रामे एसएलसीपछि परदेश गयो। सम्पत्ति जोडेर घरबार जमायो। हर्के सानैदेखिको नेता। ऊ त गाउँको ठूलो मान्छे भइसक्यो।
सँगैका बालखसाहरु यसरी आआफ्नो गन्तव्य नापिरहेका छन्। म भने त्यो बाटो नजरअन्दाज गर्दै आफ्नो ओजन भन्दा गह्रौं किताबमै रटान मारिरहेछु। अनि, मेरो परिश्रमी जीवनको सजाय १८ देखि २० वर्ष (एमिबिबिएस, एमडी, डिएम) लगाई एक करोडमाथिको लगानीमा महिनाको ४०-५० हजारमा गुजारा गरिरहेको छु। मेरो दोष यसमै छ कि म मेरो परिवारसँग रम्न पाउँदिन। मेरो जीवनसाथी धीत मर्नेगरी मेरो साथमा बस्न पाउँदैन। अनि मेरो सन्तानले त साँझबिहान मेरो मुख हेर्न पनि शनिबार कुर्नुपर्छ!
मेरो गल्तीको सजाय होला, मैले मेरो जीवनको बाल्यकाल, जवानी सायद बुढेसकाल पनि किताबको पाना र आस्पतालको चार पर्खालमै बिताउनुपर्नेछ।
बाल्यकालमा या साथीसंगीसँग कुनै बेला जानअन्जानमा गल्ती पनि गरियो होला धेरै। तर, अब एउटा लापरबाही मात्रका लागि जेल जानुपर्ने सरकार?
सुन्छु, सरकार फेरिन्छ, देशको संरचना फेरिन्छ। तर मेरो दोषी जिन्दगीको समय कहिले फेरिएन! न त मलाई यहाँका कतिपय बिरामीले बुझ्छन् न त सरकार नै। मैले जीवनभर आर्जेको मेरो ज्ञानले सकेसम्म बिरामी निको पार्न खोज्छु, तर कहिलेकाहीँ म पनि कालको अघि झुक्नुपर्छ।
बिरामी मार्छु भनेर जानजान गल्ती गर्न मैले यो बाटो रोजेकी होइन। म भगवान् होइन न त अपराधी। म बिरामी बचाउन इमानदार प्रयास गर्छु तर ग्यारेन्टी लिन सक्दिनँ। सायद यही मेरो माफी दिन नासकिने गल्ती होला! जीवनमा यति धेरै गल्ती गरेको मेरो शरीरलाई अब अस्पताल र जेलको ४ भित्तामा सीमित गर्नुभन्दा मलाई फाँसी दे सरकार।
देश संघीयतामा गएसँगै जनता करमा डुबिसके। किसानहरु बालिनाली खेतमै कुवाउँदैछन्। युवाहरू खाडीमा पासिना चुहाउँदैछन्। देश्को नीतिगत तहका कर्मचारी र बिचैलिया भ्रष्टाचारले मोटाउँदैछन्। हरेक तहमा समस्या व्याप्त छ। किनकि उचित कार्यविधि र कानुनको अभाव छ।
हरेक क्षेत्रझैं स्वास्थ्य छेत्र पनि व्यापरीकरण र बेथितिबाट अछुतो छैन।
एउटा सरकारी अस्पतालमा एउटा डाक्टर दिनमा सयभन्दा बढी बिरामी हेर्न बाध्य छ। आइसियू सिसियूको बेड अभावले बिरामी सास्तीमा पर्छन्। यसको जिम्मेवार को हो? अनि गुणस्तरको कुरो पुनः त्यही डाक्टरलाई?
बढ्दो महँगी, न्यून पारिश्रमिक अनि जीवनभरको उपलब्धि एक सामान्य जीवनको अवश्यकता पूर्ति गर्न डाक्टर प्राइभेट अस्पतालमा काम गर्न बाध्य छ्न्। तर सबै ठगी र कामचोरको आरोप लगाउने समाजले डाक्टरको दुखलाई गहिरिएर बुझ्न सकेन। ठेकदारको ठगी, मेनपावरको मनोमानी अनि सत्तामा बसेकाको हेल्चेक्र्याइँले देश स्वाहा हुनलग्दा नबोल्ने मेरो सरकार किन डाक्टर मात्रलाई अपराधी देख्छ?
हो, मेरो लापरबाही ठहरिए मैले सजाय पाउनुपर्छ। कसैको जीवनमाथि जानाजान खेल्ने अधिकार कसैको छैन। तर मेरो लापरबाहीको छानबिन यसै क्षेत्रको विज्ञ टोलीले गरोस्। जनतामा भ्रम छर्न र सस्तो लोकप्रियताका लागि मात्र कुर्सीमा बसेर सतही ज्ञानको आधारमा अवैज्ञानिक तवरले जथाभावी कानुन लाद्न पाइँदैन। कानुन लाग्ने भए म दोषी मात्रलाई होइन सुन काण्डका पुजारी, बाटोघाटो र पुल बनाउन निममितता गरेर सडक दुर्घटनामा हजारौं यात्री मार्ने महान् ठेकदारहरुलाई पनि लागोस्।
मलाई दोषी देख्ने जनता अरु बेथितिमा पनि मुख खोलून। मैले निर्धक्क आफूले जानेको ज्ञान प्रयोग गरी बिरामी हेर्न पाउने वातावरण बनोस्। हुलदंगा र दादगिरीको निष्कर्षबाट मेरो गल्ती देखिएर म जेल जनुपर्यो भने मभित्र को डाक्टर मर्नेछ। मैले बिरामीको जटिल केस त के सामान्य केस हेर्न पनि हिचकिचाउनुपर्नेछ। अनि सबै बिरामीलाई रेफर गर्नुपर्नेछ।
मुलुकी संहिता ऐनका कतिपय बुँदामा संशोधन नभए मर्का त जनतालाई नै पर्नेछ। अब डाक्टरले आफू सुरक्षित हुन सामन्य रोगका लागि पनि धेरै परीक्षण गरेर मात्र बिरामी जाँच्नुपर्नेछ। किनकि आजसम्म गाउँगाउँमा सबै सरकारी अस्पतालमा अत्यावश्यक उपकरण पुग्याछैन। सबै अत्यावश्यक टेस्ट हुँदैनन् र पनि दुर्गममा डाक्टरहरुले जोखिम मोलेरै हजारौंको ज्यान जोगाएका छन्।
तर अब डाक्टरहरु मर्नै लाग्या बिरामी छुन डराउनेछन्। आइसियू र सिसियूमामा बिरामी भर्ना लिन मान्नेछैनन्। त्यसैले सधैं डाक्टरलाई मात्र अपराधी देख्ने मेरो देशमा अब कि त बिरामी विदेशिनेछन् कि डाक्टर नै देश छाडी बाहिरिनेछन्।