खाएनौँ। एकातिर युवा जोस थियो भने अर्कोतिर जनस्वास्थ्यको समस्या समाधान गर्नुपर्छ भन्ने अठोट। हामी जस्तो सुकै समस्या आए पनि लड्छौं भनेर लागिरहेका थियौँ। जनस्वास्थ्यका धेरै समस्या समाधान गर्छु भन्ने जुनुन नै थियो। त्यसका लागि देशका कुनाकाप्चामा पुगियो। हरेक समुदाय, जात, गाउँ, टोलमा पुगेर परिवार नियोजन र यौन शिक्षा दिनु पहाड उचाल्नु झैँ कठिन थियो। जहाँ गयो त्यहीँ समस्याको सामना गर्नुपर्ने अवस्था थियो।
वास्तवमै मानिसको व्यवहार परिवर्तन गर्न गाह्रो थियो। तर जति समस्या आउँथ्यो हाम्रो युवा जोस झन भरिएर आउँथ्यो। त्यो समयमा त जस्ता चुनौती पनि सहजै चिर्न सकिन्छ जस्तो लाग्थ्यो। हामी निरन्तर यो क्षेत्रमा लागिरह्यो। धेरैले हामीसँग कुरा गर्दा सबै कुरा बुझ्यौँ पनि भन्थे। तर, हामी गएपछि ती कुरालाई व्यवहारमा उतार्दैनथे।
कहिले काँही त दिक्क पनि लाग्थ्यो। तर, युवा जोस र काम गर्ने अठोटले सँधै उर्जा थपिरहन्थ्यो। युवा अवस्थाको त्यो उर्जालाई सही काममा ढाल्न सक्यो भने ठूलै प्रगति हासिल गर्न सकिन्छ।
हामीले काम गर्ने समयमा सन्तानलाई इश्वरको वरदान हो भन्ने समय थियो। त्यो समयमा परिवार नियोजनका कुरा गर्दा धर्म विरोधीको आरोप पनि लाग्थ्यो। तर, हामीले पुजारी तथा अन्य धर्म गुरुहरुलाई नै पहिला यो विषयमा बुझायौँ। त्यसपछि क्रमश अरुले बुझ्दै गए र सफलता हासिल भयो।
कुपोषणको समस्या उस्तै थियो। पोषिलो खानेकुरा खानु पर्छ, सुत्केरी हुन अस्पतालमा जानु पर्छ भन्ने ज्ञान थिएन। हामीले पोषणका कुरा गर्दा किनेर दिनुपर्छ समेत भन्थे। स्वास्थ्य सेवामा काम गर्ने हमीजस्ता युवाहरुको मुख्य लक्ष्य भनेको कसरी स्वास्थ्य सम्बन्धी ज्ञान विस्तार गर्ने भन्नेमा नै बढी जोड हुन्थ्यो।
त्यो बेलामा सानैमा बिहे गर्ने चलन थियो। त्यसैले बच्चा पनि सानै उमेरमा पाउथें। धेरै बच्चा पाउने चलन थियो। जसका कारण धेरैको आर्थिक सामाजिक जीवन दुःखलाग्दो थियो। सरसफाइमा पनि त्यति ध्यान दिँदैन थिए। त्यसैले नसर्ने रोगले थुप्रै मानिसको ज्यान जान्थ्यो। आमा र बच्चाको मृत्युदर अत्याधिक धेरै थियो। २०३१/३२ साल तीर आमा समुहको गठन भएपछि समाजलाई बुझउन सहज भयो। त्यसपछि महिलाहरु आफैँ यी विषयमा खुल्दै गए। बच्चा पनि दुइटा मात्र जन्माउनु पर्छ भन्ने धाराणको विकास हुँदै गयो।
स्वास्थ्य क्षेत्रको विकास छिटो गर्नका लागि युवाहरुलाई अवसर दिनु पर्छ। तर, आजाभोली युवाहरु विदेश पलायन हुने संख्या बढीरहेको छ। सुरुमा राज्यल ेनै युवालाई नेपालमा बस्ने वातावरणको सिर्जना गरीदिनु पर्छ। हाम्रो देशका युवाहरुले विदेशमा गएर निकै राम्रो काम गरिरहेका छन्। यदी उनीहरुलाई नेपालमा नै अवसर दिने हो भने विकासको कामले तीव्रता पाउने थियो।
युवा नै देश विकासको मेरुदण्ड हो। तर, स्वस्थ युवा जनशक्ति हुनका लागि बच्चादेखि नै पोषणमा ध्यान दिन आवश्यक छ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा आमा गर्भवती हुनुभन्दा अघि देखि नै पोषणमा ध्यान दिनुपर्छ। बच्चाको मस्तिष्कको विकास २ वर्षको उमेरसम्म ८० प्रतिशत भइसक्छ। त्यसकारण यो समयमा विशेष ख्याल दिन सकियो भने मात्र स्वस्थ युवा शक्ति पाउन सकिन्छ।
अहिले हाम्रो देशमा युवा शक्तिको सदुपयोग हुन सकेको छैन। राज्यले उनीहरुलाई अवसरका रुपमा लिएको छैन। बेरोजगारीको संख्या बढीरहेका कारण धेरै युवाहरु आफ्नो उर्जावान समय विदेशमा विताइरहेका छन्। र, रोगी हुने समयमा मात्र नेपाल फर्किरहेका छन्। यो निकै चुनौतीको विषय हो।